close

साक्षर पालिका बन्यो ताप्लेजुङको आठराई त्रिवेणी

साक्षर पालिका बन्यो ताप्लेजुङको आठराई त्रिवेणी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस अवसर पारेर आठराई त्रिवेणीलाई साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका शिक्षा अधिकृत सीतादेवी लावतीले जानकारी दिइन् ।

 

२०६८ को जनगणनाअनुसार आठराई त्रिवेणीमा ७ हजार ३ सय ७० महिला र ६ हजार ४ सय १४ पुरुष गरी १३ हजार ७ सय ८४ जनसंख्या छ ।

 

साक्षर नेपाल अवधारणापत्रअनुसार आठराई त्रिवेणीलाई साक्षर पालिका घोषणा गर्न १५ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकको तथ्यांक संकलन गरिएकामा साक्षरता प्रतिशत ९५.९० रहेको अवस्थामा साक्षर पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले जानकारी दिए ।

 

पालिकालाई साक्षर घोषणा गर्न न्यूनतम ९५ प्रतिशत साक्षर भए पुग्ने मापदण्ड छ । सरकारको साक्षर नेपाल वर्ष २०७६ को अवधारणाअनुसार नेपालका ७ प्रदेश, ७७ जिल्ला र ७ सय ५३ वटै स्थानीय तहलाई साक्षर घोषणा गर्नुपर्नेछ ।

 

पालिका क्षेत्रका १५ देखि ६० वर्ष उमेर समूहका साक्षर एवं निरक्षर जनसंख्याको तथ्यांक संकलन गरी साक्षर नेपाल वर्ष २०७६ को अवधारणा पूरा भएपछि आठराई त्रिवेणीलाई साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । 

 

पालिकाभरिमा जम्मा २ हजार २ सय घरधुरी छन् । कुल जनसंख्यामध्ये १५ देखि ५९ वर्ष उमेर समूहका ३ सय २६ जना निरक्षर रहेको पालिकाले जनाएको छ । 

 

पालिकाभित्र १५ देखि ५९ बर्ष उमेर समूहका ७ हजार ९ सय ५८ जनसंख्या रहेकामा यो समूहका ७ हजार ६ सय ३२ जना साक्षर देखिएको शिक्षा अधिकृत लावतीले बताइन् ।

 

उनका अनुसार आठराई त्रिवेणीअन्तर्गतका ५ वटै वडामा माध्यमिक तहका विद्यालय छन् । पालिकाभित्र ३३ सामुदायिक र ३ संस्थागत गरी ३६ विद्यालय र २ वटा सामुदायिक सिकाइ केन्द्र छन् ।

 

पालिकाले १३ साउन २०७८ देखि साउन मसान्तसम्म गरेको घरधुरी सर्वेक्षणका क्रममा वडा नम्बर १ मा १५ देखि ५९ वर्ष उमेर समूहका ४८ जना निरक्षर रहेको र साक्षर प्रतिशत ९६.७७ प्रतिशत रहेको तथ्यांक संकलन गरेको थियो ।

 

वडा नम्बर २ मा १५ देखि ५९ वर्ष उमेर समूहका ६८ निरक्षर र साक्षरता प्रतिशत ९६.१३, वडा नम्बर ३ मा १५ देखि ५९ वर्ष उमेर समूहका ४८ निरक्षर र साक्षरता प्रतिशत ९७.७३, वडा नम्बर ४ मा १५ देखि ५९ वर्ष उमेर समूहका ९३ निरक्षर र साक्षरता प्रतिशत ९३.२२ र वडा नम्बर ५ मा १५ देखि ५९ वर्ष उमेर समूहका ७० निरक्षर र साक्षरता प्रतिशत ९४.२५ प्रतिशत पाइएको शिक्षा अधिकृत लावतीले जानकारी दिइन् ।

 

आठराई त्रिवेणीमा ९५.९० प्रतिशत साक्षर देखिए पनि यसलाई शत प्रतिशत  पुर्‍याउन थप साक्षरता बढाउने कार्यक्रम सञ्चालन गरिने शिक्षा अधिकृत लावतीले बताइन् ।