close

स्थानीय पाठ्यक्रमः संस्कृति जोगाउने माध्यम

स्थानीय पाठ्यक्रमः संस्कृति जोगाउने माध्यम

Trulli
ADVERTISEMENT

प्युठान। आधारभूत तहमा पठन पाठन हुने स्थानीय पाठ्यक्रम संस्कृति जोगाउने माध्यम बनेको छ । स्थानीय तह र जिल्लाका पर्यटन, संस्कृति, रीतिरिवाज र महत्वपूर्ण विषयका बारेमा समेटिएका पाठ्यक्रमले परम्परा, संस्कार र संस्कृति जोगाउने माध्यमका रुपमा लिन थालिएको छ । 
    
प्यूठानको गौमुखी गाउँपालिकाले स्थानीय पाठ्यक्रम २०७९ को शैक्षिक सत्रबाट लागू गरेको छ । गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा लागू हुने गरी स्थानीय पाठ्यक्रम लागू गरेको हो । पहिलो चरणमा गाउँपालिकाले कक्षा ५ मा लागु हुनेगरी ‘हाम्रो गौमुखी’ पाठ्यक्रम लागू गरेको हो । एक वर्ष पाठ्यपुस्तकविना शिक्षकले खोज तथा समन्वयमा विषयवस्तुका बारेमा जानकारी लिइ पठनपाठन गराइएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए। 
    
उनका अनुसार ‘हाम्रो गौमुखी’मा स्थानीय कला, गीतसङ्गीत, संस्कृति, खेतीबाली, परम्परा, वेषभूषा, नदीनाला, रहनसहन र पर्यटनसम्बन्धी विषयवस्तु समेटिएर पाठ्यक्रम तयार गरिएको हो । ‘आफ्नो गाउँबस्तीका धेरै कुरा समेटिएको हुँदा संस्कृति जोगाउने माध्ययम स्थानीय पाठ्यक्रमलाई लिएको छु’, उनले भने। 

    गौमुखीले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम विकास गरी लागू गर्ने नीति तथा कार्यक्रम तय गरेकामा हाल कक्षा ५ मा मात्रै लागू गरेको छ । यस वर्ष हाम्रो ‘गौमुखी’ नामक पाठ्यक्रमलाई पुस्तकको विकास गरी पठनपाठन गराउने तयारी छ । अन्य कक्षामा पाठ्यपुस्तकको निर्माण क्रमशः गरिने अध्यक्ष गिरीको भनाइ छ । 

‘हाम्रो माण्डवीः हाम्रो गौरव’ गाउँपालिकाले पनि पाठ्यक्रम निर्माण गरी एक शैक्षिक सत्र परीक्षा लिइसकेको छ । कक्षा १ देखि ४ कक्षा सम्मको पाठ्यपुस्तक निर्माणको गरी विद्यालयमा पठाउने तयारीसमेत भएको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए। 

ग्रामीण जीवनशैली, रहनसहन, रीतिरिवाज, चार्डपर्व, संस्कृति, संस्कर र पर्यटकीय क्षेत्रसहित गाउँपालिकाबाट प्रवाह हुने सेवाका बारेमासमेत पाठ्यक्रममा समावेश छ । स्थानीय पाठ्यक्रम मार्गदर्शन २०७६ अनुसार तयार गरिएको पाठ्यक्रमले स्थानीय विषयवस्तुको मूल्यबोध, संस्कृतिको जगेर्ना, स्थानीय सरकार जिम्मेवार र उत्तदायी भूमिकाको निर्माण गर्ने विश्वास उनको छ । 

जिल्लाका अन्य स्थानीय तहले पनि स्थानीय भूगोल र इतिहास, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था, स्थानीय सरकार, आर्थिक क्रियाकलाप, स्थानीय सीप, प्रविधि, रोजगारी, स्थानीय प्राकृतिक स्रोत र साधन, स्थानीय जीवन पद्धति, स्थानीय विकासका पूर्वाधार र विपद् व्यवस्थापन तथा सुरक्षा गरी १० वटा क्षेत्र समावेश गरी विस्तृतीकरण गरिएको पाठ्यक्रम निर्माण गरेका छन् ।