close

विद्यार्थीको बचतमा सूर्योदयको थप रकम अनुदान

विद्यार्थीको बचतमा सूर्योदयको थप रकम अनुदान

Trulli
ADVERTISEMENT

इलाम । इलामको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाले गरेको बचतमा अनुदान थपिदिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालय छोड्ने दर घटाउन र आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा प्रभावकारी बनाउन यो अवधारणा बढाएको हो ।

नगर प्रमुख रणबहादुर राईले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन तथा कक्षा ८ सम्मको पढाइमा निरन्तरता दिन यो अवधारणाले पुग्ने विश्वास उनको छ। अवधारणाअन्तर्गत विद्यार्थीले थोरै रकम आफैँ बचत गरेर खातामा जम्मा गरेपछि त्यसमा नगरपालिकाले केही रकम थपिदिनेछ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराई भन्छन्, “जुन बैंकमा बालबालिकाको खाता खोलिएको हुन्छ, त्यही बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्ने रकम त्यो खातामा जम्मा गरिदिन नगरपालिकाले बैंकहरुलाई आग्रह गरेको छ।”  नगरपालिका र बैंकमार्फत हासिल हुने अनुदान विद्यार्थीले कक्षा ८ उत्तीर्ण गरेपछि मात्र प्राप्त गर्ने नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिए । यो योजनाअन्तर्गत विद्यार्थीले दैनिक ५-१० रुपैयाँ वा मासिक यथाशक्य बढी रकम जम्मा गर्न सक्नेछन्।

यस कार्यक्रमले बालबालिकामा बचत गर्ने बानीको विकास हुने,  उच्च शिक्षा अध्ययनको बेला सहयोग पुग्ने विश्वास नगरपालिकाको छ। नगरप्रमुख राई भन्छन्, “बालबालिकाले धेरै लगानी गर्नुपर्दैन । यसमा नगरपालिकाले बोनस वा थप ब्याजदरका रुपमा अनुदान दिन्छ । तर ८ कक्षाअघि नै कोही विद्यार्थी निजी अथवा अन्य पालिका जान्छ भने त्यो अनुदान उसले पाउँदैन ।”

नगरपालिकाको २४ सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म ४ हजार ५२१ बालबालिका छन् । कक्षा छोड्ने विद्यार्थीको दर तीन प्रतिशत रहेको शिक्षा शाखा प्रमुख भट्टराईले जानकारी दिए। दीर्घकालीन उपलब्धिका रुपमा बालबालिका माथि लगानी बढाउँदै आएको ‘सूर्योदय’ प्रदेश नं १ को तेस्रो र जिल्लाको पहिलो बालमैत्री नगरपालिका हो ।