close

बेरुजु फछर्यौट नगर्ने विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का

बेरुजु फछर्यौट नगर्ने विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का

Trulli
ADVERTISEMENT

चितवन। कालिका नगरपालिकाले बेरुजु फछर्यौट नगर्ने विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ । बेरुजु बढ्दै गएपछि बेरुजुलाई असुल गर्ने अभियानस्वरुप तलब रोक्का गर्न थालिएको हो ।

नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार नगरभित्रका ३५ विद्यालयमध्ये कात्तिक महिनामा १३ विद्यालयमा मात्र तलब निकासा गरिएको थियो । यो सङ्ख्या मङ्सिरमा २५ पुगेको छ । १० विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोकिएको छ । सुरुमा सबैको तलब रोकिएकामा पछि प्रधानाध्यापक र लेखा प्रमुखको मात्र तलब रोकिएको उनले बताए। 

विद्यालयको बेरुजुको विस्तृत विवरण बुझाएर समय तोकेर असुल गर्ने कबुलियत गरेपछि मात्र तलब पठाइएको उनले जानकारी दिए। नगरपालिकाभित्र विगतदेखि हालसम्मको रु १६ करोडभन्दा बढी बेरुजु रहेको छ । सोमध्ये सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र योजनामा बेरुजु रहेको रेग्मीले जानकारी दिए। नगरपालिकाले विद्यालयमा हरेक महिना तलब पठाउने गर्दछ । सुरुमा बेरुजु असुलीका लागि धेरै भएको शिक्षा क्षेत्रबाट काम थालिएको उनी बताउँछन्। यससँगै नगरपालिकाले प्रधानाध्यापक र लेखा प्रमुखका लागि दुईदिने लेखासम्बन्धी तालिमसमेत दिएको छ ।

प्रमुख रेग्मीले भने, ‘अब बेरुजु हुन दिदैनौँ । पहिलेको पनि उठाउँछौँ ।’ तलब रोकिएपछि शिक्षकका सङ्घ सङ्गठनले दबाब दिएको भए पनि नगरपालिका पछि नहट्ने उनको भनाइ छ । उनले थपे, ‘हामी कोहीप्रति पूर्वाग्रही छैनौँ । बेरुजु शून्य बनाउने हाम्रो अभियान हो ।’ कतिपय विद्यालयको बेरुजुको बिल, भर्पाइमा जिम्मेवार व्यक्ति उल्लेख नभएकोसमेत पाइएको छ ।