close

विद्यालय समायोजन गरेपछि शतप्रतिशत बालबालिका विद्यालयमा

विद्यालय समायोजन गरेपछि शतप्रतिशत बालबालिका विद्यालयमा

Trulli
ADVERTISEMENT

अछाम– पञ्चदेवल विनायक नगरपालिकाका विद्यालय उमेरका शतप्रतिशत बालबालिका विद्यालय पुगेका छन् । नगरपालिकाको शिक्षा शाखा प्रमुख डम्बरबहादुर थापाका अनुसार पालिकाले विद्यालय उमेरका बालबालिकालाई शिक्षाबाट बञ्चित नहोस भन्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

नगरपालिकाले शैक्षिक सत्र सुरु हुनु अगावै हरेक वर्ष शैक्षिक भर्ना अभियान सञ्चालन गर्दै आइरहेको छ । सो अभियानमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालय लैजानका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको उनले पालिकाखबरलाई बताए । सो कार्यक्रम प्रभावकारी भएकाले सबै बालबालिकालाई विद्यालय लैजान नगरपालिका सफल भएको उनको दावी छ । 

नगरपालिकाभित्र रहेका बाल क्लव, बालसञ्जाललाई सक्रिय बनाएको उनले सुनाए । उनका अनुसार नगरपालिकाले बाल क्लव तथा जनप्रतिनिधिको सहयोगमा पढाइको महत्त्वबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको उनको जिकिर छ । 

भौगोलिक विकटताका कारण विद्यालय नजाने भएकाले सो समस्या समाधानको लागि विद्यालय समायोजन गरेको उनले सुनाए । ‘भौगोलिक विकटता र विद्यार्थीको संख्याको आधारमा शिक्षालाई प्राथमिकता लिएका छौँ’, उनले भने, ‘हाम्रो नगरपालिका अन्तर्गत वडा नम्बर ७, वडा नम्बर ६, वडा नम्बर ८ र वडा नम्बर ९ दुर्गममा छन् । यहाँबाट आउने/जाने विद्यार्थीलाई विद्यालय टाढा हुने भएकोले समायोजन गरेका छौँ ।’

विद्यालय समायोजनपछि नजिकको विद्यालयमा जान सक्ने विद्यार्थीहरूको संख्या बढी हुने र शिक्षकहरू पनि थपिने हुँदा पढाइको गुणस्तर बढेको उनले सुनाए । समायोजन हुनुभन्दा पहिले विद्यालयको दूरी टाढा भएकाले बालबालिका स्कूल जान नमान्ने उनको अनुभव छ । हाल सो समस्या कम भइसकेको उनको भनाइ छ ।