close

शिक्षा ऐनको आठौँ संशोधनले चिन्दैन चिचिला गाउँपालिका

शिक्षा ऐनको आठौँ संशोधनले चिन्दैन चिचिला गाउँपालिका

Trulli
ADVERTISEMENT

संखुवासभा– सरकारले विद्यालय तहको संरचना परिवर्तन गरी कक्षा ११ र १२ लाई माध्यमिक शिक्षामा राखेको छ । माध्यमिक तह भएपछि गाउँमै पढ्न नपाए पनि विद्यालय नजिकै हुनुपर्ने हो तर चिचिला गाउँपालिकामा कक्षा ११ र १२ पढाइ हुने एउटा पनि स्कुल नहुँदा यहाँका विद्यार्थीहरू मारमा परेका छन् ।

कक्षा १० सम्म पढाइ हुने विद्यालयमा पनि विद्यार्थी न्यून हुँदा कक्षा ११ र १२ थप्न जटिल भएको गाउँपालिकाले जनाएको छ । ‘गाउँपालिकाको भौगोलिक अवस्था पनि एकदमै जटिल छ । एउटा विद्यालयबाट एसईई पास हुने विद्यार्थी पनि मुश्किलले २० जना हुन्छन् ।विद्यालय थप्न यहाँ विद्यार्थीहरू पनि थोरै छन्,’ गाउँपालिकाका शिक्षा शाखा प्रमुख बासु कोइरालाले भने । कक्षा ११, १२ वा सो भन्दा माथि अध्ययन गर्न विद्यार्थीहरु सदरमुकाममा जाने गरेको उनले पालिकाखबरलाई सुनाए । 

पालिकामा कक्षा १० सम्म पढाइ हुने ३ वटा माध्यमिक विद्यालय, कक्षा १ देखि ८ सम्मका ३ वटा र कक्षा १ देखि ५ सम्मका १३ वटा आधारभूत विद्यालय गरी २० वटा विद्यालय छन् । कक्षा ८ देखि १० सम्म पढाउने शिक्षकको अभाव रहेकाले गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गरेर शिक्षकको व्यवस्था गरेको उनले जानकारी दिए । ‘पालिकामा कक्षा १२ सम्म पढाइ हुने विद्यालय ल्याउने विषयमा केही छलफल चलिरहेका छन्,’ उनले भने । 

शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको आठौँ संशोधनको दफा ३ को उपदफा १ (ख)मा भनिएको छ,‘आधारभूत शिक्षा भन्नाले प्रारम्भिक बाल कक्षादेखि कक्षा ८ सम्म दिइने शिक्षा सम्झनुपर्छ।’ भनी उल्लेख गरेको छ । त्यस्तै, ऐनको दफा ३ को उपदफा २(ख) मा माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्म भनेर उल्लेख गरेको छ ।