close

संस्थासँगको साझेदारीमा शैक्षिक सुधारका कार्यक्रम गर्दै पाँचखपन नगरपालिका

संस्थासँगको साझेदारीमा शैक्षिक सुधारका कार्यक्रम गर्दै पाँचखपन नगरपालिका

Trulli
ADVERTISEMENT

संखुवासभा– पाँचखपन नगरपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा शैक्षिक सुधारको काम गरिरहेको छ । नगरपालिकाले विद्यालयको भौतिक, शैक्षिक क्षेत्रको सुधारको लागि साझेदारीमा काम गरेको हो । 

नगरपालिकाले युनाइटेड वर्ल्ड स्कुल संस्था र  गोरखा वेलफेयर ट्रस्टको सहयोगमा नगरपालिकाको विभिन्न विद्यालयमा शैक्षिक सुधारका काम गरिरहेको शिक्षा शाखा प्रमुख इन्द्र बहादुर कार्कीले बताए । उनको अनुसार युनाइटेड वर्ल्ड स्कुल संस्थाले विद्यालयको शैक्षिक गतिविधिको निगरानी गर्ने,  भौतिक संरचना निर्माण,  शैक्षिक गुणस्तरीयताको लागि काम गर्छ ।

‘विद्यालय भवन, खानेपानी, शौचालय निर्माण संस्थाले नै गर्छ । मासिक रुपमा अनुगमन गर्ने, शिक्षकहरुलाई समयसमयमा तालिमको आयोजना गर्ने गर्छ ।’ पालिकाभित्रको ६ वटा विद्यालयमा उक्त संस्थाले तीन वर्षसम्म शैक्षिक सुधारको काम आफ्नै खर्चबाट सञ्चालन गर्ने उनले बताए । 

ती विद्यालयमा आवश्यक शिक्षकहरुको नियुक्ति भने नगरपालिकाले संस्थासँग ५० प्रतिशत साझेदारीमा गर्ने गरेको छ । यस्तै, गोरखा वेलफेयर ट्रस्टले विद्यालयको भवन मर्मत, सरसफाई र खानेपानीको व्यवस्था मिलाइरहेको शिक्षा शाखा प्रमुख कार्कीले बताए । ट्रस्टले सञ्चालन गर्ने कार्यक्रममा प्राविधिक पक्ष नगरपालिकाले र आर्थिक पक्ष ट्रस्ट स्वयंमले गर्ने उनले बताए । 

यस्तै नगरपालिकाले पालिकाभित्र रहेका विद्यालयमा अपुग भएका शिक्षक राख्न तथा आधारभुत तथा माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था मिलाएको र शिक्षकको तलबको लागि बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई बताए । चालु आर्थिक वर्ष २०८०/०८१ मा पालिकाले शैक्षिक सुधार र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको शाखा प्रमुख कार्कीले बताए । 

‘हालसम्म स्थानीय पाठ्यक्रम निर्माण भएको छैन । संखुवासभाका प्रायः सबै स्थानीय तह स्थानीय पाठ्यक्रम बनाउँदै छन् । यस आर्थिक वर्षमा स्थानीय पाठ्यक्रम निर्माणको कामलाई निरन्तरता दिँदै छौँ,’ उनले भने । 

पालिकामा ४० सामुदायिक विद्यालय र एक नीजि विद्यालय गरेर ४१ वटा विद्यालय छन् । जसमध्ये १० वटा माध्यमिक विद्यालय, ८ ओटा कक्षा ८ सम्म अध्यापन हुने आधारभुत विद्यालय र बाँकी कक्षा ५ सम्मका विद्यालय रहेका छन् । नगरपालिकाको कुल बजेटमध्ये ३ करोड रुपैयाँ शैक्षिक क्षेत्रको लागि विनियोजन भएको उनले जानकारी दिए ।