close

पर्यावरण जोगाउने अभियानमा धनगढीका युवा

पर्यावरण जोगाउने अभियानमा धनगढीका युवा

Trulli
ADVERTISEMENT

धनगढी । पछिल्लो समय जलवायु परिवर्तनका समस्या देखिँदै गएपछि कैलालीका युवाले पर्यावरण जोगाऔँ अभियान थालनी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कैलालीको अत्तरिया चोकदेखि मोहनपुर एयरपोर्ट ६ लेन सडकको मध्यमार्गमा विभिन्न प्रजातिका बिरुवा रोप्दै पर्यावरणलाई जोगाउने अभियानको सुरुवात गरेका हुन् ।

प्लानेट ग्रिन नेपाल र एभरेष्ट एकेडेमी अत्तरियाको अगुवाइमा सडकको मध्यभागमा ग्रिन क्लिन अत्तरियाको अवधारणअन्तर्गत वृक्षारोपण कार्य भइरहेको हो । विभिन्न प्रजातिका नौ सय बिरुवा रोपेर संरक्षण गर्ने योजना छ ।

निजी–साझेदारीका आधारमा राज्यले यस्ता कार्यक्रमलाई अगाडि बनाउनुपर्ने भए पनि आफैँले सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण गरेर तीन वर्षसम्म संरक्षण गर्ने दायित्व लिएर काम सुरु गरिएको एभरेष्ट एकेडेमीका प्राचार्य स्माइल चौधरीले बताए । 

उनले भने, ‘मोहनापुल अत्तरिया सडक योजना कार्यालयसँग अनुमति लिएर हरियाली गोदावरी बनाउने योजनाअनुसार रोपिएका विरुवाको पूर्ण संरक्षण हुनेगरी ट्री गार्डसहित पानीको समेत व्यवस्था गर्न एकजना सहयोगी राख्ने तयारी भइरहेको छ ।’

क्रोटन, घण्टेश्वरी, गुलाफ, सिरोज, धुपी, एक्जारो, कामिनीलगायत बिरुवा रोपेर पर्यावरण जोगाउने कामको सुरुवात भएको प्लानेट ग्रीन नेपालका अध्यक्ष पुष्कर शर्मा जोशीले बताए । 

उनले भने, पछिल्लो समय जलवायु परिवर्तनमा देखिएको समस्यालाई केही हदसम्म नियन्त्रण गर्न लागि वृक्षारोण गरेर पर्यावरणीय सन्तुलनलाई सहयोग पुग्ने खालका योजना बनाएका छौँ । साथै वार्षिक लाखौँको संख्यामा वृक्षारोपण हुँदै आए पनि रोपिएका विरुवाको संरक्षण हुने गरेको छैन । अब गोदावरी नगरपालिकाको संरक्षणमा वृक्षारोपण गरेर पर्यावरण जोगाउने कामको सुरुवात भएको छ ।’

धनगढी चौराहादेखि मोहन पुलसम्म धनगढी उपमहानगरले वृक्षारोपण गरेर ‘हरित धनगढी’ बनाउने अभियानको सुरुवात गरेको छ । उपमहानगरले सफा र हरित नगरको परिकल्पना गर्दै वार्षिक एक हजारको संख्यामा वृक्षारोपण गरेर रोपिएका विरुवाको संरक्षण गर्ने दायित्वसमेत लिने गरी ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ महाअभियान नै सञ्चालन गरेको हो । 

हरित सफा नगरको नीति धनगढी उपमहानगरपालिकाले लिएको नगरप्रमुख गोपाल हमालले बताए । 

उनले भने, ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ महाअभियानअन्तर्गत धनगढीमा वृक्षारोपण र सरसफाइमा उपमहानगरबासीको उल्लेख्य सहभागिता जुट्दै गएको छ । धनगढी चौराहादेखि मोहना एरपोर्टसम्म धनगढी उपमहानगरकै समन्वयमा भाटभटेनी सुपरस्टोरले विभिन्न प्रजातिका सुगन्धित विरुवा रोपेर हुर्काउने काम भइरहेको छ ।’