close

कैलालीका स्थानीय तह थाले पठनपाठन, धमाधम भर्ना

कैलालीका स्थानीय तह थाले पठनपाठन, धमाधम भर्ना

Trulli
ADVERTISEMENT

कैलाली -  कोरोना महामारीका कारण गत चैतदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि कैलालीका स्थानीय तहले प्रक्रिया सुरु गरेका छन् ।


सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरेसँगै कैलालीको टीकापुरलगायतका स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको वैकल्पिक माध्यमबाट पठनपाठनका लागि प्रक्रिया सुरु गरेका हुन् । 


१ असोजबाट विद्यालयहरूले विद्यार्थी भर्ना लिन थालेका छन् । लामो समयसम्मको बन्दका कारण विद्यालय जानबाट वञ्चित बालबालिका पनि विद्यालय सञ्चालन हुने भएपछि उत्साहित भएका छन् ।


टीकापुर नगरपालिका क्षेत्रभित्रका संस्थागत तथा निजी विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई भर्ना कार्यक्रम, पाठ्यपुस्तक वितरणलगायतका काम सुरु गरेका छन् भने सामुदायिक विद्यालयले पनि भर्ना प्रक्रियालाई अगाडि बढाएका छन् । टीकापुर नगरपालिका शिक्षा शाखाका प्रमुख दमनसिंह चौधरीले टीकापुरको हकमा अनलाइन, अफलाइन, दूरशिक्षालगायतका प्रविधिबाट पठनपाठन सुरु हुने गरी प्रक्रिया अगाडि बढाइएको बताए । 


सरकारले यसअघि नै वैकल्पिक अनलाइन तथा रेडियो शिक्षा सञ्चालनका लागि आह्वान गरे पनि सबै विद्यालय अनलाइन इन्टरनेटको पहुँचमा नहुँदा नगरपालिकामा शैक्षिक गतिविधि अगाडि बढेको थिएन ।  चौधरी आगामी दिनमा आवश्यकतानुसार विद्यार्थीलाई पठनपाठनमा जोड्न सहजीकरण गरिने बताउँछन् । टीकापुर नगरपालिकामा ३४ सामुदायिक र ४० निजी तथा संस्थागत विद्यालयमा करिब ४५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

 

यसैगरी भजनी नगरपालिकामा पनि पठनपाठन सञ्चालन गर्न प्रक्रिया अगाडि बढेको नगरपालिकाका शिक्षा शाखा प्रमुख देवराज अवस्थीले जानकारी दिए । 


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का कैलाली जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीले केही संस्थागत विद्यालयले पहिलेदेखि नै अनलाइन कक्षा सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा सातामा दुई विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरणका लागि विद्यालय सञ्चालन गरिने उनको भनाइ छ ।


उनले सीमित विद्यार्थीलाई आलोपालो विद्यालय बोलाएर स्वअध्ययन सामग्री उपलब्ध गराइने र आवश्यक गृहकार्य दिने गरी विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।


प्याब्सन स्थानीय पालिका कार्यसमिति टीकापुरका अध्यक्ष जयकृष्ण तिमिल्सिनाले विद्यार्थीलाई रोल नम्बरका आधारमा जोर-बिजोर प्रणालीबाट विद्यालयमै पठनपाठन सुरु गरिनुपर्नेमा जोड दिए ।