close

जुम्लाको हिमा पालिकामा नियमित पठनपाठन

जुम्लाको हिमा पालिकामा नियमित पठनपाठन

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको हिमा गाउँपालिकाले विद्यालयमा नियमित पठनपाठन सुरु गरेको छ । गाउँपालिकाले १५ भदौबाट विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना महामारीका कारण १० चैत २०७६ देखि विद्यालय बन्द थिए ।


गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार पालिकाको दुई क्षेत्रमा ८२ जनाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएकाले कार्यपालिका बैठकको निर्णयअनुसार विद्यालय स्वास्थ्य मापदण्ड पालन गर्ने गरी खुलाइएको बताए ।


 
जिल्ला प्रशासन कार्यालयले शिक्षा शाखा प्रमुखको उपस्थितिमा विद्यालय खुलाउने आधारको विषयमा आयोजना गरिएको बैठकमा विद्यालय सुचारु गरिएको शाखा प्रमुख धितालले जानकारी दिए । 

 

स्थानीय तहको निर्णयअनुसार १५ भदौबाट विद्यालयमा स्वास्थ्य मापदण्डअनुसार पढाइ सुरु भएको कालिका माध्यमिक विद्यालयका शिक्षक खम्बा शाहीले बताए । 


यसैगरी जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखले कोरोना महामारीका बीच शिक्षा क्षेत्रमा भइरहेका गतिविधिबारे छलफल गरे । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले शिक्षा शाखाले एक साताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय भएको जानकारी दिइन् ।

 

उनका अनुसार यसअघि जिल्ला कोभिड व्यवस्थापन समितिले पनि निर्णय गरे पनि शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न निर्देशन गरिएको हो । 

 

बैठकमा शिक्षा शाखा प्रमुखहरूले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिए । उनीहरूले विद्यार्थी मेला, पर्व र अन्य काममा जाने भएकाले त्यहाँभन्दा विद्यालयमै सुरक्षित हुने धारणा व्यक्त गरे । 

 

सरकारले पछिल्लो समय स्मार्ट लकडाउन कार्यविधिसमेत बनाएको छ । स्वास्थ्य मापदण्डअनुसार हरेक साता कोरोना परीक्षण गरेर १ सय जनामा परीक्षण गरे ५ जनाभन्दा मुनि पोजेटिभ आए मात्रै विद्यालय सञ्चालन गर्न पाइने मापदण्ड रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. राजीव शाहले बताए । 

 

उनका अनुसार त्यो कार्यविधिका विषयमा स्थानीय तहमा छलफल र सचेतना आवश्यक छ । शिक्षा समन्वय इकाइ प्रमुख मकरबहादुर भण्डारीका अनुसार प्रायः शिक्षकले खोप लगाइसकेकाले छुटेकालाई अनिवार्य खोप लगाउने व्यवस्था गर्न आग्रह । आधार तयार गरेर मात्र विद्यालय खोल्नुपर्नेमा उनले जोड दिए ।

 

चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखाबाट ८ वटा विद्यालयमा कोरोना परीक्षण गरिएको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । जुम्लामा सामुदायिक विद्यालय १७० र बालविकास केन्द्र १९६ छन् । ३९ हजार ८३४ बालकालिका अध्ययनरत छन् ।