close

दाङका विद्यालय दुई सिफ्टमा सञ्चालन

दाङका विद्यालय दुई सिफ्टमा सञ्चालन

Trulli
ADVERTISEMENT

दाङ - जिल्लास्थित लक्ष्मीपुर माध्यमिक विद्यालयमा दिउँसो १ बजे स्कुल पोसाक लगाएका विद्यार्थीहरू प्रवेश गर्ने तर्खरमा थिए । सामान्य अवस्था भएको भए विद्यालयको आधा समय पढाइ सकाएर उनीहरूले दिवा खाजा खाइरहेका हुन्थे ।


तर, कोरोनाका कारण लामो समय बन्द विद्यालय भर्खरै खुलेको छ । विद्यालय प्रवेश गर्दा विद्यार्थीहरूका बीचमा सामाजिक दूरीसमेत कायम गरिएको थियो । विद्यार्थीहरू न कसैसँग अंकमाल गर्दै थिए, न त मुख जोडेर कुरा नै । 


गेटबाट भित्र पस्नेबित्तिकै प्लास्टिकको ट्यांकीमा पानी थियो र सँगै साबुन पनि । विद्यार्थीहरूले पालैपालो लाइन लागेर हात धोए अनि बल्ल पसे, कक्षाकोठा । कोरोना संक्रमणका कारण लामो समय बन्द रहेका विद्यालयहरू स्वास्थ्य सुरक्षा अपनाएर खोल्न  सरकारले निर्देश गरेपछि विभिन्न सिफ्टमा सञ्चालन हुन थालेका छुन् ।


‘विद्यार्थीहरूलाई सामाजिक दूरी कायम गरेर कक्षामा राख्ने गरेका छौं । हात धुनका लागि साबुनपानीको समेत व्यवस्था गरिएको छ,’ विद्यालयका प्रधानाध्यापक प्रकाश खड्काले भने । उनले बिहान र दिउँसो गरेर दुई सिफ्टमा विद्यालय सञ्चालन गरिएको पनि जानकारी दिए । बिहान ८ देखि १० बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म गरी कक्षा सञ्चालन गरिएको उनले बताए । 


बालचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक देवीराम बस्नेत विद्यार्थीहरूलाई एकै सिफ्टमा पढाउन सुरु गरिएको बताउँछन् । तत्काल सुधार गरेर दुई सिफ्टमा कक्षा सञ्चालन गरिने उनको भनाइ छ । ‘विद्यार्थीहरू सबै नआएकाले २ सिफ्टमा चलाउन ढिला भएको हो । अब मिलाएर गर्छौं,’ बस्नेतले भने । विद्यालय सञ्चालन गर्दा आवश्यक पर्ने विभिन्न सामग्रीहरू वडाले व्यवस्थापन गरेको वडा नम्बर १५ का वडाध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिए । बालमितेरी माविका प्रधानाध्यापक ओमप्रकाश वली विद्यार्थी संख्या धेरै भएकाले तीन सिफ्टमा कक्षा सञ्चालन गरिरहेको बताउँछन् ।


उनले एउटा कक्षालाई ३ भागमा  बाँडेर दैनिक बिहान ७ देखि साँझ ५ बजेसम्म विद्यालय सञ्चालन भइरहेको जानकारी दिए । बिहान ६, ७, ८ दिउँसो शिशुदेखि ५ र साँझ ९ र १० को कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक वलीले बताए ।  विद्यार्थीहरूलाई कोरोना संक्रमणबाट जोगिने विषयबारे जानकारी निरन्तर दिइरहेको उनको दाबी छ । 

 

उपमहानगरको अनुगमन 

 

विद्यालय सञ्चालनको अवस्थाबारे तुलसीपुर उपमहानगरको शिक्षा महाशाखाले अनुगमनसमेत गरेको छ । शिक्षा समिति संयोजक देवराज विकको अगुवाइमा यस्तो अनुगमन गरिएको हो । अनुगमनका क्रममा कक्षा सञ्चालनमा केही समस्या देखिए पनि विद्यालयहरूले नमुना काम गरेको संयोजक विश्वकर्माले बताए । ‘कतिपय ठाउँमा निर्देशिकाको पालनामा केही समस्या देखिएको भए पनि राम्रो प्रयास भएको छ । हामीले आवश्यक ठाउँमा सुधारका लागि निर्देशन दिएका छौं,’ उनले भने । 


सिकाइ केन्द्रहरूले अनिवार्य रुपमा निर्देशिकाको पालना गर्नुपर्ने उनको भनाइ छ  । ‘केही संस्थागत विद्यालयहरूले पालना नगरेको पनि पाइयो । हामीले तत्काल सुधार नगरे बन्द गर्ने चेतावनी दिएका छौं,’ उनले भने ।


अनुगमनमा क्रममा शिक्षा महाशाखाका अधिकृत चक्र भण्डारी र विद्यालय निरीक्षक मानबहादुर खड्काको समेत उपस्थिति थियो ।  महाशाखाका अधिकृत भण्डारी कोरोनाका कारण विद्यार्थीमा हात नियमित धुनुपर्ने, मास्क लगाउनुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने चेतनाको विकास भइसकेको बताउँछन् ।


देशभरका स्थानीय तहलाई अनुगमनको जिम्मेवारी दिने गरी विद्यालय सञ्चालन गरिएको हो । तुलसीपुर उपमहानगरले पनि विद्यालय सञ्चालन निर्देशिका बनाएर विद्यालय सञ्चालनका लागि अनुमति दिएसँगै ग्रामीण भेगका विभिन्न विद्यालय सञ्चालनमा आएका हुन् ।


निर्देशिकाअनुसार कुनै एउटा कक्षामा बढीमा १५ जना विद्यार्थी राखेर अध्यापन गर्न सकिनेछ । तुलसीपुर उपमहानगरले सबै विद्यालयमा पुगेर कक्षाकोठाको अवस्था र स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थाबारे अनुगमन गरिरहेको छ ।