close

बाल विकास शिक्षकहरूको तलबमा ५ हजार ३०० रुपैयाँ थप

बाल विकास शिक्षकहरूको तलबमा ५ हजार ३०० रुपैयाँ थप

Trulli
ADVERTISEMENT

इलाम– माई नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को लागि शैक्षिक क्षेत्रको सुधारका लागि करिब २ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । नगरपालिकाको शिक्षा शाखाको लागि २ करोड ४४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । 

यस आवमा नगरपालिकाले शैक्षिक सुधारको लागि हालसम्म कुनै पनि तालिम प्राप्त नगरेका शिक्षकहरुलाई प्रथम चरणको टीपीडी तालिम प्रदान गर्ने कार्यक्रम ल्याइएको शिक्षा अधिकृत सीता देवी लावतीले बताइन् । यसबाहेक अन्य सामान्य किसिमको क्षमता अभिवृद्धिको तालिमको व्यवस्था गरिएको उनले पालिकाखबरलाई जानकारी दिइन् ।

यस्तै नगरपालिकाले सरकारले दिने तलबमा मासिक ५ हजार ३०० सय रुपैयाँ थप गरेर बाल विकास शिक्षकहरुलाई तलब उपलब्ध गराएको उनले बताइन् । उनले भनिन्, ‘विद्यालयका सहायक कर्मचारीलाई जति तलब छ त्यसमा थप गरेर न्युनतम १७ हजार ३०० रुपैयाँ उपलब्ध गराउँछौँ ।’

उता नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि नै स्थानीय पाठ्यक्रम तयार गरेर कक्षा ८ सम्म पढाइरहेको छ । ‘विद्यार्थीहरूको किताब नै हेरेर पढ्ने बानी छ । त्यसैले पाठ्यपुस्तक तयारीको काम गरिरहेका छौँ,’ शिक्षा शाखा अधिकृत लावतीले भनिन् । उनको अनुसार कक्षा ४, ५ र ८ को लागि  ‘हाम्रो माई नगर’ नामक पाठ्यपुस्तक तयार भएर छाप्ने काम बाँकी छ । कक्षा ५ र ६ को पाठ्यपुस्तक निर्माणको लागि लेखन काम यस आवमा सुरु गर्ने निर्णय भएको उनले बताइन्।