close

बालबालिकालाई वडाको निःशुल्क ‘ट्यूसन’

बालबालिकालाई वडाको निःशुल्क ‘ट्यूसन’

Trulli
ADVERTISEMENT

झापा। दमक नगरपालिका–९ वडा कार्यालयले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । वडा कार्यालयले विपन्न समुदायका बालबालिकालाई ट्यूसन कक्षाको व्यवस्था  गरेको हो ।

वडाले पहिलो चरणमा उराव बस्तीमा निःशुल्क  ट्युसन कक्षा सञ्चालन गरेको छ । यहाँका अधिकांस बासिन्दा स्थानीय चिया बगानमा काम गर्छन् । विपन्न समुदायका बालबालिकालाई लक्षित गरी अतिरिक्त ट्यूसन कक्षा सञ्चालन गरिँदैआएको वडाअध्यक्ष कुवेर भट्टराईले बताए। 

यहाँका विद्यार्थी स्थानीय महालक्ष्मी आधारभूत र पाणीनी माध्यमिक विद्यालयमा अध्ययनरत छन् । सामुदायिक विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त कमजोर विद्यार्थीका लागि निःशुल्क ट्यूसन कक्षा सञ्चालन गरिएको हो । ट्यूसनका लागि वडाले कार्यक्रममा नै बजेट समावेश गरेको वडाध्यक्ष भट्टराईले बताए। 

‘विद्यार्थीलाई पढाइमा अब्बल बनाउन यस किसिमको कार्यक्रम सुरु गरिएको हो, यसबाट बालबालिकाको शिक्षामा सुधार आएको छ’, उनले भने। 

दैनिक ज्यालदारी गरेर जीविकोपार्जन गर्दैआएका स्थानीयले छोराछोरीलाई अतिरिक्त शुल्क तिरेर पढाउने अवस्था छैन । दैनिक ज्यालाले गर्जो टार्ने हुँदा अधिकांस विद्यार्थी शिक्षाबाट वञ्चित छन् । ‘शिक्षाको गुणस्तर वृद्धि गर्ने प्रयास गरेका छौँ, यसलाई निरन्तरता दिन्छौँ’, वडाध्यक्ष भट्टराईले भने। वडाले यसका लागि रू ७५ हजार बजेट छुट्याएको छ । वडाको दिपज्योति उराव बस्तीमा सञ्चालित ट्यूसन  कक्षामा कक्षा १ देखि ६ सम्मका ४३ तथा कक्षा ७ देखि १० सम्मका ३० बालबालिका सहभागी हुँदैआएका छन् ।