close

फेवातालबाट जलकुम्भी निकालियो

फेवातालबाट जलकुम्भी निकालियो

Trulli
ADVERTISEMENT

कास्की– पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन् । 

प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न सङ्घसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यवसायी सक्रिय हुने गरेका छन् । 

ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशको संयोजनमा पोखराका पर्यटन व्यवसायी, सुरक्षाकर्मी, पर्यटनसम्बन्धी सङ्घसंस्था र विद्यार्थीद्वारा आज बिहान फेवातालका फैलिएको १० ट्रक जलकुम्भी झार बाहिर निकालिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए। 

जलकुम्भी झारकै कारण फेवातालमा पर्यटकलाई डुङ्गा सयर गर्न र तालको मध्यभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जानका लागि समस्या परेपछि प्रत्येक हप्ता विभिन्न सङ्घसंस्थाको संयोजनमा तालको जलकुम्भी झार हटाउने कार्य भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

आज जलकुम्भी झार हटाउने कार्यको शुभारम्भ गर्दै प्रमुख आचार्यले पोखराको सुन्दर र पर्यटकीय आकर्षणको केन्द्र फेवातालमा वर्षात्को समयमा फैलिने जलकुम्भी झारलाई व्यवस्थापन गर्न बायोग्यास कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी भएको बताए। 

नेपाल पर्यटक तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का दुई सय विद्यार्थीले फेवातालको जलकुम्भी झार ताल बाहिर निकालेका थिए । फेवातालमा समस्याका रुपमा जलकुम्भी झार देखापरेको १२ वर्ष भइसकेको छ ।