close

बालकको त्यो भाइरल पत्र, जसले दिवा खाजा दिनैपर्ने अवस्था बनायो

गलकोट - ८ को शिव माध्यमिक विद्यालयमा अध्ययरत महिम चालिसे कक्षा ६ मा दिवा खाजाको माग गर्दै नगरप्रमुख भरत शर्मालाई पत्र लेखेका थिए । सोही पत्रको मागलाई सम्बोधन गर्दै गलकोटको कार्यपालिकाले बैठकले दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजा पाएपछि उनै विद्यार्थीले नगरप्रमुख शर्मालाई पुनः धन्यवाद दिएका छन् ।

बालकको त्यो भाइरल पत्र, जसले दिवा खाजा दिनैपर्ने अवस्था बनायो

गलकोट - ८ को शिव माध्यमिक विद्यालयमा अध्ययरत महिम चालिसे कक्षा ६ मा दिवा खाजाको माग गर्दै नगरप्रमुख भरत शर्मालाई पत्र लेखेका थिए । सोही पत्रको मागलाई सम्बोधन गर्दै गलकोटको कार्यपालिकाले बैठकले दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजा पाएपछि उनै विद्यार्थीले नगरप्रमुख शर्मालाई पुनः धन्यवाद दिएका छन् ।

Trulli
शिव माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययरत महिम चालिसे
ADVERTISEMENT

बागलुङ - गलकोट नगरपालिकालाई कक्षा ६ मा अध्ययरत विद्यार्थीले धन्यवाद ज्ञापन गरेका छन् । नगरपालिकाले कक्षा ६ मा अध्ययरत विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेसँगै विद्यार्थीले नगरप्रमुखलाई सम्बोधन गरी धन्यवाद ज्ञापन गरेका हुन्। 

नगरपालिकाको वडा नम्बर ८ स्थित श्री शिव माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययरत महिम चालिसेले गत साउनमा नगरप्रमुखलाई सम्बोधन गरी दिवा खाजाको मागसहितको पत्र लेखेका थिए । उनको सो पत्र सामाजिक सञ्जालमा भाइरल हुनुका साथै पालिकाखबर डटकमबाट पनि समाचार सम्प्रेषण भएको थियो । 

सो पत्रमार्फत दिवा खाजाबारे ध्यानाकर्षण भएको नगरप्रमुख भरत शर्माले पालिकाखबरलाई बताएका थिए । सोही विषयमा भदौँ १३ गते बसेको कार्यपालिकाको २२औँ बैठकले ६ कक्षामा अध्ययरत विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख शर्माले पालिकाखबरलाई बताए ।

खाजाको व्यवस्था भएसँगै नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थी चालिसेले गत शुक्रबार पत्र लेखेका छन् । उनले सो पत्रमा लेखेका छन्, ‘हुन त यहाँहरुले दिवा खाजा उपलब्ध गराउने सोच गर्नु भएकै थियो होला तर मलाई आदरणीय नगरप्रमुख ज्यू तथा कार्यपालिका सदस्यहरुले बालबालिकाको आग्रहलाई सकारात्मक रुपमा लिइदिनु भयो र कलिला बालबालिकाको मागलाई सम्बोधन गरिदिनु भयो भन्ने लागेको छ । गलकोट नगरपालिका भर्खरै मात्रै नगर बालमैत्री घोषणा भएको अवस्थामा यहाँहरुले बालबालिकालाई गर्नु भएको यो निर्णयप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै अन्य स्थानीय सरकारलाई यही लागू गर्न सहयोग मिल्ने आशा गरेको छु ।’ 

उनले पालिकाभित्रका जनप्रतिनिधि सदैव बालबालिकाका हित र पक्षमा सधैँ आशामा रहेको उनले सो पत्रमार्फत व्यक्त गरेका छन् । 

नगरप्रमुख भरत शर्माले वैकल्पिक स्रोतको खोजी गरी चालू आर्थिक  वर्षमा कक्षा ६ का विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको जानकारी दिए । उनले भने, ‘केन्द्र सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएको अनुभूति भयो । स्थानीय सरकार प्रत्यक्ष सरोकार राख्दै गर्दा एक जना विद्यार्थीको मर्मस्पर्शी पत्र सामाजिक सञ्जालमा प्राप्त भयो ।’

गलकोटलाई गत आवको जेठ १३ गते स्थानीय बालमैत्री शासन घोषणा गरिसकेको छ । बालमैत्री स्थानीय शासनलाई दीगो बनाउनका लागि नगरपालिकाले केही बजेट विनियोजन गरेको र सोही कार्यक्रममार्फत दिवा खाजाको व्यवस्था गरेको उनले सुनाए । नेपाल सरकारबाट कक्षा ६ मा दिने खाजा भत्ता कटौती भइसकेपछि स्थानीय सरकारले सो व्यवस्था गर्नको लागि कार्यपालिका बैठकले निर्णय गरेर कार्यान्वयन गरेको उनले बताए । 

नगरपालिकाले दिवा खाजाको लागि प्रतिविद्यार्थी १५ रुपैयाँको दरले  करिब १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनको भनाइ छ । ‘अपुग बजेट आगामी पुसमा हुने नगरसभाबाट वैकल्पिक स्रोतबाट बजेट विनियोजन गरिने छ,’ उनले भने, ‘शिक्षा शाखासँग समन्वय गर्दा सो रकम आवश्यक पर्ने हुनाले साउन महिनादेखि दिवा खाजा  कार्यान्वयनमा ल्याएको छ ।’

पालिकाभित्र सञ्चालित ६५ सामुदायिक विद्यालयमा करिब ७०० विद्यार्थी अध्ययरत छन् । 

उनले सरकारले ‘पपुलर’का लागि ल्याएको कार्यक्रमले नागरिक मारमा परेको बताए । ‘सरकारले दिइरहेको सुविधा कटौती गर्नु अप्ठ्यारो विषय हो,’ उनले भने, ‘केन्द्रीय सरकारले आफ्नो हैसियतको आंकलन नगरी ‘पपुलर’ किसिमको बजेट ल्याउने तर कार्यान्वयन नगर्नु सरकारप्रति नागरिकले हेर्ने दृष्टिकोण र विश्वसनीयतामा संकट आउँछ ।’