close

जनक माविका विद्यार्थी ‘पढ्दै कमाउँदै’

जनक माविका विद्यार्थी ‘पढ्दै कमाउँदै’

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा  पाँच महिनादेखि एउटा बाख्रा पालिरहेका छन्। 

विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उनले विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सो कार्य थालनी गरेका हुन् । पाठ्यक्रममा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक विधिअनुसार घरमा बाख्रापालनले आम्दानीसँगै अध्ययनलाई निन्तर अगाडि बढाउन सहयोग पुगेको उनले बताए।

‘पालेको बाख्राको पहिलो सन्तान विद्यालयलाई दिनुपर्ने र माउ बाख्रा भने विद्यार्थी आफैँले पाउने गरी हामीले पढाइसँगै प्रयोगात्मकको रुपमा पढ्दै कमाउँदै कार्य गर्दै आएका छौँ’, उनले भने, ‘दिउँसो बाख्रासम्बन्धी पढाइ हुन्छ, बेलुका घरमा पुगेर व्यवहारिक ज्ञान लिने गर्दा धेरै सजिलो पनि हुँदोरहेछ ।’ यसरी काम गर्दा परम्परागत र पढेर गरेको काममा भिन्नता देखिनुका साथै कम समय र कम खर्चमा धेरै उत्पादन हुने अवस्था रहेको उनको अनुभव छ। 

अर्का विद्यार्थी कक्षा १० मा पशु विज्ञान प्राविधिक धारमा अध्ययनरत अनमोल अधिकारीले पनि पढेर मात्रै नभई व्यवहारमा लागू गरेर देखाउन  ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत बाख्रा पालन गरिरहेको बताउँछन्।  विवेक र अनमोल जस्तै अन्य २२ जना विद्यार्थीले त्यसरी नै अध्ययनसँगै प्रतिविद्यार्थी एउटा बाख्रापालन गर्दै आइरहेका छन् भने विद्यालयले फार्म सञ्चालन गरी बाख्रापालनको काम गरिरहेको छ ।

जनक मावीकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी सोदीक्षा मैनालीले भने विद्यालय हाताभित्रमा रहेको मौरीको घार रेखदेख गर्दै आएकी छिन्। विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई पाँच/पाँच जनाको समूह बनाएर मौरीको घार वितरण गरी मौरीपालन कार्यमा संगल्न गराएपछि उनी अध्ययनसँगै मौरीपालनमा केन्द्रित भएकी हुन्।

‘हामीले विद्यालय हाताभित्र नै मौरीलाई चाहिने फूलका बोट बिरुवा रोप्ने गर्नुपर्छ ।’ उनी भन्छिन्,  ‘त्यसबाट हुने आम्दानीको ५० प्रतिशत विद्यालयलाई र ५० प्रतिशत समूहमा रहने साथीहरुलाई बाँडेर लिन पाइने शिक्षकले बताउनुभएको छ ।’ बाख्रापालन गर्नलाई घरमा गोठ नभएको र मौरीपालन गर्दा धेरै दुःख नहुने भएकाले यही काम रोजेको उनले बताइन्। कक्षाका ४२ जनामध्ये मौरीपालन कार्यमा संलग्न हुन चाहने २० जनाले करिब दुई हप्ताबाट सो कार्य सुरु गरेका छन् ।

उनीहरु मात्रै नभएर विद्यालयका अन्य ७६ जना विद्यार्थी अदुवाखेतीमा संलग्न भएर काम गरिरहेको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक हरिहर अधिकारीका अनुसार छ रोपनी जग्गा भाडामा लिएर ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत अदुवा खेती सुरु गरेको छ । यसरी विद्यालयका विद्यार्थीमध्ये एक सय १८ विद्यार्थी पूर्णरुपमा सहभागी भइरहेको उनले बताए।

त्यति मात्रै होइन, विद्यालय भवनको पछाडि रहेको जग्गामा टनेलभरि पाकिरहेको गोलभेडा, काउली र मुला छन् । त्यसैको छेउमा फूल फुल्दै गरेको तोरी, अनि धेरै थरिका तरकारीको बेर्नादेखि टिप्न मिल्ने थरिथरिका तरकारी । विद्यार्थीको मेहिनतले यहाँका चार रोपनी जग्गा हराभरा बनाएको छ । ‘एक विद्यालय, एक उद्यम कार्यक्रम’अन्तर्गत विषयसँग सम्बन्धित बाख्रापालन, तरकारीखेती, धानखेती र मौरीपालनको समेत काम भइरहेको छ ।

कार्यक्रमअन्तर्गत विद्यार्थीलाई थप सक्रिय बनाउनका लागि विद्यालयले ‘कृषि उद्यमी क्लब’ भनेर गठन गरेको छ । जसको नेतृत्व कक्षा १२ का विद्यार्थी विवेक पकवालले गरेका छन् । विद्यालयको नेतृत्वमा आवश्यक जग्गा उपलब्ध गराएर विद्यार्थीलाई सहज बनाएको छ । जहाँ उत्पादन भएको तरकारी र धान विद्यालयमा नै सञ्चालन भएको दिवा खाजाको लागि विद्यालयले नै खरिद गर्दै आएको विद्यालयका सहायक प्रधानाध्यापक हरिहर अधिकारीले बताए। 

उनका अनुसार अहिले विद्यालयले सञ्चालन गरेको बाख्रा फार्ममा १८ वटा बाख्रा छन् । यसअघि दुई हजार वटा कुखुरा बिक्री गरिसकेकोमा अहिले ३० वटा लोकल कुखुरा पालन गरी मासु र अण्डा उत्पादनको काम भइरहेको छ । विशेष गरी अण्डा उत्पादनको कामलाई प्राथमिकता दिने गरी पाँच सयसम्म पुर्याउने तयारीमा विद्यालय रहेको उनले बताए। यसको रेखदेख गर्नका लागि मोहन स्याङतान दम्पतीलाई राखिएको छ ।

सङ्घीय सरकारको दश लाख अनुदानमा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएको हो ।