close

बरियारपट्टीमा शिक्षालाई प्राथमिकता: नमुना विद्यालयदेखि कलेज सञ्चालन गर्नेसम्मको योजना

आधारभूत तहमा अंग्रेजी माध्यमबाट र डिजिटलबाट कक्षा सञ्चालन गर्ने तथा उच्च शिक्षाको लागि पालिकाभित्रै कलेज सञ्चालन गर्ने योजना गाउँपालिकाको छ ।

बरियारपट्टीमा शिक्षालाई प्राथमिकता: नमुना विद्यालयदेखि कलेज सञ्चालन गर्नेसम्मको योजना

आधारभूत तहमा अंग्रेजी माध्यमबाट र डिजिटलबाट कक्षा सञ्चालन गर्ने तथा उच्च शिक्षाको लागि पालिकाभित्रै कलेज सञ्चालन गर्ने योजना गाउँपालिकाको छ ।

Trulli
ADVERTISEMENT

 सिराहा - बरियारपट्टी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ देखि आधारभूत तहमा आधुनिक प्रविधिमार्फत कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले कक्षा १ देखि ३ सम्म डिजिटल प्रणालीको प्रयोग गरी कक्षाा सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप डिजिटल प्रविधिमार्फत कक्षा सञ्चालन गर्न लागेको हो । सोका लागि आवश्यक तयारी गरिने उनले पालिकाखबरलाई बताए । 

उनले चालू आर्थिक वर्षमा शैक्षिक सुधारको लागि सानादेखि ठूलो कक्षासम्मको लागि आवश्यक नीति बनाएको बताए । उनका अनुसार आधारभूत तहमा अंग्रेजी माध्यमबाट र डिजिटलबाट कक्षा सञ्चालन गर्ने तथा उच्च शिक्षाको लागि पालिकाभित्रै कलेज सञ्चालन गर्ने योजना गाउँपालिकाको छ ।


चालू आवमा गाउँपालिकाले अन्य क्षेत्रको तुलनामा शिक्षालाई बढी प्राथमिकता राखेको उनले बताए । ‘यो वर्ष शिक्षालाई बढी प्राथमिकतामा राखिएको छ । शिक्षाको सुधारको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने छ,’ उनले भने ।

गाउँपालिकामा सञ्चालित २३ वटा सामुदायिक विद्यालयमा शिक्षक अभाव भएको उनले बताए । शिक्षकको पदपूर्ती गर्नको लागि ३० जना विषयगत स्वयम्सेवक शिक्षक खुल्ला प्रतिस्प्रर्धामार्फत छनौट गरिने उनले सुनाए । ‘३० जना स्वयम्सेवक शिक्षकको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौँ,’ उनले भने । हाल दरबन्दी शिक्षकबाट नै जसाेतसाे कक्षा सञ्चालन भइरहेकाे उनले सुनाए ।
 
गाउँपालिकामा सञ्चालित दुई माध्यमिकस्तरको सामुदायिक विद्यालयलाई संघ र प्रदेश सरकारले 'नमुना विद्यालय' घोषणा गरेको उनले सुनाए । गाउँपालिकाले चालू आवमा १७ वटा आधारभूत विद्यालयमध्येबाट एउटालाई 'नमुना विद्यालय' घोषणा गर्ने लक्ष्य लिएकाे उनले जानकारी दिए ।

‘आधारभूत विद्यालयमध्येबाट एउटा विद्यालयलाई नमुना विद्यालय घोषणा गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘नमुना विद्यालयको लागि भौतिक संरचना, शैक्षिक सामग्रीको व्यवस्थापन गर्नुका साथै शैक्षिक क्रियाकलापमा पनि जोड दिइने छ ।’

उनले आधारभूत तहमा अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्नको लागि शिक्षकहरुलाई आवश्यक तालिम दिने बताए । गाउँपालिकाभित्र उच्च शिक्षाको व्यवस्था गर्नको लागि कलेज सञ्चालन गरिने उनले पालिकाखबरलाई बताए । कलेज सञ्चालनको लागि त्रिभूवन विश्वविद्यालय तथा अन्यसँग सम्बन्धनको लागि माग गर्दै आएको अध्यक्ष महतोले बताए ।

सम्बन्धन दिएसँगै हाल पालिकाभित्रको एउटा विद्यालयबाट कक्षा सञ्चालन गर्ने उनले बताए । कलेजको लागि दुई विघा जग्गा खरिद गरी भौतिक संरचना निर्माण गर्ने उनकाे भनाइ छ ।

‘तत्काल सम्बन्धन दिएमा विद्यालयमा कलेजको कक्षा सञ्चालन गरिने छ । कलेजको लागि २ विघा जग्गा खरिद गर्ने छौँ । जग्गा खरिद गर्नका लागि आवश्यक तयारी भइरहेकाे छ’ उनले भने, ‘सोही जग्गामा कलेजको लागि आवश्यक पूर्वाधार निर्माण गरी कक्षा सञ्चालन गरिने छ ।’ उनले कलेज सञ्चालन गर्नको लागि चालू आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । 

उनले चालू आवदेखि पालिकाभित्रको सबै विद्यालयमा स्थानीय  पाठ्यक्रम लागू गरिने बताए । कार्यान्वयन गर्नको लागि पाठ्यक्रमको दस्तावेज निर्माण भइसकेको तर छपाई बाँकी रहेको उनले सुनाए । छपाई कार्य सकिएसँगै सबै विद्यालयमा लागू हुने उनले बताए ।