close

मुस्ताङका र बैतडीका शैक्षिक संस्था बन्द

मुस्ताङका र बैतडीका शैक्षिक संस्था बन्द

Trulli
ADVERTISEMENT

मुस्ताङ/बैतडी- हिमाली जिल्ला मुस्ताङमा अत्यधिक चिसो बढेपछि जिल्लाका चार स्थानीय तहको पठनपाठन प्रभावित बनेको छ । कोरोनाका कारण प्रभावित भइरहेको अवस्थामा यहाँका विद्यालयले सरकारको निर्देशन पालना गर्दै चालू शैक्षिक सत्रको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाबमोजिम कक्षा संचालन गरे तापनि हिउँद यामको चिसो मौसमको प्रभावले असर पुर्‍याउँदा विद्यालय बन्द हुन पुगेको शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङले जनाएको छ ।


जिल्लाको लोमान्थाङ गाउँपालिकामा अवस्थित नौवटा सामुदायिक, चारवटा गुम्बा र दुईवटा निजी गरी १५ वटा विद्यालय चिसोले बन्द भएका छन्, जसमध्ये दिव्यदीप मावि छोसेरले मावि तहका विद्यार्थीलाई घुम्ती कक्षाका लागि बेँसी झारिसकेको र अन्य कक्षालाई हिउँदे बिदा दिएको हो ।


लोमान्थाङमा गाउँपालिकाले निर्णय नगरी विद्यालय बन्द गरिएको छ । कहिले विद्यालय खुल्ने भन्ने निर्णय भएको छैन ।


लोमान्थाङका विद्यालयले आफैँले निर्णय गरेर विद्यालय बन्द गरे पनि जिल्लाको लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र  र घरपझोङ गाउँपालिकाले भने कार्यपालिकाको बैठक बसी विद्यालय बन्द गरेको र थासाङ गाउँ कार्यपालिकाले पनि १५ पुसमा पालिकाभित्रका १३ वटा विद्यालयको पठनपाठन बन्द गर्ने बताएको शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङका प्रमुख टंकराज बरालले जानकारी दिए ।


उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले फागुनको पहिलो साता विद्यालय खोल्ने गरी ३० मंसिरमा निर्णय गरेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले २ फागुनमा विद्यालय संचालन गर्ने गरी २३ मंसिरमा निर्णय गरेको छ भने घरपझोङ गाउँपालिकाले समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै १३ कात्तिकमै विद्यालय बन्द गरेको थियो ।


कोरोना संक्रमण बढेको र हिउँदयामको चिसो मौसम सुरु भइसकेकाले गाउँपालिकाले माघको दोस्रो साप्ता मात्र विद्यालय खोल्ने निर्णय गरेको छ ।


शिक्षा विकास तथा समन्वय इकाइले मुस्ताङको हकमा फागुनमा चालू शैक्षिक सत्र सुरु गरी मंसिरमा शैक्षिक सत्र अन्त्य गर्दै आइरहेकामा यस वर्ष कोरोना कहरका कारण मंसिरमा शैक्षिक सत्र अन्त्य नगरी अन्य जिल्लाको शैक्षिक सत्रसँगै अन्त्य गर्ने बताइएको हो । मुस्ताङका विद्यालयले यस पटक कोरोनाका कारण अर्धवार्षिक परीक्षा सम्पन्न गरेका र वार्षिक परीक्षा चैतमा गर्ने निर्णय गरेका हुन् ।


उपल्लो मुस्ताङमा हिउँदयामको मौसमसँगै अत्यधिक मात्रा चिसो बढेको छ । चिसो बढेकाले स्थानीयको दैनिकीमा प्रतिकूल असर पुगेको र सर्वसाधारण स्थानीय घरबाहिरसमेत निस्किन सक्ने अवस्था नरहेको जनाइएको छ । उपल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्रीमा झरेको छ भने तल्लो मुस्ताङमा माइनस १० डिग्रीमा झरेको छ ।


यसरी नै बैतडीका चारवटा पालिकाका विद्यालय पुनः बन्द भएका छन् । लामो समयपछि संचालनमा आएका बैतडीका विद्यालयहरू पुनः बन्द गरिएका छन् । विद्यालयका शिक्षक तथा स्थानीयमा कोरोना संक्रमण देखिन थालेपछि विद्यालयहरू पुनः बन्द भएका हुन् ।


जिल्लाको डिलासैनी गाउँपालिकाले कोरोना जोखिम बढेको भन्दै ५ पुससम्म लकडाउन गरेकाले विद्यालय पनि बन्द रहेका हुन् । दोगडाकेदार गाउँपालिकाका एक शिक्षकमा कोरोना पुष्टि भएकाले २ पुससम्म विद्यालय बन्द गरिएको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए ।
 

जिल्लाको पाटन नगरपालिकाकाले पनि बजार क्षेत्र रहेको वडा- ६ का विद्यालयहरू ५ पुससम्म बन्द गरेको छ । स्थानीय दुईवटा विद्यालयका शिक्षकमा कोरोना देखिएपछि संक्रमणको जोखिम बढ्ने आशंकामा यो वडाका विद्यालय बन्द गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।


‘जुन विद्यालय तथा वडामा कोरोनाको जोखिम छ, सोही वडामा मात्रै पढाइ बन्द गरिनेछ । कोरोना संक्रमण समुदायमा नपुगोस् भनेरै यसो गरिएको हो’, पाटन नगरपालिका प्रमुख केशवबहादुर चन्दले भने ।
 

सुर्नया गाउँपालिका वडा- २ स्थित वासुदेव माविकी एक शिक्षिकालाई पनि कोरोना संक्रमण देखापरेपछि वडा- २, ३ र ४ का जोखिम रहेका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । जिल्लाका अन्य स्थानीय तहका विद्यालयमा भने पठनपाठन नियमित छ ।