close

पाथीभरा याङ्बरकमा सेवानिवृत्त शिक्षकदेखि एसईईमा उत्कृष्ट अंक ल्याउनेसम्म पुरस्कृत

पाथीभरा याङ्बरकमा सेवानिवृत्त शिक्षकदेखि एसईईमा उत्कृष्ट अंक ल्याउनेसम्म पुरस्कृत

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले सेवानिवृत्त शिक्षक, एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई पुरस्कृत तथा सम्मान गरेको छ । 

 

४२औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस अवसरमा ७ सेवानिवृत्त शिक्षक, एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने ३ विद्यार्थी र २ विद्यालयलाई पुरस्कृत गरिएको पालिकाका निमित्त शिक्षा अधिकृत भीमप्रसाद दाहालले जानकारी दिए ।

 

गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले सेवानिवृत्त शिक्षक, उत्कृष्ट बिद्यार्थी र विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरे ।

 

दाहालका अनुसार २०७७ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने वडा नम्बर १ नाङ्खोल्याङको कालिमा मावि पहिलो हुँदै २८ हजार रुपैयाँ नगदसहित सम्मानित भएको छ । विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद निरौलालाई पालिका अध्यक्ष सुब्बाले नगद तथा सम्मानपत्र प्रदान गरे ।

 

यस्तै, वडा नम्बर २ मा अवस्थित थेचम्बु माध्यमिक विद्यालय दोस्रो हुँदै नगद २२ हजार रुपैयाँका साथ पुरस्कृत भयो । पालिका उपाध्यक्ष गुरुङले थेचम्बु माविका प्रअ देउप्रसाद मेन्याङ्वोलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन् । 

 

पालिकाले २०७७ को एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने ३ विद्यार्थीलाइ नगद र प्रमाणपत्रसहित पुरस्कृत गरेको छ । एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने १ छात्र र १ छात्रालाई पुरस्कृत गर्ने पालिकाको योजना रहेकामा दुई छात्रको नतिजा बराबर भएपछि ३ विद्यार्थीलाई समान नगदसहित पुरस्कृत गरेको हो ।

 

पुरस्कृत हुनेमा छात्रतर्फ कालिका मावि नाङ्खोल्याङका पारस बर्देवा र थेचम्बु मावि थेचम्बुका समीर कार्की रहेका छन् । उनीहरूले एसईई परीक्षामा ३.५० जिपिए प्राप्त गरेका थिए । 

 

यस्तै, छात्रातर्फ कालिका मावि नाङ्खोल्याङका क्षितिजा दुर्विच रहेकी छन् । उनले ३.४५ जिपिए प्राप्त गरेकी थिइन् । पुरस्कृत हुने ३ जनाले समान १६ हजार ५ सय रुपैयाँ नगद र प्रमाणपत्र पाए ।

 

पालिकाले सेवानिवृत्त ७ शिक्षकलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र वितरण गरेको छ । सम्मान पाउनेमा लोकनाथ खतिवडा, बालकृष्ण श्रेष्ठ, घनश्याम पौडेल, केदारलाल न्यौपाने, समतलाल चौधरी, कृष्णप्रसाद अधिकारी र सन्तोषकुमार राजभण्डारी रहेका छन् ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष सुब्बाले पालिका क्षेत्रको शैक्षिक उन्नयनका लागि सक्दो योगदान दिँदै आएको र अब विशेष कार्ययोजनाका साथ अघि बढ्ने बताए ।

 

पुरस्कृत विद्यालयका तर्फबाट कालिक मावि नाङखोल्याङका निरौलाले पुरस्कारले आफूहरूको शैक्षिक दायित्व बढाएको सुनाए । सेवानिवृत्त शिक्षक बालकृष्ण श्रेष्ठले लामो समयसम्म शैक्षिक क्षेत्रमा जीवन बिताउँदा पाएको अनुभव पालिका क्षेत्रको शैक्षिक विकासमा खर्चिने प्रतिबद्धता जनाए ।