close

मार्माको शैक्षिक नीति : बाल विकास केन्द्रदेखि शिक्षकको संख्यामा थप

मार्माको शैक्षिक नीति : बाल विकास केन्द्रदेखि शिक्षकको संख्यामा थप

Trulli
ADVERTISEMENT

दार्चुला– मार्मा गाउँपालिकाले बाल विकास केन्द्रको संख्या बढाएको छ । गाउँपालिकाले विद्यार्थीको सहजताको लागि दुई वटा केन्द्र थप गरेको हो । 

गाउँपालिकाको शिक्षा शाखा अधिकृत राजेन्द्र जोशीका अनुसार पालिकाको भौगोलिक विकटता र असुरक्षित बाटोले पढाई छोड्ने समस्या बढेकाले केन्द्रको संख्यामा थप गरेको हो । गाउँपालिकामा २६ वटा संघीय सरकार, ८ वटा स्थानीय सरकार र २ वटा थप गरी हाल ४६ वटा केन्द्र सञ्चालनमा रहेको उनले पालिकाखबरलाई बताए । 

 उनका अनुसार ४६ वटा सामुदायिक विद्यालय (आधारभूत तह १ देखि ३ सम्म १२ वटा विद्यालय, आधारभूत तह कक्षा १ देखि ५ सम्म २१ वटा विद्यालय, आधारभूत तह कक्षा १ देखि ८ सम्म ६ वटा माध्यामिक तह, कक्षा १ देखि १० सम्म ४ वटा र माध्यामिक तह कक्षा १ देखि १२ कक्षासम्म ३ वटा) सञ्चालनमा रहेका छन् । 

‘गाउँपालिकामा शिक्षक दरबन्दी अभाव भएका विद्यालयमा सिकाइ सहजीकरणका लागि ८३ जना स्वयम सेवक परिचालन गरेका छौँ,’ उनले भने, ‘सबै विद्यालयमा कार्यरत शिक्षकको दरवन्दी १३९ वटा छन् ।’ उनका अनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्न वार्षिक शैक्षिक क्यालेन्डर निमार्ण गरी कार्यान्वयन गरिएको छ र शिक्षक क्षमता विकासका लागि समय समयमा मागमा आधारित, सूचना प्रविधिमा आधारित तालिमहरु सञ्चालन गरेको पालिका खबरलाई बताए ।

विद्यालयलाई अझै राम्रो बनाउन व्यवस्थापन समितिको क्षमता विकासका लागि कार्यक्रम आयोजना गरेको उनले बताए । उनले भने, 'विद्यालयको समग्र विकासको लागि क्रमिक रुपमा पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर स्थापनासमेत गरेका छौँ ।’

उनका अनुसार बालमैत्री भौतिक पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रत्यायोजन गरेका अधिकारको परिधिभित्र रहेर स्थानीय शिक्षा ऐन, नियमावली र शैक्षिक क्षेत्र सुधार कार्यविधि निमार्ण गरी कार्यान्वयनमा ल्याएको उनले बताए ।

‘अभिभावक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेका छौँ । आगामी रणनीतिहरुमा नमूना माध्यमिक विकासका लागि संघिय सरकारसंग पहल गर्ने छौँ,’ उनले भने, ‘प्राविधिकधारको माध्यामिक विद्यालय सञ्चालनको लागि नेपाल सरकारसंग पहल गरेर शैक्षिक गुणस्तर सुधारमा आमसरोकारवालालाई थप जागरुक गर्ने छौँ ।’