close

विद्यालयमै सीप सिक्छन् फिदिमका विद्यार्थी

विद्यालयमै सीप सिक्छन् फिदिमका विद्यार्थी

Trulli
ADVERTISEMENT

पाँचथर– फिदिम नगरपालिकाले शिक्षालाई श्रमसँग जोड्दै  आएकाे छ । नगरपालिकाले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत शिक्षालाई श्रमसँग जोड्दै आएकाे हाे । 

पछिल्लो समय विद्यार्थीहरु सामाजिक सञ्जालसँग बढी घुलमिल भएको र साे कम गर्नका लागि नगरपालिकाले साे कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे । विद्यार्थीलाई व्यवहारिक बनाउन सिपमूलक तालिम दिदै पढाइसँगै कमाउन सकिने नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताए ।

उनका अनुसार विद्यार्थीले सिप सिकेर घरमा पनि काम सघाउने गर्छन् । विद्यार्थीलाई सामाजिक सञ्जालभन्दा अन्य सिपमुलक काम गरेर आर्थिक उपार्जन हुने भएकोले पढ्दै कमाउदै अभियान ल्याएको हो ।

यसका साथै विद्यार्थीले अहिलेको सिकेको सिपले भविष्यमा पनि दीर्घकालिन रुपमा जीवनयापन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख काफ्लेको विश्वास छ । 'पढ्दै कमाउदै कार्यक्रम यही चालु आर्थिक वर्षदेखि शुरु गरेकाले सिद्धकाली माविबाट अभियान सञ्चालन गरेका हौँ,' उनले भने ।

विद्यालयका ३२ जना विद्यार्थीलाई सीपमुलक तालिम दिएकाे उनले सुनाए । नगरपालिकाले नगरभसभाबाट पास भएसँगै 'उपमेयरसँग विद्यार्थी पढ्दै कमाउँदै' शीर्षकमा ५ लाख बजेट विनियोजन गरेकाे उनले जानकारी दिए ।

करिब २०० विद्यार्थीहरुलाई सीपमुलक तालिम दिने लक्ष्य रहेको तथा आगामी आर्थिक वर्षबाट प्रभावकारी ढंगले अगाडि बढाउने उनले बताए ।

'अभियानबाट विद्यार्थीहरुले स्थानीयस्तरमै उत्पादन हुने खेतीपातीदेखि विभिन्न सीपहरुमा ढाँका टोपी बनाउने, बाँसबाट उत्पादन हुने सामग्री, मौरी पालन, सिलाम, साक्मालगायतको सिपमुलक तालिम प्रदान गरेका हौँ,' उनले भने, 'साथै विद्यार्थीलाई आवश्यकताअनुसारको सिप सिकाएर आयआर्जन गर्न सकिने जानकारी दिने गरेको छौँ ।'

काम गरे बापत विद्यार्थीहरुले मासिक दुई हजार रुपैयाँ आर्जन गर्ने गरेको उनले बताए । 

सिद्धकाली माविमा हिउँदे बिदाका समयमा गाउँपालिकाले सिपमुलक तालिम दिएको विद्यालयका सहायक प्राध्यानाध्यापक डम्बरकुमार तुम्बाफेले बताए । हिउँदे बिदालाई मध्यनजर गरी वडा नं- ६ को वडाको आयोजनामा बाँसबाट बन्ने सामग्री, सिलाम साक्मा, जुत्ता चप्पल राख्ने र्याक बनाउने तालिम उपलब्ध गराएको हो ।

उक्त तालिम प्रभावकारी भएको उनले दावी गरे । तालिममा सहभागी भएका विद्यार्थीलाई नगरपालिकाले खाजाकाे व्यवस्थासमेत गरेकाे सहायक प्रध्यानाध्यापक तुम्बाफेको भनाइ छ ।