close

धर्मेन्द्र झाको भिजन : छोरीको संरक्षण र पढाइको ओखती

धर्मेन्द्र झाको भिजन : छोरीको संरक्षण र पढाइको ओखती

Trulli
ADVERTISEMENT

रौतहट- दुर्गा भगवती गाउँपालिका-३ वडा कार्यालयले ‘छोरी जन्मिनु अभिश्राप होइन बरदान हो’ भन्ने अभियान चलाइरहेको छ । अभियानअन्तर्गत विभिनन्न सीपमूलक तालिम, कक्षा १२ सम्म नि:शुल्क शिक्षा, बालपोषण भत्ताबापत मासिक ६६५ रुपैयाँ वितरण र वडा कार्यालयबाट कक्षाकोठाको लाइभ अनुगमन आदि गर्दै आइरहेको छ । 

दुर्गा भगवती गाउँपालिका क्षेत्रमा अशिक्षाका कारण छोरी जन्मनुलाई अभिश्रापको रुपमा लिइने, छोरीलाई विभेद र छोरी भएकै कारण भ्रूणहत्या हुने समस्याले विकराल रुप लिन थालेपछि वडा कार्यालयले अघिल्लो कार्यकालमा नै ‘छोरी संरक्षण कार्यक्रम’ सुरुवात गरेको थियो । 

छोरीलाई गरिने विभेदकै रुपमा शिक्षाबाट बञ्चित गराउने र बालविवाह गराइदिने जस्ता समस्या भएपछि विभिन्न कार्यक्रम लागु गरी छोरी पनि बरदान हो, विभेद नगर्नु भन्ने सन्देश दिन खोजेको दुर्गा भगवती गाउँपालिका-३ का वडाध्यक्ष धर्मेन्द्रकुमार झाले पालिकाखबरलाई बताए । उनले भने,‘अघिल्लो कार्यकालमा घोषणा गरी मेरो निजी खर्चबाट छोरी जन्मेर जन्मदर्ता गराउनेलाई दुई हजार रुपैयाँ दिएको थिएँ । जनताले विश्वास गरी फेरि वडाध्यमा दोस्रो पटक निर्वाचित गराएपछि वडाको बजेटबाटै यो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छु ।’

छोरी जन्मिँदा ५ हजार

दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ ले गत आर्थिक वर्षदेखि छोरी जन्मिँदा ५ हजार रुपैयाँ दिँदै आएको छ । प्रत्येक आर्थिक वर्षमा छोरी जन्मेर वडा कार्यालयमा जन्म दर्ता लिएका अभिभावकलाई सो रकम दिँदै आएको वडाध्यक्ष झाले बताए । उनका अनुसार गत आर्थिक वर्षमा जन्म दर्ता गरेका ४७ जना छोरीका अभिभावकले ५ हजारका दरले रकम लिइसकेका छन् । 

यस कार्यका लागि वडा कार्यालयले गत आर्थिक वर्ष ३ लाख रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि छोरीको जन्मदर्ताको आधारमा आर्थिक वर्षको अन्त्यमा उक्त रकम दिइने वडाध्यक्ष झाले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा पनि सो कार्यक्रमका लागि ३ लाख नै विनियोजन गरिएको छ । 

छोरी जन्मिँदा रकम पाउन थालेपछि भ्रूणहत्या र विभेद कम हुँदै गइरहेको वडाध्यक्ष झाको दाबी छ । उनी भन्छन्,‘राम्रो कामकाो रिज्लट ढिलो आउछ तर अहिलेदेखिनै सुधार देखिसकेको छ भने यसले समाजमा पार्ने प्रभावहरू पछि थप देखिनेछ ।’

१८ वर्षसम्म पढिरहने किशोरीलाई तालिम

छोरी संरक्षण कार्यक्रम अन्तरगत गाउँपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिँदै आएको छ । बालविवाह न्यूनीकरण थप प्रभावकारिताका लागि चालु आर्थिक वर्षदेखि वडा कार्यालयले नयाँ कार्यक्रम लन्च गरेको छ । 

वडा कार्यालयले १८ वर्षसम्म पढाइ नछोड्ने बालिकाहरूलाई सीपमुलक तालिम दिनका लागि चालु आर्थिक वर्षमा बजेटको व्यवस्था गरेको हो । चालु आर्थिक वर्ष तालिमका लागि ५ लाख रुपैयाँ वडाले विनियोजन गरेको छ । सो रकमबाट सिलाइकटाइ, विद्युतीय जडान र प्लम्बिङसम्बन्धी तालिम दिइने वडा कार्यालयले जनाएको छ । 

यता, गाउँपालिकाले छोरीलाई कक्षाा-१२ सम्म नि:शुल्क पढाउदै आएको छ । कक्षा-१२ सम्म नि:शुल्क पढ्न पाएपछि बीचैमा विद्यालय छोड्ने र बालविवाह गर्ने घटेको संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यपक त्रियुग नारायण झा बताउँछन् । सो विद्याय वडा नम्बर ३ मा रहेको छ । खास गरी दुर्गा भगवती गाउँपालिका-३ को पनि दलित बस्तीमा विभेदको समस्या अहिले पनि कायम छ । पछिल्लो समय स्थानीय सरकारले विभिन्न कार्यक्रम ल्याएपछि बीचैमा विद्यालय छोड्ने किशोरीको संख्या न्यून भएको प्रधानाध्यपक झाको भनाइ छ । 

वडा कार्यालयबाट कक्षा कोठाको लाइभ अनुगमन

आस्था मिश्र संस्कृत मावि कक्षा १२ मा पढ्छिन् । कक्षाकोठामा पढ्ने बालिकाहरूलाई अरुले झिस्क्याउने र त्यही निहुँमा विद्यालय छोड्ने समस्या बिगतमा भएपछि केही किशोरीहरूले शिक्षकहरूलाई गुनासो गरेका थिए । सोही समस्यालाई मध्यनजर गर्नै वडा कार्यालयले लाइभ अनुगमनका लागि प्रत्येक कक्षा कोठामा सिसिक्यामेरा जडान गर्‍यो । त्यसपछि सुरक्षित महशुस भएको र कक्षागत विद्यार्थीहरूको पढाइमा सुधार भएको आस्था मिश्र बताउँछिन् । 

उनले पालिकाखबरसँग भनिन्,‘पहिला डिसिप्लिनमा कमजोरी थियो । सिसिक्यामेरा आएपछि सुधार भएको छ । सिसिक्यामेरा आएपछि सेफ्टी फिल भएको छ । अब कक्षाकोठा र विद्यालय वरपर बस्न डर छैन । हामीले आफ्नो सेफ्टीको रुपमा बुझेका छौं ।’ साथै कक्षाकोठामा पढ्ने व्यवहारमा सुधार भएको उनको भनाइ छ । पहिला शिक्षक हुँदामात्र पढ्ने केही विद्यार्थी थिए भने अहिले त्यस्ता विद्यार्थीले पनि पढ्न थालेका छन् । 

विद्यालयमा जडान गरिएको सिसिक्यामेरा वडा कार्यालयबाट निगरानी हुँदै आएको वडाध्यक्ष झा बताउँछन् । यस अभियानले पढाइमा बाधा गर्ने विद्यार्थीलाई अनुशासनमा राख्न टेवा पुगेको उनको भनाइ छ । एक पटक कक्षा-७ का विद्यार्थीहरूबीच भनाभन र धकेलाधकेल चलिरहेको थियो । १० मिनेटसम्म शिक्षकहरूले थाहा नपाएपछि प्रधानाध्यपक त्रियुग सरलाई फोन गरी समस्या समाधान गरिएको घटनासमेत वडाध्यक्ष झाले पालिकाखबरलाई सुनाए । 

आफ्नै वडामा रहेको संस्कृत माध्यमिक विद्यालयमा सिसि क्यामेरा जडान गर्दा ७ लाख रुपैयाँ खर्च भएको थियो । छोरीको स्याहार सुसार गर्नको लागि, सामाजिक विभेद अन्त्यको लागि र छोरीको सम्मानको लागि सुरु गरिएको यो कार्यक्रम प्रभावकारी बन्दै गइरहेको वडा कार्यालयले जनाएको छ ।