close

शिक्षामा हेलम्बुको  उदाहरणीय प्रयास

सामुदायिक विद्यालयलाई नमुना शिक्षालय बनाउने तयारी

शिक्षामा हेलम्बुको  उदाहरणीय प्रयास

सामुदायिक विद्यालयलाई नमुना शिक्षालय बनाउने तयारी

Trulli
ADVERTISEMENT

हेलम्बु गाउँपालिकाले माध्यमिक शिक्षा एउटै विद्यालयबाटै दिने उद्देश्यले सुरु गरेको नमुना विद्यालय निर्माण अन्तिम चरणमा पुगेको छ । 


सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर छरिएर रहेका माविसम्मका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई एउटै विद्यालयमा राखेर गुणस्तरीय शिक्षा दिने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि नमुना विद्यालय निर्माण सुरु गरेको हो ।


कोरोना महामारी नफैलिएको भए यसै शैक्षिक सत्रदेखि कक्षा सुरु गर्ने गाउँपालिकाको योजना थियो । नमुना विद्यालयमा आगामी शैक्षिक सत्रदेखि पढाइ सुरु गरिने गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।


हेलम्बु गाउँपालिका इचोकको घोप्टेघ्याङमा निर्माण सुरुवात गरिएको नमुना विद्यालयमा यो वर्ष १८ कोठाको विद्यालय भवन निर्माण सम्पन्न भएको  गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘अरू भवनहरू पनि निर्माण हुँदै छन् । यो वर्षभित्र सम्पन्न हुने तयारीका साथ काम भइरहेको छ’, अध्यक्ष शेर्पाले भने । नमुना विद्यालयमा यो वर्ष होस्टल, प्रशासनिक भवन, शौचालय, खेलमैदानलगायतका संरचना निर्माण गरिनेछ । ‘पहिलो चरणमा २३ कोठाको विद्यालय भवन तयार गरिनेछ ।

 

`Nima`
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा

आवश्यकताअनुसार हामी कक्षाकोठा थप्दै जाने सोचमा छौं’, गाउँपालिका अध्यक्ष शेर्पाले भने, ‘सुविधासम्पन्न विद्यालयमा सबै विद्यार्थीका लागि नयाँ शैलीको छात्रावाससमेत निर्माण हुनेछ । एकै कोठामा धेरै विद्यार्थी राख्नेभन्दा गाउँको परम्परागत शैलीका घर निर्माण गरेर विद्यार्थीहरूलाई छात्रावासमा राख्ने योजना छ ।’ 


यसबाट छात्रवासमा बसेका विद्यार्थीहरू आफैं कृषि उत्पादनमा जोडिने र उनीहरूले नै उत्पादन गरेका कृषि वस्तु उपभोग गर्ने योजना गाउँपालिकाले अघि सारेको छ ।


हेलम्बुमा सुरु गर्न लागिएको नमुना विद्यालयमा बुद्धिस्टहरूको अन्तर्राष्ट्रिय भाषा ‘सम्भोटा’ र हिन्दुहरूको संस्कृत विद्यासमेत विद्यार्थीहरूलाई पढाउने तयारी गाउँपालिकाको छ । ‘बुद्धिस्टहरूले पनि संस्कृत पढ्छन् र हिन्दुहरूले पनि सम्भोटा पढ्छन्’, गाउँपालिका अध्यक्ष शेर्पाले भने । ४० रोपनीमा निर्माण भइरहेको विद्यालयमा पौडी पोखरी, शिक्षक आवासगृहलगायत सुविधा हुनेछ । 


गाउँपालिकको आन्तरिक स्रोत, जिल्ला समन्वय समिति र बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा १४ कोठा र थप ४ कोठा जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाको सहयोगमा निर्माण भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए ।


‘सरकारी विद्यालयहरू बचाउनका लागि पनि हामीले यो अवधारणा सुरु गरेका हौं, जुन देशभरका लागि नमुना हुनेछ,’ अध्यक्ष शेर्पाले भने । सुरुमा कक्षा १० सम्म र त्यसपछि १२ कक्षा हुँदै आवश्यकताका आधारमा स्नातक तहसम्म यही विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाइने अध्यक्ष शेर्पाले बताए । 


नमुना विद्यालयमा एउटा विषयको कम्तीमा पनि १० विषयगत शिक्षक राखेर गुणस्तरीय शिक्षा दिने गाउँपालिकाले योजना बनाएको अध्यक्ष शेर्पाले जानकारी दिए । हेलम्बु गाउँपालिकामा हाल ९ वटा मावि तह पढाइ हुने विद्यालय छन् । तीमध्ये देशकै नमुना माविको रुपमा परिचित मेलम्चीको घ्याङ मावि भने तत्कालै नहटाउने योजना रहेको अध्यक्ष शेर्पाको भनाइ छ ।

``
निर्माणधिन विद्यालयको भवन


भूकम्पपछि हेलम्बु क्षेत्रमा कारितास स्विट्जरल्यान्डले विद्यालय भवनहरू निर्माण सम्पन्न गरेको थियो । गाउँपालिकाको अग्रसरतामा निर्माण हुन लागेको नमुना विद्यालयको पनि सबै डिजाइन उसकै हुने पालिकाले जनाएको छ ।


यो वर्ष १८ कक्षा कोठा निर्माण सकिने र आगामी वर्ष थप गरेर ४० वटासम्म कक्षाकोठा निर्माण गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले बताए ।

 

सामुदायिक विद्यालयका विद्यार्थी–शिक्षकलाई खाजा 


हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई दैनिक रुपमा खाजा खुवाउने भएको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले सबै सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूका लागि खाजाबापत दैनिक १५ रुपैयाँका दरले दिने भएको हो ।


नेपाल सरकारले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि खाजा व्यवस्था गरेको थियो । तर, एउटै विद्यालयमा कसैलाई खुवाउने र कसैलाई नखुवाउँदा विभेद भएकाले यो वर्षदेखि सबै कक्षाका विद्यार्थीलाई खाजा खुवाउन बजेट विनियोजन गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।


केन्द्र सरकारले गत वर्षदेखि बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि खाजाबापत दैनिक १५ रुपैयाँ प्रदान गर्दै आएको थियो ।

हेलम्बु गाउँपालिकाले भने अब आफ्नै बजेटबाट कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि खाजाबापत केन्द्र सरकारले प्रदान गरेसरह दैनिक १५ रुपैयाँ उपलब्ध गराउन लागेको अध्यक्ष शेर्पाले जानकारी दिए ।