close

विद्यालयमा खानेपानीको सुविधा नभएपछि आफैं ओसारेर पिउछन् विद्यार्थी

विद्यालयमा खानेपानीको सुविधा नभएपछि आफैं ओसारेर पिउछन् विद्यार्थी

Trulli
ADVERTISEMENT

काठमाडौं– स्वच्छ खानेपानी मानिसहरूको आधारभूत आवश्यकता हो । त्यसैले खानेपानी तथा सरसफाइ ऐन २०७९ ले पनि प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको अधिकार सुनिश्चित गरेको छ । 

तर, नेपालका धेरै यस्ता स्थानीय तह छन् । जहाँ स्वच्छ पिउने पानी त परको कुरा, प्यास मेटाउने पानीसमेत छैन । विद्यालयमा खानेपानीको अभाव रहेकाे स्थानीय तहमध्ये एक हो, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका । गाउँपालिकाका अधिकांश विद्यालयमा खानेपानीको अभाव छ । पालिकामा ४६ वटा विद्यालयमध्ये ८० प्रतिशत विद्यालयमा खानेपानीको सुविधा छैन । 

गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेमकुमार पुरीका अनुसार पालिकाका अधिकांश बस्तीमै खानेपानीको हाहाकार छ । पूरै गाउँपालिकाभरि नै पानीको समस्या रहेको उनी पालिकाखबरसँग बताउँछन् । उनका अनुसार नेपाल सरकारको तर्फबाट पालिकामा खानेपानीका लागि अहिलेसम्म कुनै प्रोजेक्ट आएका छैनन् । ‘केही एनजिओ, आइएनजिओले खानेपानीको क्षेत्रमा काम गर्ने प्रस्ताव आएको थियो । तर, ती संस्थाहरूले पनि सक्रिय भएर काम गर्न सकेनन्,’ उनी भन्छन् । 

पालिकाभित्रका केही विद्यालयले आफ्नै आन्तरिक स्रोतबाट खानेपानीको व्यवस्था गरेका छन् । बाँकी विद्यालयमा धारासहित शुद्ध पानीको सुविधा नहुँदा समस्या छ । उनको अनुसार खानेपानीको सुविधा नभएका विद्यालयमा अध्ययनरत बालबालिकाहरूले पानीको मुहानदेखि जारमा बोकेर पानी विद्यालयसम्म लगेर प्रयोग गर्छन्  ।

दैलेखको नारायण नगरपालिकामा पनि विद्यालयमा खानेपानी नहुनु नौलो कुरा होइन । ३९ वटा विद्यालय रहेको नगरपालिकामा  १० ओटा विद्यालयमा खानेपानीको अभाव रहेको शिक्षा शाखाका प्रमुख पूर्णप्रसाद उपाध्याय बताउँछन् । उनको अनुसार ती विद्यालय भौगोलिक विकटता रहेको क्षेत्रमा खानेपानीको समस्या भएको हो । 

त्यस्ता विद्यालयमा नजिकको मुहानबाट पानी लगेर पिउने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘कार्यालय सहयोगीले भ्याएमा पानी उहाँहरुले नै ल्याउनुहुन्छ । उहाँहरु कार्यालयको काममा व्यस्त भएको बेलामा विद्यार्थी आफैले खानेपानी ओसार्छन् ।’ खानेपानीको समस्या समाधानको लागि गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा पाइपलाइन बनाइरहेको उनको भनाइ छ । 

अछामको पंचदेवल विनायक नगरपालिकाभित्रका विद्यालयमा भने खानेपानीको समस्या न्यून रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख डम्बरबहादुर थापा बताउँछन् । विद्यालयमा खानेपानीको समस्या रहेको क्षेत्रमा गैरसरकारी संस्थासँग सम्झौता गरेर समस्या समाधानको प्रयास गरेको उनले जानकारी दिए ।

उनी भन्छन्, ‘आइबिएस नेपाल संस्थासँग नगरपालिकाले सम्झौता गरेको छ । संस्थाले नै पालिकाभित्रका धेरैवटा विद्यालयमा बालमैत्री धारा सहित स्वच्छ खानेपानी, सुरक्षित भान्साघर निर्माण, सरसफाइको काम गरिरहेको छ ।’ 

उनको अनुसार नगरपालिकाको वडा नं ४ मा अन्य वडाको तुलनामा विद्यालय सङ्ख्या धेरै छ । त्यस क्षेत्रका विद्यालयमा खानेपानीको समस्या रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘त्यहाँ पनि खानेपानीको मुहान नजिकै छन् । अधिकांश विद्यालय खानेपानीको पहुँचमा छन् ।’

कैलालीको जानकी गाउँपालिकाका विद्यालयमा पानीको समस्या नभएको शिक्षा शाखाको प्रमुख धर्मानन्द कपाडी बताउँछन् । उनको अनुसार पालिकामा नलबाट निकालिएको पानीको प्रयोग हुने भएकाले कुनै पनि विद्यालयमा पानीको अभाव छैन । 

तर, स्वच्छ पानीको भने सुविधा प्रायः विद्यालयमा नरहेको उनको भनाइ छ । ‘गाउँपालिकाभित्र ३० वटा विद्यालय छन् । १० वटामा मात्र फिल्टर गरेको स्वच्छ पानी उपलब्ध छ,’ अन्य २० वटा विद्यालयमा नलको पानी सिँधै बालबालिकाले पिउने गरेको उनले बताए । स्वच्छ खानेपानी उपलब्ध भएका विद्यालयमा पनि खानेपानीसम्बन्धी संस्थाले पानी शुद्धीकरणको सामाग्री उपलब्ध गराएको उनको भनाइ छ । 

गाउँपालिकाले दुईतीन वर्षमा सबै विद्यालयमा स्वच्छ पिउने पानी उपलब्ध गराउने उनी बताउँछन् । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा खानेपानी क्षेत्रको लागि बजेट विनियोजन गरेको छ । सो बजेटबाट कतिवटा विद्यालयमा स्वच्छ पानीको व्यवस्था गर्न सकिन्छ भन्ने कुरा उल्लेख नभए पनि यस वर्ष केही विद्यालयको खानेपानीको समस्या समाधान गर्न सकिने उनी बताउँछन् । 

भोजपुरको अरुण गाउँपालिकामा पनि विद्यालयमा खानेपानीको समस्या छ । कति विद्यालयमा खानेपानीको समस्या छ भन्ने विषयमा गाउँपालिकामा तथ्यांक नरहेको रहेको पालिकाका शिक्षा शाखा प्रमुख मोहन सिंह साउदले बताउँछन् । 

उनी भन्छन्, ‘म पालिकामा आएको भर्खरै हो । अहिलेसम्म फिल्डमा गएर १०/१२ वटा विद्यालयको निरीक्षण गरेँ,’ विद्यालयको निरीक्षण गर्दा पालिकाका आधारभूत र माध्यमिक विद्यालयमा धारा रहेको र धाराबाट पानी आउने गरेको पाइएको उनको भनाइ छ । अरुण गाउँपालिकामा ३५ वटा विद्यालय छन् । गाउँपालिकाभित्रका अलि दुर्गम रहेको क्षेत्रका प्राथमिक विद्यालयमा खानेपानीको समस्या रहेको उनी बताउँछन् ।