close

वारी भविष्य, पारी सपना : देउवा भएर के भो ?

‘कहिले जुत्ता बगाएर आउँछन् । कहिले व्याग र किताबकापी बगाएर विद्यार्थी कक्षाकोठामा पुग्छन्,’ उनले भने, ‘पानी ठूलो परेको दिन विद्यार्थी आउनै सक्दैनन् । कम विद्यार्थी हुने भएकाले कक्षा सञ्चालन गर्न समेत समस्या हुन्छ ।’

वारी भविष्य, पारी सपना : देउवा भएर के भो ?

‘कहिले जुत्ता बगाएर आउँछन् । कहिले व्याग र किताबकापी बगाएर विद्यार्थी कक्षाकोठामा पुग्छन्,’ उनले भने, ‘पानी ठूलो परेको दिन विद्यार्थी आउनै सक्दैनन् । कम विद्यार्थी हुने भएकाले कक्षा सञ्चालन गर्न समेत समस्या हुन्छ ।’

Trulli
ADVERTISEMENT

डडेलधुरा- उज्वल भविष्यको आशासहित विद्यालय पुग्ने विद्यार्थीको पहिरन कस्तो हुन्छ, कल्पना गर्नुहोस् । पक्कै पनि चिटिक्क परेको नीलो सर्ट र पाइन्ट, टलक्क टल्किने कालो जुत्ता, सुकिलो टाई र किताब कपीले भरिएको आर्कषक ब्याग । काठमाडौं उपत्यकालगायत अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पहिरन हो यो ।

तर, परशुराम नगरपालिका वडा नम्बर ६ का विद्यार्थी मुस्किलैले मात्रै माथि उल्लेखित पहिरनमा विद्यालय पुग्छन् । यहाँका विद्यार्थीको पहिरन केही फरक छ । नीलो सर्ट र पाइन्ट त हुन्छ, तर निथ्रुक्कै भिजेको । 

भिजेको कपडासँगै खाली खुट्टामा विद्यालय पुग्छन्, विद्यार्थी । अझ कुनै दिन त विद्यार्थीसँग पढ्नका लागि किताब र कापीसमेत हुँदैन । आफ्नो ज्यान नै दाउमा राखी उज्वल भविष्यको लागि हरेक दिन बाढीले उर्लीएको खोला तर्दै पारीको विद्यालय पुग्छन्, यहाँका विद्यार्थी ।

उनीहरुको सबैभन्दा नजिक रहेकाे माध्यमिक विद्यालय नै खोला पारी छ । वडा नम्बर ७ स्थित शिवशंकर माध्यमिक विद्यालय पुग्न दशकौंदेखि 'कसान खोला', 'घट्टे खाेला', 'पुन्तुराखाेला', 'ठुलागडा खाेला' र 'नौलो खोला'को बाढीसँग जुधिरहेका छन् उनीहरु । हरेक वर्षको असार, साउन र भदौंमा वडा नम्बर ६ मसिनजलाका बालबालिका सोही खोला तरेर विद्यालय पुग्छन् । छोराछोरीलाई अभिभावकले आलोपालो खाेला तार्छन् । खोलामा जम्मा भएका अभिभावकले लामबद्ध भएर विद्यार्थीलाई बोकेर खोला वारपार गराउँछन् । 

याे खोलामा हालसम्म कुनै पुल नबनेकाले अभिभावक पालैपालो खोला तार्न बाध्य भएको शिवशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज अवस्थी बताउँछन् । वर्षायाममा खोलाको बहाब बढ्ने भएकाले जेनतेन विद्यार्थी विद्यालयमा आइपुग्ने उनले पालिकाखबरलाई जानकारी दिए । 

‘कहिले जुत्ता बगाएर आउँछन् । कहिले व्याग र किताबकापी बगाएर विद्यार्थी कक्षाकोठामा पुग्छन्,’ उनले भने, ‘पानी ठूलो परेको दिन विद्यार्थी आउनै सक्दैनन् । कम विद्यार्थी हुने भएकाले कक्षा सञ्चालन गर्न समेत समस्या हुन्छ ।’

५२९ जना विद्यार्थी अध्ययरत विद्यालयमा करिब २ सय जना खोला पारीबाट आउँछन् । विद्यालयमा शिक्षक भएको ९ वर्ष भइसक्दापनि विद्यार्थी र अभिभावकको समस्या ज्यूँकात्यूँ रहेको उनले पालिकाखबरलाई सुनाए । 

खोलाकै कारण विद्यार्थीको पढाइमा समेत नकरात्मक असर परेको उनको अनुभव छ । ‘बाढीले गर्दा तीन महिना मुस्किलैले मात्र विद्यार्थी विद्यालयमा आउँछन् । आएको दिनपनि पानीले भिजेर विजोग भएर आउँछन्,’ उनले भने, ‘सो क्षेत्रबाट आउने विद्यार्थीको नजितासमेत नाजुक छ । आन्तरिक परीक्षामा त उत्तीर्ण हुन्छन् । तर बाह्य रुपमा लिने परीक्षामा पास गर्न मुश्किल पर्छ ।’

विद्यार्थीको समस्या लिएर पटकपटक नगरपालिका, प्रदेश तथा सरोकारवाला निकायसँग गुहार माग्दा पनि कुनै सुनुवाई नभएको उनले गुनासो गरे । 

'खोलामा पुलको माग गरेर नगरपालिका गयौँ । सरोकारवाला निकायमा पनि धायौँ', उनले भने 'पूर्वप्रधानमन्त्रीसमक्ष पनि अरुको माध्यमबाट कुरो पठाएको छु । तर प्रत्यक्ष भेट भएको छैन । कहिलेसम्म पुल बन्छ थाहा छैन ।'

उनले वडा नम्बर ६ को मसिनजला गाउँमा माध्यमिकस्तरको सामुदायिक विद्यालय नभएकाले पनि विद्यार्थीले सो समस्या भोग्न बाध्य भएको बताए । ‘मसिनजलामा कक्षा ५ सम्म एउटा विद्यालय छ । ५ कक्षाा सम्म त्यहीँ पढ्छन्,’ उनले भने, ‘वडा नम्बर ६ मा एउटा माध्यमिक विद्यालय छ । तर त्यहाँ पनि खोला तरेर झनै लामो बाटो जानुपर्छ । त्यसैले बाध्य भएर यही विद्यालयमा पढ्न आउनु परेको छ ।’

पुल निर्माणको प्रयासमा छौँ : नगरप्रमुख 

परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले सो क्षेत्रमा पक्की पुल निर्माण गर्ने क्षमता पालिका सरकारसँग नभएको बताए । आफू सो क्षेत्रको समस्या र अवस्थाबारे जानकार रहेको उनले पालिकाखबरलाई सुनाए । 

‘मलाई आफ्नो भूगोल समस्याबारे पनि थाहा हुँदैन र ? यही हुर्किएँ । यहीँ बढेँ,’ उनले भने, ‘यहाँको बारेमा सबै थाहा छ । तर सो क्षेत्रमा पुल बनाउने क्षमता नगरपालिकाको छैन ।’  

मधेस र चुरे क्षेत्रमा पर्ने भएकाले भौगोलिक हिसाबले परशुराम नगरपालिका ठूलो र विकट रहेको उनले सुनाए । ‘चुरेको भूगोल भएकोले केही दुरीको अन्तरालमा खोला छ । अरु जिल्ला जोड्ने राजमार्गहरु छन्,’ उनले भने, ‘सो राजमार्गमा जोड्नका लागि हामीलाई कम्तिमा पनि २५ वटा पक्की पूलको आवश्यता पर्छ । सय वटा झोलुंगे पुल आवश्यक छ ।’

पालिकामा आवश्यक पक्की तथा झोलुंगे पुल निर्माणको लागि आफूहरु निर्वाचित भएदेखि प्रयास गर्दै आएको उनले सुनाए । चालू आर्थिक वर्ष २०८०/०८१ मा धेरै योजना समेटिएको र कार्यान्वयनको चरणमा रहेको उनले  बताए । 

उनका अनुसार शिव शंकर जस्तै अरु विद्यालय पनि खोला तरेर जानुपर्छ । ‘मसिनजला क्षेत्रमा महाकाली करिडोर निर्माण हुँदैछ । सो क्षेत्रमा दुई वटा पक्की पुल निर्माणको लागि रातोकिताबमा समेटिएको छ,’ उनले भने, ‘महाकाली करिडोर बन्यो भने एक दुई वर्षमा त्यहाँको समस्या समाधान हुन्छ ।’ 

पालिकाको क्षमताले मात्रै पुल बन्दैन

भूगोल ठूलो भएकाले सबै क्षेत्रमा पालिकाले मात्रै पुल बनाउन नसक्ने नगरप्रमुख जोशीको भनाइ छ । उनका अनुसार सो क्षेत्रमा पुल निर्माणको लागि संघ र प्रदेशको सहयोग आवश्यक छ । 

‘पालिकाको क्षमताले मात्रै पक्की पुल बन्दैन । हाम्रो पालिकाको बजेटले एउटा मात्रै पक्की पुल बनाउन सकिन्छ,’ उनले भने, ‘हामीले प्रदेश, संघ सरकार तथा अन्य निकायलाई भन्ने हो । कुरा त भइरहेको छ ।’ उनका अनुसार चालू आवमा पालिका क्षेत्रमा धेरै पुल निर्माणका योजनालाई रातोकितावमा समेटिएको छ । 

‘सो क्षेत्रमा मात्रै होइन अरु क्षेत्रमा पुल निर्माण गर्नलाई पनि समेटिएको छ । तर कार्यान्वयन हुन्छ की हुँदैन त्यो हेर्न बाँकी छ,’ उनले भने, ‘हामीले सक्दो कार्य गर्दै आएका छौँ । हाम्रो कार्यकालमा सकेसम्म असहज भएको क्षेत्रमा सहज बनाउने गरी काम गर्दै आएका छौँ । 

देउवा प्रधानमन्त्री भएर के भो ?

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गत मंसिरमा डडेलधुराबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २५ हजार ४३४ मतसहित सो क्षेत्रबाट निर्वाचित भएका थिए। देउवा हालसम्म पाचौँ पटक मुलुकको प्रधानमन्त्रीसमेत भइसकेका छन् ।

मतदाताको मतले जितेका देउवाले आफ्नो क्षेत्रको जनताको पीडालाई अझ बुझ्न सकेका छैनन् । जनताको अत्यावश्यक समस्या समेत उनले समाधान गर्न सकेका छैनन् । उनको जीवनमासमेत धेरै परिवर्तन आइसकेको छ । तर सो क्षेत्रको बालबालिका र अभिभावकमा भने त्यस्तो कुनै परिवर्तन आएको छैन ।

पूर्वप्रधानमन्त्री देउवाले पटक पटकको चुनावमा यी खोलामा मात्रै नभई नेपाल भारत जोड्ने महामाली नदिमा पुल बनाउने आश्वासन देखाउने तर निवार्चित भएको पाँच वर्षसम्म डडेलधुरा फर्केर नआउने आरोप स्थानीयको छ । 

 

‘सरकारले वैकल्पिक राजमार्ग त बनाउन सकेको छैन । झन पालिकाले एउटा गाउँबाट अर्को गाउँको विद्यालय जाने बाटो बनाउने कुरै छैन ।’

खोला पुल निर्माण गर्न नगरप्रमुखसँग अनुरोध गरेको दुई वर्षसम्म कुनै सुनुवाई नभएको स्थानीय बासिन्दाले बताए । स्थानीय सरकारले झोलुंगे पुल बनाउने आश्वासन दिएपनि केही नभएको गुनासो स्थानीयको छ ।

सो क्षेत्रमा पुल बनाउने प्रतिबद्धता जाहेर गरी चुनाव जितेपनि निर्वाचित जनप्रतिनिधिले कुनै सुनुवाई नगरेको स्थानीय बासिन्दा मन्जु दमाईले बताइन् । चुनावको समयमा पुल बनाउनका लागि समिति गठन गरेको थियो । ‘चुनाव सकियो तर पुल हालेनन्,’ उनले भनिन्, ‘खोलामा पुल नभएकाले हामी समस्यै समस्यामा बाँच्न बाध्य छौँ ।’

परशुराम नगरपालिकाका नगरप्रमुख जोशीले चालू आर्थिक वर्षमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सो क्षेत्रका लागि धेरै बजेट विनियोजन गरेको दावी गरे । ‘बजेट नआएको भन्ने होइन । बजेट धेरै आएको छ । एउटा सडकमा ३० करोड अर्कोमा ५० करोड बजेट आएको छ । ८/१० वटा पक्की पुलको बजेट आएको छ,’ उनले भने, ‘सो क्षेत्रमा पनि २ वटा पक्की पुलको लागि योजना आएको छ । तर कार्यान्वयन हुन बाँकी छ ।’ 

आफूहरु निर्वाचित भएकोे एक वर्षमै धेरै योजना समेटिएको उनले सुनाए । ‘पुल निर्माणको लागि बजेट र योजना छ । कार्यान्वयनमा कसरी लैजाने भन्ने कुरो हो । सकेसम्म चाँडै बनाउने छौँ ।’

विकल्पको लागि झोलुंगे पुल बन्ला त?

मसिनजला र अरु क्षेत्रमा पुल निर्माण हुनका लागि कम्तिमा दुई वर्ष लाग्ने नगरप्रमुख जोशीले बताए । सो अवधिमा स्थानीय बासिन्दाले वैकल्पिक बाटो पाउँछन् त मेयर'साब भनेर पालिकाखबरले प्रश्न गर्दा उनले भने, ‘सरकारले वैकल्पिक राजमार्ग त बनाउन सकेको छैन । झन पालिकाले एउटा गाउँबाट अर्को गाउँको विद्यालय जाने बाटो बनाउने कुरै छैन ।’

भएकै बाटोमा झोलुंगे पुल, पक्की पुल बनाउने उनले बताए ।  नगरपालिकाको भूगोल धेरै ठूलो भएकाले धेरै समस्या भएको उनले सुनाए । ‘एरिया ठूलो नभएको भए धेरै समस्या हुने थिएन । अरु विकल्प पनि ल्याउन सकिन्थ्यो । तर गाउँदेखि स्कूल जोड्ने भनेको एउटै विकल्प हो,’ उनले भने । 

पालिकाको शैक्षिक संस्था

नगरपालिकाभित्र सञ्चालनमा रहेको अन्य सामुदायिक विद्यालयको अवस्था पनि उस्तै छ । अधिकांश विद्यालयमा शिक्षक दरबन्दी समेत अपुग छ । कक्षा १२ सम्म अध्यापन हुने शिव शंकर माध्यमिक विद्यालयमा सरकारी दरबन्दी कोटामा ३ जना मात्रै शिक्षक कार्यरत छन् । 

विद्यालयका प्रधानाध्यापक केशवराज अवस्थीका अनुसार अपुग शिक्षक आन्तरिक स्रोतमार्फत व्यवस्थापन गरिँदै आएको छ । ‘निजी स्रोतबाट पदपूर्ती गरेको शिक्षकको तलब सामुदायिक वनबाट व्यवस्थापन हुँदै आएको थियो । तर गत भदौदेखि सो वनले तलव दिन छाडेको छ,’ उनले भने, ‘शैक्षिक नतिजा पनि सन्तोषजनक छैन ।’

‘यो वर्ष एसईईको नतिजा राम्रो छ । करिब २० जना भन्दा बढी विद्यार्थीले 'सि प्लस ग्रेड' ल्याएका छन् । छुट्टै नयाँ योजना पनि ल्याएका छौँ । अब शिक्षामा गुणस्तर सुधार गर्ने कार्य गर्दै छाैँ,’ उनले भने, ‘केही बाहेक अधिकांश विद्यालयको भवन निर्माण गरिसकेका छौँ । भौतिक पूर्वाधारको समस्या छैन । आगामी वर्षमा राम्रो नतिजा आउने छ ।’

उनले शिक्षकको अवस्था नै नाजुक भएकाले विद्यार्थीलाई केही सहयोग गर्न नसकेको बताए । नगरपालिकाले समयसमयमा दिने छात्रवृत्ति मात्रै विद्यार्थीले पाउने सहयोग रहेकाे उनले सुनाए । 

नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले नगरभित्रको शैक्षिक सुधारको लागि विभिन्न नीति ल्याएको र सोही अनुरुप कार्य भइरहेको बताए । 'पालिकाको शैक्षिक अवस्थामा म आफैँ सन्तुष्ट छैन,' उनले भने । तर, विगतको तुलनामा शैक्षिक अवस्थामा केही सुधार हुँदै आएको उनले बताए । 

‘यो वर्ष एसईईको नतिजा राम्रो छ । करिब २० जना भन्दा बढी विद्यार्थीले 'सि प्लस ग्रेड' ल्याएका छन् । छुट्टै नयाँ योजना पनि ल्याएका छौँ । अब शिक्षामा गुणस्तर सुधार गर्ने कार्य गर्दै छाैँ,’ उनले भने, ‘केही बाहेक अधिकांश विद्यालयको भवन निर्माण गरिसकेका छौँ । भौतिक पूर्वाधारको समस्या छैन । आगामी वर्षमा राम्रो नतिजा आउने छ ।’ उनका अनुसार नगरपालिकाभित्र ६३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

सरकारले दिएको दरबन्दी अपुग भएकोले नगरपालिकाले स्वयंसेवक शिक्षक पदपूर्ती गरेको उनले बताए । ‘विद्यालय समायोजन गर्ने नीति लिएका छौँ । आवश्यकताभन्दा बढि विद्यालयको समायोजन गर्ने छौँ,’ उनले भने, ‘समायोजनबाट पनि शिक्षकको दरबन्दी मिलान हुनेछ ।’

विद्यालय समायोजन गर्न नगरपालिकाले समिति निर्माण गरी कार्य गर्दै आएको उनले बताए । आगामी वैशाखदेखि विद्यालय समायोजन कार्यान्वयनमा आउने उनले सुनाए ।