close

शिक्षकको कोटा पनि बिक्रीमा ! विद्यालयका प्रधानाध्यापकले ११ लाख मागेको खुलासा

शिक्षकको कोटा पनि बिक्रीमा ! विद्यालयका प्रधानाध्यापकले ११ लाख मागेको खुलासा

Trulli
ADVERTISEMENT

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ३ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा शिक्षकको नियुक्तिका लागि आर्थिक लेनदेनको भएको रहस्य खुलेको छ ।  गत २० भदौमा विज्ञापन जारी गरी ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि ७ लाख रुपैयाँको सहमति भएको खुलासा भएको हो ।

 

सोही विद्यालयका शिक्षक लडाइँप्रसाद चौधरीका छोरा विवेक चौधरीलाई नियुक्त गर्न विद्यालयका प्रअ मुनिजर हसनसँग ७ लाख रुपैयाँ बुझाउने सहमति भएको चौधरीले दाबी गरे । २ दिनअघि विद्यालयका प्रअ हसनको घरमै पुगेर ६ लाख बुझाएको र १ लाख रुपैयाँ तलब पाएपछि दिने गरी नियुक्त गर्ने मौखिक सहमति भएको चौधरीले बताए ।

 

प्रअ हसनले विद्यालयलाई पनि केही रकम सहयोग गर्नुपर्ने भन्दै चौधरीलाई विद्यालय व्यवस्थापन समितिसँग भेट गर्न पठाएको र थप ४ लाख रुपैयाँ दिन दबाब दिएपछि विवाद सुरु भएको थियो ।


प्रअलाई ७ लाख र विद्यालयलाई ४ लाख रुपैयाँ दिन नसक्ने भएपछि प्रअलाई दिएको ६ लाख फिर्ता गर्न आग्रह गरेको चौधरीले बताए । ‘११ लाख रुपैयाँ दिन नसक्ने भएपछि छोरालाई परीक्षाका लागि पठाइनँ’, शिक्षक चौधरीले भने, ‘यही विद्यालयमा पढाउने र छोरालाई पनि जागिर मिल्ने भएपछि उक्त रकम दिएको हुँ । पछि विवाद सिर्जना गरियो ।’

 

प्रअले पैसा लिएर रातको समय बोलाएकामा एक जनालाई लगेर गएका बेला उनले देख्ने गरी पैसा नबुझ्ने हसनले बताएको चौधरीको दाबी छ । पछि सँगै लिएर गएका साथीलाई घरमा छाडेर एक्लै हसनको घर गएर पैसा बुझाएको दाबी उनको छ ।

 

चौधरीले यथेष्ट प्रमाण दिन नसक्दा रकम लेनदेनको पुष्टि भने हुन सकेको छैन । चौधरीका अनुसार बैंकबाट ६ लाख ३० निकालेको र ३० हजार घर खर्च राखी ६ लाख रुपैयाँ प्रअलाई बुझाएको दाबी गरे ।

 

प्रअ हसन शिक्षक चौधरी निकट मानिन्थे । पछिल्लो समय उनीहरूबीच असहमति बढेपछि रकम लेनदेनको विवाद सार्वजनिक भएको हो । विद्यालयमा प्रअ हसन आफूले कुनै पनि रकम नलिएको दाबी गर्छन् । चौधरीले पटक–पटक घरमा पुगेर पैसा दिन खोजे पनि आफूले अस्वीकार गरेको उनको भनाइ छ ।


विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले यदि रकम लिएको भए प्रअलाई कारबाही गरिने जानकारी दिए । पैसा लेनदेनको विषय जानकारीमा आएको तर यसबारे थप बुझेर बदमासी भएको भए कारबाही गरिने थापाले बताए ।