close

धवलागिरिमा अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक

धवलागिरिमा अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक

Trulli
ADVERTISEMENT

म्याग्दी- धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माविमा अभिभावक र विद्यार्थीले उत्कृष्ट शिक्षक छनौट गरेका छन् । भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया स्मृति दिवसका अवसरमा आज पुरस्कृत गरिएको हो । 

यस वर्ष मनिराम थनेत, उमादेवी कडेल, भीमप्रसाद पौडेल र कुलराज आचार्यलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कृत गरिएको थियो ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बुढाथोकी र टीकामाया स्मृति कोषका संरक्षक राम गुरुङले पुरस्कार वितरण गरेका हुन् । 

शिक्षकलाई सृर्जनशील बनाउन कोषले गत वर्षदेखि अभिभावक र विद्यार्थीबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गर्दै आएको विद्यालयका प्रधानाध्यपक शेरबहादुर केसीले बताए । उत्कृष्ट छनौट भएका शिक्षकले यस वर्ष विद्यालयमा बगैँचा स्थापना, भित्तेपत्रिका प्रकाशन, अतिरिक्त क्रियाकलाप र खेलकुदमा योगदान गरेको कोषका संस्थापक गुरुङले बताए । 

कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३०६ जना विद्यार्थी छन् । घर टाढा र पारिवारिक समस्या भएका ३० विद्यार्थीलाई निःशुल्क छात्रावासको सुविधा दिइएको छ । विद्यालयमा १९ जना शिक्षक कार्यरत छन् ।