close

‘विकासमा खर्च गर्नुपर्ने पैसाले शिक्षक पाल्नु परेको छ’

‘विकासमा खर्च गर्नुपर्ने पैसाले शिक्षक पाल्नु परेको छ’

Trulli
ADVERTISEMENT

हुम्ला- ताँजाकोट गाउँपालिकामा विद्यार्थीको संख्यानुसार र विषयगत शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । ताँजाकोट गाउँपालिकाभर ४ वटा माध्यमिक विद्यालय सञ्चालनमा छन् तर ती विद्यालयहरूमा जम्मा २ जना मावि तहका शिक्षक कार्यरत रहेका गाउँपालिकाको शिक्षा शाखा प्रखुख जयरुद्र ढकालले पालिकाखबरलाई बताए । 

गाउँपालिकामा ४ माध्यमिक र १३ आधारभूत गरी १७ वटा विद्यालय सञ्चालनमा छन् । ती विद्यालयहरूमा २ हजार ६१८ जना विद्यार्थीहरू अध्ययनरत छन् । तर राहतसहित ५१ जना शिक्षकमात्र कार्यरत रहँदा समस्या भएको शिक्षा शाखा प्रमुख  ढकालको भनाइ छ । यसले शैक्षिक गुणस्तरमा धेरै प्रभाव राख्ने गाउँपालिकाले जनाएको छ । 

शिक्षा नियमावली २०५९ अनुसार प्रत्येक माविमा ६ जनाको दरबन्दी हुने व्यवस्था छ तर ताँजाकोटका लागि त्यो व्यवस्था कागजमामात्र सीमित रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार पालिकामा विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षक अभाव छ । 

गाउँपालिकामा दरबन्दीअनुसारका शिक्षक अभाव भएपछि पालिकाले वार्षिक २ करोडभन्दा बढी रकम अनुदानका शिक्षकका लागि खर्च गरिरहेको छ । गाउँपालिकाले विषयगत शिक्षकको व्यवस्था पालिकाको अनुदानबाट व्यवस्था गरेको छ । पालिकाको अनुदानमा ४६ जना शिक्षक कार्यरत छन् । शिक्षा शाखा प्रमुख ढकालले पालिकाखबरसँग भने,-‘विकासमा खर्च गर्नुपर्ने पैसाले शिक्षक पाल्नु परेको छ ।’