close

फोहोरको थुप्रोमाथि बनेको पार्कमा सेल्फी खिच्ने र टिकटक बनाउनेको भीड

फोहोरको थुप्रोमाथि बनेको पार्कमा सेल्फी खिच्ने र टिकटक बनाउनेको भीड

Trulli
ADVERTISEMENT

काठमाडौं । फोहोर र ल्याण्डफिल्ड साइड भन्नेबित्तिकै सहनै नसक्ने गन्धको याद आउँछ । जुन गन्ध सुँघ्न र सम्झन पनि चाहँदैनौँ । तर, धनकुटा नगरपालिकाको ल्याण्डफिल्ड साइटमाथि भने पार्क बनेको छ ।

साँढे दुई रोपनी क्षेत्रफलमा जमिनभन्दा करिब ४०–४२ फिटको उचाइमा यो पार्क बनेको छ ।  

धनकुटामा २०६६ सालदेखि उत्पादित क्षेत्रमा नै वर्गीकरण गरेर नगरपालिकाले फोहोर उठाउने गरेको छ । कुहिने फोहोरलाई नगरवासीले घरमा नै कम्पोष्ट मल बनाउँछन् र नकुहिनेलाई नगरपालिकाले लिन्छ । 

त्यसैगरी, बेच्न मिल्नेलाई बेचेर फोहोरबाट मोहोर बनाउँछ भने बाँकी उत्पादित फोहोरमध्ये ४० प्रतिशत फोहोर ल्याण्डफिल्ड साइटमा लगेर नगरले पुर्छ ।

बजारबाट एक किलोमिटर मात्र टाढा र मानव बस्तीबाट एक सय पचास मिटर टाढा रहेको यो पार्कबाट दुर्गन्ध आउनुको सट्टा समय बिताउने रमणीयस्थल बनेको  छ । 

जसमा घुमफिर, रमाइलो, खेल्न, सेल्फी खिच्ने र टिकटक बनाउनको भीड हुन्छ । 

यो सबै सम्भव भएको हो धनकुटाको फोहोर व्यवस्थापनका लागि विगत १६ वर्षदेखि निरन्तर लागि परेका उपेन्द्र खनालको सक्रियताका कारण। 

जसका कारण उनले गरेको कामको मूल्याङ्कन गर्दै नेपाल सरकारले पुरस्कार पनि घोषणा गरेको छ । फोहोर व्यवस्थापनमा नमुना काम गरेकाले २०८० सालको नयाँ वर्षमा पुरस्कार पाउने  भएका छन् । 

विगत २३ वर्षदेखि धनकुटा नगरपालिकामा कार्यरत खनालले नगरपालिकाको वातावरण शाखा संहालेको १६ वर्ष पुगेको छ । त्यसअघि उनले नगरपालिकाको आर्थिक व्यवस्थापन शाखामा करिब ७ वर्ष काम गरेका थिए । 

उक्त शाखामा बस्दा उनलाई फोहोरको व्यवस्थापन हुन नसकेको कुराले पिरोल्थ्यो । त्यसैले आफू कार्यरत कार्यालयका साथीसँग सल्लाह गरेर वातावरण शाखामा रहेर काम गर्ने चाहना व्यक्त गरे । 

कसैले काम गर्न नचाहेको वातावरण शाखामा पुग्न उनले भने पहल गरे । जसको मूल्यांकन सरकारले पनि गरेको छ । सो शाखामा गएनन् मात्रै फोहोर व्यवस्थापन पनि गरे । 

२०६३ सालमा उनी वातावरण शाखामा पुगेपछि फोहोर व्यवस्थापनका लागि पूर्वाधार निर्माणको काम सुरु गरे । अहिले जहाँ पार्क छ त्यहाँ नगरपालिकाको सबैभन्दा पहिलो ल्याण्डफिल्ड साइड बनाए । 

फोहोर व्यवस्थापनबारे हाम्रो समाजले त्यति चासो नदिएरहेका बेला उनलाई चुनौती नआउने त कुरै भएन । 

‘नयाँ काम गर्दा चुनौती त आउँछन् नै । तर, आफूले के काम गरिरहेको छु भन्ने विषयमा जनतालाई विश्वास दिलाउन सक्नुपर्छ,’ उनले भने, ‘हामीले सक्यौँ र फोहोरको व्यवस्थापन गर्‍यौँ पनि ।’ 

लामो समयसम्म फोहोर व्यवस्थापन गर्दा जनताको विश्वास जितिसकिएको उनी सुनाउँछन् । ‘हाम्रोतिर जनता फोहोर लिएर व्यवस्थापन गर्न कहिले आउने भनी पर्खाइमा हुन्छन् ।’

फोहोर व्यवस्थापनको विषय बुझाउन उनले पटकपटक बैठक राखे । नगरपालिकाप्रति विश्वास जगाउने काम गरिरहँदा फोहोर व्यवस्थापनको पक्ष र विपक्षमा मानिस उभिएका थिए । 

ती दिन सम्झँदै उनी भन्छन्, ‘पक्षलाई बढाउँदै र विपक्षलाई घटाउँदै लाने काम गरेँ । पछिसम्म पनि फोहोर व्यवस्थापनमा रोकावट हुने क्रम जारी रह्यो । तर, अहिले उहाँहरू हातेमालो गरेर काम गरौँ भन्नुहुन्छ ।’

२०६६ सालदेखि व्यवस्थित रूपले फोहोर व्यवस्थापन हुँदै आएको ठाउँमा अबको सात वर्षका लागि पुग्ने ठाउँ छ । 

१५ वर्षसम्म फोहोर व्यवस्थापनका लागि अर्को जग्गा पनि तयार भइसकेको छ । 

अबको २२ वर्षको लागि फोहोर व्यवस्थापनको लागि टाउको दुखाईको अवस्था नरहेको उनले बताए । तर, फोहोर व्यवस्थापनका लागि अझ धेरै काम गर्न बाँकी रहेको उनको बुझाइ छ । 

नगरपालिकाले कहाँ र कहिले फोहोर उठाउन जाने भनेर रुटिन बनाएको छ । 

त्यसैगरी,आवश्यकताअनुसार दैनिक, तीन दिनमा एक पटक, साप्ताहिक, पाक्षिक रुपमा फोहोर उठाउने पनि गरिएको छ । 

६ हजार घर धुरीबाट दैनिक करिब १५ टन फोहोर संकलन हुन्छ । संकलितमध्ये पुन प्रशोधन गर्न मिल्ने फोहोर विक्री गरेर वार्षिक ६० लाखबराबरको रकम नगरपालिकाले आम्दानी गरिरहेको छ । 

नगरले संकलित फोहोर बिक्रीका लागि निजी क्षेत्रलाई पनि परिचालन गरेको छ । 

निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिँदा थप १५ जनाले रोजगारी पाएका छन् । फोहोर बेच्दा ल्याण्डफिल्ड साइटमा ठाउँ पनि बचेको छ । 

‘कुहिने फोहोरलाई घर घरमा नै व्यवस्थापन गर्न तालिम दिएका छौँ । आफ्नै घरघरमा मल बनिरहेको छ,’उनले भने । 

भुसालका अनुसार भान्साबाट उत्पादन हुने फोहोरले दुर्गन्ध ल्याउने भएकाले घरमै व्यवस्थापन गर्न नगरबासीलाई बुझाइएको छ । 

तर, धनकुटाभन्दा ठुला नगरपालिकाले धनकुटा सानो नगरपालिका भएका कारणले फोहोर व्यवस्थापन गर्न सम्भव रहेको भन्ने गरेको, र साना स्थानीय तहले धनकुटा ठुलो नगरपालिका भएकाले फोहोर व्यवस्थापन गर्न सहज भएको भनी पन्छिने गरेको उनको भनाइ छ । 

फोहोरको विषयमा पालिका तहका जनप्रतिनिधिको बुझाइ तथा प्रदेश र संघका जनप्रतिनिधिको बुझाइ संकुचित भएकाले पनि फोहोर व्यवस्थापन हुन नसकेको उनले बुझाइ छ । 

हालसम्म धनकुटामा गरिएको फोहोर व्यवस्थापनकोे अनुगमन गर्न चार सयभन्दा बढी स्थानीय जनप्रतिनिधि पुगिसकेका छन् । तर प्यूठानको स्वर्गद्वारी नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका, इलामको सूर्योदय नगरपालिका, रुपन्देहीको तिलोतमालगायत नगरपालिकाले फोहोर व्यवस्थापनको काम गरिरहेको उनले बताए । 

यस्तै, धनकुटाको फोहोर व्यवस्थापनको विषयमा अध्ययन गर्न विभिन्न विश्वविद्यालयका विभिन्न संकायमा अध्ययन गरिरहेका विद्यार्थी पनि पुग्ने गर्छन् । 

भुसाल भन्छन् ‘युनिभर्सिटीका स्वास्थ्य, वातावरण, इन्जिनियरिङसम्बन्धी अध्ययन गर्न आउनुहुन्छ । हामीले फोहोरको व्यवस्थापन कसरी गरिरहेका छौँ र फोहोरको सही व्यवस्थापन कसरी गर्न सम्भव छ जस्ता विषय सिकाउँछौँ ।’

समयमा फोहोर व्यवस्थापन गरेकाले अहिले धनकुटाबासीले गर्व महसुस गरिरहेको उनको भनाइ छ । 

‘पहिलेको तुलनामा अहिले नयाँ प्रविधि आविष्कार भएका छन् । फोहोर उत्पादन पनि बढिरहेको छ,’ उनी भन्छन्, ‘समयसापेक्ष फोहोर व्यवस्थापन गर्न लागिपरिरहेको छौँ ।’

फोहोर वातावरण, स्वास्थ्य र इज्जतसँग जोडिएको भन्दै धनकुटा सफा बनेका कारण धनकुटेको इज्जत बढेकाले फोहोर व्यवस्थापन आफ्नै पालामा गर्ने बताए । 

उनी भन्छन्, ‘संविधानले दिएको स्वच्छ वातावरणमा बाच्न पाउने हकको प्रत्याभूत गराउन स्थानीय सरकार सञ्चालन ऐन, फोहोर मैला व्यवस्थापन ऐनले दिएका अधिकारको प्रयोग गरेर नेपाली जनतालाई स्वच्छ वातावरणमा बाच्न पाउने हक दिनुपर्छ ।’