close

फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार

फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार

Trulli
ADVERTISEMENT

चितवन । रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापनमा उत्कृष्ट पुरस्कार पाएको छ ।  देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला नगरपालिकाले उत्कृष्ट पुरस्कार पाएको हो । 
 
नेपाल नगरपालिका सङ्घले सहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिक’सँगको सहकार्य तथा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आइरहेको छ ।
 
सो कार्यक्रम प्रभावकारी भएपछि रत्ननगरले पाँच हजार डलर राशिको पुरस्कार प्राप्त गरेको हो । युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट (युसिएलजी) एसिया प्यासेफिक विल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेसनद्वारा सञ्चालित अन्तर्राष्ट्रिय संस्था हो । वातावरण संरक्षण तथा सरसफाइका क्षेत्रमा यसले काम गर्दै आएको छ ।
 
नगरपालिकाका इन्जिनियर पङ्कज गिरीका अनुसार जनप्रतिनिधि आउनुपूर्व नगरपालिकाले फोहरमैला व्यवस्थापनमा रु एक करोडदेखि एक करोड २५ लाखसम्म वार्षिक खर्च गर्ने गरेको थियो । ट्र्याक्टर, मजदुर, ल्याण्डफिल्ड व्यवस्थापनमा खर्च हुँदै आएको थियो । जनप्रतिनिधि आएसँगै फोहरको व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य फोहर व्यवस्थापन हुँदै आएको छ । यसका कारण हाल नगरपालिकालाई वार्षिक रु ४२ लाख आम्दानी हुने गरेको छ ।
 
अघिल्लो जनप्रतिनिधि रहँदा यो आम्दानी वार्षिक रु १० लाख मात्रै थियो । उनका अनुसार नगरपालिकाले फोहर निजी क्षेत्रलाई उठाउन मात्रै लगाएको छैन, फोहर न्यूनीकरणका लागि जनचेतनासमेत जगाउँदै आएको छ । वडा अध्यक्षको संयोजकत्वमा बजार व्यवस्थापन समिति गठन गरेर नगरवासीलाई प्लाष्टिकजन्य फोहर न्यूनीकरण गर्दै वातावरणमैत्री अभियान सञ्चालन गरेको छ ।
 
नगरपालिकाले सौराहालगायतका क्षेत्रमा रहेका अधिकांश होटलमा प्लास्टिकको प्रयोगमा कडाइ गरिएको छ । फोहरको मात्राको आधारमा दैनिकदेखि दुई सातासम्म पालो गरेर उठाउने गरिएको छ । इन्जिनियर गिरीको भनाइमा मासिक रु २५ देखि ठूला होटलले रु तीन हजार पाँच सयसम्म फोहर व्यवस्थापनका लागि खर्च गर्दै आएका छन् । घरघरमा कम्पोष्ट मल बनाउन लगाइएको छ भने घर बनाउँदा उच्चस्तरको सेफ्टीट्याङ्की बनाउन अनिवार्य गरिएको छ । 
 
बजार क्षेत्रमा कागजको झोला ९पेपर ब्याग० को प्रयोगलाई प्रोत्साहन गरिएको छ । वडा नं ५, ६ र ७ मा क्लिन सिटी अभियान गैरसरकारी संस्थासँग मिलेर सञ्चालन गरिएको छ । नगर प्रमुख प्रह्लाद सापकोटाले रत्ननगरका चोक बजारमा थुपारिएको फोहर नदेखिने बताए । नगर क्षेत्रमा गुठ्खा, सुर्तीका खोल जस्ता प्लास्टिकजन्य वस्तु फाल्न निषेध गरिएको छ ।

बजार क्षेत्रका मलमूत्रलाई पाइपलाइनमार्फत वडा नं ४ मा प्रशोधन केन्द्र निर्माण गरिएको छ । जहाँ आठ वटा पोखरीमा मलमूत्र प्रशोधन गरिँदै आएको उनले जानकारी दिए । उनले भने, 'हामी रत्ननगरलाई स्वच्छ, हराभरा र सुन्दर बनाउन लागिपरेका छौँ ।' यस अभियानमा नगरवासीको सहयोग भएकै कारण सफलता मिलेको उनको भनाइ छ ।
 
नगरपालिकाले रु पाँच हजार डलर राशिको पुरस्कार सहित उत्कृष्ट हुन सफल भएको जनाउँदै उनले नगरपालिकाले गरेका राम्रा अभ्यास अन्य नगरपालिकाले समेत सिको गर्नसक्ने बताए। नगरपालिकाको वडा नं ११ मा ‘ल्याण्डफिल्ड साइड’ छ । नगरपालिकाको वडा नं १, २, १० र ४ सहरी क्षेत्रमा पर्दछ । नगरपालिकाले जनघनत्व धेरै भएका ठाउँबाट फोहर व्यवस्थापनलाई बढी प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
 
यही नगरमा देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा पर्दछ । पर्यटकीय नगरी भएकाले यहाँ ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । सापकोटाका अनुसार होटल व्यवसायीलाई सरसफाइ र वातावरणीय सन्तुलन कायम गर्न आग्रह गरिएको बताए ।
 
निकुञ्जसँग जोडिएको नगरपालिका भएकाले फोहरको प्रभाव वन्यजन्तुमा समेत पर्नसक्ने भएकाले त्यसतर्फ पनि विशेष ध्यान पु¥याइएको नगर प्रमुख सापकोटा बताउँछन् । उपप्रमुख यादव पाठकले नगरपालिकामा आफूहरु आएको एक वर्ष नपुग्दै फोहर व्यवस्थापनमा उत्कृष्ट बनेको जनाउँदै उनले आगामी दिनमा अझै उत्कृष्ट काम गर्ने प्रेरणा मिलेको बताए ।