close

नाममा के छ हजुर?

Trulli
ADVERTISEMENT

काठमाडौं- निजामती सेवा ऐनको नामै फेर्न सांसदहरुले प्रस्ताव गरेका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा संशोधन प्रस्ताव राख्दै सांसदहरूले नाम फेर्ने प्रस्ताव राखेका हुन् ।

 ‘सार्वजनिक सेवा ऐन, नागरिक प्रशासन सेवा ऐन, राष्ट्रसेवक कर्मचारी सेवा ऐन, देश र जनताको सेवा गर्ने कर्मचारी सेवा ऐन, संघीय नागरिक सेवा ऐन र संघीय सार्वजनिक सेवा ऐन’ गरी ६ वटा नाम सांसदहरुले प्रस्ताव गरेका छन् ।

सांसद एवं कांग्रेस महामन्त्री गगन थापा, बद्रीप्रसाद पाण्डे, जीवन परियार, प्रतिमा गौतम, कुसुमदेवी थापा र सीता मिजार ले निजामती सेवा ऐनको नाम फेरेर सार्वजनिक सेवा ऐन राख्ने प्रस्ताव गरेका छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, मेटमणी चौधरी, अम्मरबहादुर थापा लगायतले नागरिक प्रशासन सेवा ऐन राख्ने प्रस्ताव गरेका छन् ।

नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले राष्ट्रसेवक कर्मचारी सेवा ऐन राख्ने प्रस्ताव गरेका छन् ।नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का सांसद प्रेम सुवालले देश र जनताको सेवा गर्ने कर्मचारी ऐन राख्नुपर्ने बताएका छन् ।

संघीय सार्वजनिक सेवा ऐन राख्नुपर्ने प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालको छ । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले संघीय सार्वजनिक सेवा ऐन वा संघीय नागरिक सेवा ऐन राख्नुपर्ने विकल्प प्रस्तुत गरेका छन् ।

संघीय निजामती सेवा विधेयक गत फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । यो विधेयकमाथि सांसदहरूले १२४ समूहमा १ हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।