close

स्थानीय तहमा स्थायी दरबन्दी नहुँदा करारका भरमा शिक्षक

रुकुम पूर्वमा मात्र २ सय ५७ शिक्षक करारमा नियुक्त

स्थानीय तहमा स्थायी दरबन्दी नहुँदा करारका भरमा शिक्षक

रुकुम पूर्वमा मात्र २ सय ५७ शिक्षक करारमा नियुक्त

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- सरकारले पर्याप्त मात्रामा स्थायी दरबन्दी शिक्षकको पदपूर्ति गर्न नसक्दा स्थानीय तहले करारमा शिक्षक राख्न बाध्य छन् । विद्यालयमा पर्याप्त स्थायी शिक्षक नहुँदा विद्यार्थीको पढाइ कमजोर भइरहेकाले शिक्षा पद्धतिलाई सुधार्न स्थानीय तहले करारमा शिक्षक राख्न बाध्य भएका हुन् ।


रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले मात्र १ सय ४४, भूमे गाउँपालिकाले ४६ र सिस्ने गाउँपालिकाले ६७ जना गरी २ सय ५७ जना करार शिक्षक नियुक्त गरिएको छ ।  पुथाउत्तरगंगाले गत आर्थिक वर्षमा मात्र एकै पटक १ सय ४ जना करार शिक्षक नियुक्त गरेको छ । गत आर्थिक वर्षभन्दा अगाडिका वर्षमा ४० जना गाउँपालिकाले करार शिक्षक नियुक्त गरेको थियो ।


पुथाउत्तरगंगाले मात्र अहिले १ सय ४४ जना करार शिक्षक नियुक्त गरेको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन रिक्त शिक्षक दरबन्दीमा गाउँपालिकाले पदपूर्ति गरेको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामप्रसाद खड्काले जानकारी दिए ।


सरकारले खाली रहेको दरबन्दीअनुसारको पदपूर्ति गर्न नसकेपछि शिक्षामा सुधार गर्न गाउँपालिकाको आन्तरिक स्रोतबाट करार शिक्षक राख्न बाध्य भएको प्रमुख खड्काको भनाइ छ । 

 

विद्यार्थीको सिकाइमा विकास नभएको पाइए करार शिक्षकलाई कारबाही गर्न सकिने कार्यविधि बनाइएको खड्काले बताए । यसबाट गाउँपालिकाको लगानीले शिक्षामा सुधार हुने अपेक्षा पालिकाको छ । गाउँपालिकाले राखेका १ सय ४४ जना करार शिक्षकको तलब मात्र वार्षिक करिब साढे ४ करोड रुपैयाँ खर्च भइरहेको छ । 

 

विद्यालय सहायक शिक्षक र बालविकास शिक्षिकालाई मासिक १०/१० हजार र प्रावि तहमा १७ हजार, निमावि तहमा २० हजार, मावि तहमा २५ हजार रुपैयाँ प्रतिशिक्षक/शिक्षिकालाई तलब दिइने गरेको छ । 

 

यस्तै, भूमे गाउँपालिकामा ४६ जना करार शिक्षकलाई न्यूनतम मासिक प्रतिशिक्षक १५ हजार रुपैयाँ दिइने गरेकाले वार्षिक साढे १ करोड रुपैयाँ हाराहारी बजेट करार शिक्षकको तलबमा खर्च भइरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए ।


केन्द्र सरकारसँग स्थायी दरबन्दी शिक्षकको पटक–पटक माग गर्दा पनि पदपूर्ति हुन नसकेको अध्यक्ष बुढा मगरले बताए । स्थायी दरबन्दी नभएका विद्यालयमा अभिभावकले निजी शिक्षक राखेर पठनपाठन गरिरहेका थिए । यसले गर्दा सामुदायिक विद्यालयमै आफ्ना छोराछोरी पठाउँदा अभिभावकलाई आर्थिक भार पर्ने गरेको थियो । हाल गाउँपालिकाले स्वयंसेवक करार शिक्षक नियुक्त गरी अभिभावकमा परेको आर्थिक भार बेहोरेपछि पालिकामा उक्त भार परेको गाउँपालिका अध्यक्ष बुढा मगरको भनाइ छ । 

 

सिस्ने गाउँपालिकाले पनि ६७ जना करार शिक्षक नियुक्त गरेको छ । तहगतअनुसारको बालविकास शिक्षिकालाई मासिक ८ हजार, प्राविमा मासिक १३ हजार, निमाविमा मासिक १५ हजार र माविमा मासिक १८ हजार रुपैयाँ तलब दिइने गरेको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले बताए । करार शिक्षकको तलब मात्र वार्षिक १ करोड ११ लाख रुपैयाँ खर्च भइरहेको बुढाको भनाइ छ ।