close

४० माइक्रोनभन्दा कमको प्लाष्टिकको झोला प्रयोग गर्नुहुन्छ भने सावधान !

४० माइक्रोनभन्दा कमको प्लाष्टिकको झोला प्रयोग गर्नुहुन्छ भने सावधान !

Trulli
ADVERTISEMENT

काभ्रेपलााञ्चोक- के तपाई पाँचखाल नगरपालिकामा बसेर प्लाष्टिकको झोला जथाभावी प्रयोग गर्नुहुन्छ? यदि प्रयोग गर्नुहुन्छ भने अब गर्न पाउनुहुन्न । नगरपालिकाले आगामी असोज १ गतेदेखि ४० माइक्रोनभन्दा कमको प्लाष्टिकको झोला प्रयोग गर्न रोक लगाएको छ । 

नगरपालिकाको अनुसार साउन १९ गते बसेको कार्यपालिका बैठकले ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लाष्टिकको झोलाहरु असोज १ गतेदेखि  नगर क्षेत्रमा पूर्ण रुपमा प्रयोग गर्न रोक लगाइएको हो । सो गरेको पाइएमा नगरपालिकाकाे कानुन बमोजिम सजाय दिने नगरपालिकाका प्रमुख महेश खरेलले बताए । 

नगरपालिका क्षेत्रका सार्वजनिक स्थलमा जथाभावी प्लाष्टिक तथा अन्य फोहर फाल्ने गुनासो आएपछि सो निर्णय गरेको उनले पालिकाखबरलाई बताए । उनले भने, ‘नगरपालिका भित्रको सडक, खोला, कुलो तथा सार्वजनिक स्थानमा जथाभावी प्लाष्टिकको झोला  तथा फोहर फाल्ने गरेको पाइन्छ । सोही नियन्त्रणका लागि नगरपालिकाले सो निर्णय गर्न बाध्य भएको हो ।’

वातावरण सफा राख्नको लागि नगरपालिकाले सो निर्णय गरेको उनले बताए । प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउनका लागि नगरपालिकाले नगर क्षेत्रमा कपडाको झोला वितरण गर्ने उनले बताए । ‘हामी केही समयपछि एक घर  एक कपडाको झोला वितरण गर्ने छौँ । किनमेल गरेका सामग्रीहरु सोही झोलामा राख्न सकिने छ,’ उनले थप, ‘यसले पनि प्लाष्टिकको झोलाको प्रयोगमा नियन्त्रण गर्न सकिन्छ ।’

सो योजना कार्यान्वयन गर्नको लागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहयोगमा पालिकाभित्रका पसलहरुको अनुगमन गर्ने उनले बताए । झोलालाई प्रतिबन्ध गर्नको लागि नगरपालिकाले कार्यविधि ल्याउने उनले पालिकाखबरलाई सुनाए । 

कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि टोलटोलमा गएर सचेतना कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।