close

फिदिम नगरपालिकाले लियो ४० बालबालिकाको अभिभावकत्व

फिदिम नगरपालिकाले लियो ४० बालबालिकाको अभिभावकत्व

Trulli
ADVERTISEMENT

पाँचथर– फिदिम नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई आवाससहित निःशुल्क शिक्षा प्रदान गरिरहेको छ । नगरपालिकाले कोष स्थापना गरेर अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवास र शिक्षा उपलब्ध गराइरहेको हो । 

वडा नं ४ स्थित जागृति आधारभूत विद्यालयमा अभिभावकविहीन ४० जना विद्यार्थीलाई पढाइरहेको नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले पालिकाखबरलाई बताए । ‘बालिकालाई किताब, कापी, कपडा, खाना सबैको व्यवस्था गछौँ । उनीहरूको लागि सुविधा सम्पन्न आवासको समेत व्यवस्था गरेका छौँ,’ उनले पालिकाखबरसँग भने । हाल कक्षा ८ सम्मका बालबालिकाको सम्पूर्ण जिम्मेवारी लिएको बताउँदै उनले बिस्तारै माध्यमिक तहसम्म पढ्ने व्यवस्था मिलाइने बताए । 

अति विपन्न परिवारका अभिभावक भएका बालबालिका, सडक बालबालिका तथा अभिभावकविहीन बालबालिकालाई पालिकाले आवाससहितको शिक्षा प्रदान गरिरहेको नगरप्रमुख काफ्लेले बताए । संघीय सशर्त अनुदानबाट पालिकामा सुस्त मनस्थिति भएका बालबालिकाका लागि विद्यालय स्थापना गर्ने योजना समेत रहेको उनले जानकारी दिए ।