close

हट्न थाले विद्यालयका क्वारेन्टिन, ओखढुंगामा पढाइ सुरु

हट्न थाले विद्यालयका क्वारेन्टिन, ओखढुंगामा पढाइ सुरु

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगाका स्थानीय तहले क्वारेन्टिन हटाएर विद्यालय सञ्चालन शुरु गरेका छन् । सरकारले विद्यालय सञ्चालन गर्न सुरक्षा मापदण्ड र शिक्षण विधको प्रयोग गर्ने विभिन्न विकल्पसहित अधिकार दिएपछि स्थानीय तहले विद्यालय सञ्चालन गरेका हुन् । 

 

ओखलढुंगाका अधिकांश विद्यालयमा यस अघि क्वारेन्टिन स्थापना गरिएको थियो । संघीय सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गर्दै स्थानीय तहलाई विभिन्न विकल्पमा शिक्षण सिकाइ सुरु गर्न अधिकार दिएपछि स्थानीय तह विद्यालय सञ्चालनमा जुटेका हुन् । 

 

निर्देशिकामा रेडियो, टिभी तथा अनलाइन र कोरोना संक्रमणको अवस्था हेरेर दुरी कायम गरि भौतिक उपस्थितिमा समेत सुरक्षा मापदण्ड अपनाइ पठन पाठन गराउन सक्ने व्यवस्था छ । निर्देशिका पालना गरेर चिशंखुगढी गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालय सुरु गरेको छ ।

 

दुई विद्यालयमा स्थापना गरिएका क्वारेन्टिन विस्थापन गरेर विद्यालयमा कक्षा सञ्चालन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए । दुर्गम गाउँका विद्यालयमा अनलाइन कक्षा सम्भव नरहेकाले भौतिक उपस्थितिमै विद्यालयले दुरी कायम तथा व्यवस्थापन गरेर विद्यालय सुरु गरेको उनले जानकारी दिए ।

 

चिशंखुगढीमा विद्यालयलहरुले भीड कम गर्न जोर बार जोर कक्षा बिजोर बार बिजोर अंकका कक्षा सञ्चालन गरेका छन् । माध्यामिक कक्षामा बढी विद्यार्थी हुँदा यस्तो विधि अपनाइएको महेश्वर मावि भदौरेका प्रधानाध्यापक सन्तोष काजी कार्कीले बताए । उनले भने, ‘धेरै विद्यार्थी संख्या भएका कक्षामा सबै विद्यालयले यस्तै व्यवस्थापन गरेका छन्, यहाँ अनलाइन सम्भव छैन ।’

 

त्यस्तै लिखु गाउँपालिकाले पनि पठन पाठन शुरु गरेको छ । भौतिक दुरी कायम गरेरै थोरै विषय पढाएर कक्षा शुरु गरिएको गाउँपालिकाले जनाएको छ । लिखु गाउँपालिका–८ को जालपा माविबाट कक्षा शुरु भएको छ ।

 

एक दुई दिनमै क्रमशः सबै विद्यालयहरुले अभिभावकसँग समन्वय गरेर उचित विधि तय गरेर विद्यालयमा पठनपाठन गर्ने लिखु–८ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक विशाल पौडेलले जानकारी दिए । ‘सधैं विद्यालय बन्द राख्दा बालबालिका बानी बिग्रने, शिक्षकहरु पनि काम नगरि हाजिर गर्दा मानसिक रुपमा पनि असर पर्ने भएकाले विद्यालय शुरु गरिएको हो,’ पौडेलले पालिका खबरसँग भने ।

 

कोही छलफलमा, कतै अन्यौल 

ओखलढुंगाका आठ स्थानीय तहमध्ये चिशंखुगढी र लिखुले विद्यालयमा पठन पाठन शुरु गरे पनि अन्य ६ स्थानीय तहले शुरु गरेका छैनन् । सरकारले निर्देशिका बनाएर स्थानीय तहलाई अधिकार दिए पनि कसरी गर्ने भन्ने अन्यौल नै रहेको मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले बताए । उनले कार्यपालिकामा छलफलपछि निर्णय गरेर अघि बढ्ने बताए । 

 

त्यस्तै सिद्धिचरण नगरपालिकाले पनि कार्यपालिका बैठकपछि पठन पाठन शुरु गर्ने जनाएको छ । सिद्धिचरणका विभिन्न विद्यालयमा क्वारेन्टिन छन् । दुई विद्यालयका क्वारेन्टिनमा बाहिरबाट आउने व्यक्ति राख्ने गरिएको छ । 

 

कार्यपालिकाको निर्णयपछि विद्यालयको पठनपाठन सुरु हुने नगरपालिकाका सुचना अधिकारी नइन्द्रराज राईले बताए । सुनकोसीले संघीय सरकारको निर्देशिका विद्यालयमा पठाइएको जनाएको छ । अन्य तहमा पनि विद्यालय सञ्चालन कसरी गर्ने भन्ने अन्यौल छ ।