close

विकासको ‘बेलका मोडल’

विकासको ‘बेलका मोडल’

Trulli
ADVERTISEMENT

२०७४ मा भएको स्थानीय चुनावमा नेकपाका उम्मेदवार दुर्गाकुमार थापा जित्दा बेलकामा नगरप्रमुख बस्ने कोठासमेत थिएन । नगरपालिकाका लागि आवश्यक भौतिक पूर्वाधार केही थिएनन् । 


उदयपुरको बेलका नगरपालिका कार्यालय प्रवेश गर्नेबित्तिकै भित्तामा ‘विपक्षी दल नेता कार्यकक्ष’ लेखिएको देखिन्छ । स्थानीय तहकोे निर्वाचनमा बेलका नगरमा नेकपा एमालेसँग पराजित भएको नेपाली कांग्रेसका लागि नगरपालिकाले नीतिगत निर्णय गरेरै खोलेको कार्यालय हो, यो । 


बेलका नगर कार्यपालिकाको २६ चैत ०७४ को बैठकको ११ नम्बर निर्णयमा कांग्रेससँग एक प्रमुख प्रतिपक्ष दलको नेता माग गर्ने, कार्यालय स्थापना गर्ने र नगरपालिकासँग सम्बन्धित कार्यमा जिम्मेवारी दिने भन्ने उल्लेख छ भने प्रमुख प्रतिपक्ष दलको नेतालाई अनुगमन समितिको सदस्यसमेत राख्ने व्यवस्था छ । स्थानीय तहमा प्रतिपक्ष दलको कार्यालय खोल्ने र प्रतिपक्षलाई अनुगमन समितिमा राख्ने अभ्यास नेपालमै नौलो हो । 


नेपालको संविधानले कल्पना गरेको संघीय, प्रदेश र स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिकादेखि न्याय सम्पादनसहित आफैँ कानुन बनाउनेसम्मका अधिकार संविधानमा व्यवस्था गरिएका छन् । तर, प्रमुख प्रतिपक्ष दलको अभ्यास भने संघीय र प्रदेश सरकारले मात्र गरिरहेका बेला स्थानीय तहमा बेलका नगरपालिकाले गरेको यस्तो निर्णय धेरैले अनौठो माने । 


पहिलेका ठोक्सिला, तपेश्वरी, मैनामैनी र कटुन्जे बबला गाविस जोडेर ०७३ मा बेलका नगरपालिका बन्यो । १४ असार ०७४ मा भएको स्थानीय चुनावमा नेकपा एमालेका उम्मेदवार दुर्गाकुमार थापा (स्वस्तिक) ले नगरप्रमुखमा जिते । बेलकाका नगरप्रमुख थापा संविधानले नै ‘स्थानीय सरकार’ भनेकाले संघीय र प्रदेश सरकारजस्तै स्वभाविक ढंगले प्रतिपक्ष हुने तर्क गर्छन् । ‘नभए निर्दलीय चुनाव गराउनुपर्‍यो ,’ उनको तर्क छ, ‘संविधानले नगर्नू भनेको छैन नि !’ 


नगरपालिकाले प्रमुख प्रतिपक्ष दलको नेता माग्दै पत्र पठाएपछि कांग्रेसको स्थानीय नेतृत्व भने अन्योलमा पर्‍यो । ‘स्थानीय तहमा प्रतिपक्ष हुने कुुरा संविधानमा पनि व्यवस्था नभएकाले र पार्टीले पनि निर्णय गर्न नसकेकाले त्यो कार्यालयमा गएका छैनौँ,’ कांग्रेस बेलका नगर सभापति सुशील सेढाईं भन्छन्, ‘मौखिक रूपमा अहिले आउन नसक्ने जानकारी गराएका छौँ । अनुगमनचाहिँ सदस्यका रूपमा होइन, आफ्नै तरिकाले गरिरहेका छौँ ।’


त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागको ‘समावेशी लोकतन्त्र र स्थानीय सुशासन’ विषयक अनुसन्धानका लागि बेलका नगरपालिका पुगेका मानवशास्त्री सुरेश ढकाल र जनक राईलाई पनि प्रतिपक्षको कार्यालय अनौठो लाग्यो । ढकालले ट्वीटरमा फोटोसहित ‘सम्भवतः यो नेपालमै नयाँ अभ्यास हो’ लेख्दै प्रशंसा गरेपछि यसले चर्चा पायो र ट्वीटरमा बहसै चल्यो । कतिले संविधानमै व्यवस्था नभएको भनेर टिप्पणी गरे भने कतिले राम्रो काम भनेर प्रशंसा गरे । 


विकासमा सहभागिता


बेलकाले विकासका काममा अन्य पार्टी र समुदायलाई पनि सहभागी गराएको छ । नगरप्रमुख थापाले चुनावका बेला आफूसँग प्रतिस्पर्धा गर्ने अन्य पार्टीका उम्मेदवार र आफ्नै पार्टीका टिकटका आकांक्षीहरूलाई आफ्नो सल्लाहकारमा नियुक्त गरेका छन् भने विभिन्न विभागको जिम्मेवारीसमेत दिएका छन् ।


बेलकाले विकासका लागि नयाँ मोडल अभ्यास गरिरहेको छ । नगर क्षेत्रका प्रत्येक वडामा २० वटासम्म टोल विकास संस्था गठन गरिएका छन् । ती टोल र वार्डको बैठकपछि हरेक महिनाको ४ गते नगरपालिकाका विभिन्न विभागको बैठक बस्छ । ५ गते सर्वदलीय बैठक हुन्छ । ६ गते ‘नगर सरकार’ मा रहेको दल नेकपामा छलफल हुन्छ । त्यसपछि ७ गते नगरपालिकाको बोर्ड बैठकमा निर्णय गरिन्छ । यो अभ्यासले विकासमा आउने विवाद कम भएको नगरप्रमुख थापाको अनुभव छ । 

 

जग्गा नापी गर्दै नगर


३ सय ३९ वर्गकिलोमिटर क्षेत्रफलको बेलका नगरमा ७३ प्रतिशतभन्दा बढी जमिन ऐलानी छ । हरेक राजनीतिक दलले चुनावका बेला जग्गा नापी गरेर धनीपुर्जा दिने घोषणा गरेका थिए । चुनावपछि पहिलो नगरसभाबाट जग्गा नापी गर्ने विषय पास भयो । स्थानीय तहमा यो पनि नयाँ अभ्यास हो ।


नेपालको संविधान २०७२ को अनुसूची ८ मा स्थानीय सरकारका अधिकारबारे उल्लेख छ । त्यसको १४ नम्बर बुँदामा ‘जग्गा रजिस्ट्रेसन र लालपुर्जा वितरण’ भन्ने लेखिएको छ । त्यसैका आधारमा नगरपालिकाले संघीय सरकारमा निवेदन दियो । नापी विभागमा कुरा गर्‍यो । ०७५ को माघ १ बाट जग्गा नापी सुरु भयो । नगरका जम्मा १२ हजार घरमध्ये ९ हजार घरपरिवारको ऐलानी जग्गा नापी भएको नगरप्रमुख थापा बताउँछन् ।  आर्थिक वर्ष २०७८/७९ मा मात्रै १७ सय ५ कित्ता नापी भइसकेको उनको दाबी छ ।


‘बेलकामा कोही भोकै बस्दैन’


५४ हजार १ सय २२ जनसंख्या रहेको नगरमा ‘बेलकामा कोही भोकै बस्दैन’ भन्ने नारा छ । नगरपालिकाले काम गर्न सक्नेलाई काम र नसक्नेलाई खाद्यान्न दिने निर्देशिका बनाएको छ ।


नगरपालिकाले बनाएको भिलेज प्रोफाइलमा अति विपन्न र खानै नपाउनेको सूची पनि छ । उनीहरूलाई ‘अति विपन्न परिचय पत्र’ वितरण गरिन्छ । काम गरेर खान सक्नेलाई भने नगरपालिकाले तालिम दिएर जग्गा र बीउ उपलब्ध गराउँछ । नगरका ज्येष्ठ नागरिकको सम्मानमा नगरपालिकाले निःशुल्क चिया व्यवस्था गरेको छ । 

 

‘जहाँ अभर त्यहाँ नगर’


समस्यामा परेकालाई तत्काल सेवा दिन नगरपालिकाको ‘जहाँ अभर त्यहाँ नगर’ (सपोट अन द स्पट) कार्यक्रम छ । आगलागीपीडित, हात्तीपीडितलाई खाने–बस्ने व्यवस्था, सर्पले डसेर, रूखबाट लडेर वा दुर्घटनामा परेर घाइते भएकालाई तत्काल उपचारको व्यवस्था, अस्पतालसम्म लैजाने पैसा नहुनेलाई गाडी वा एम्बुलेन्सको भाडा दिने गरिन्छ । क्यान्सरपीडितलाई पनि सहयोग गर्छ । 


नगरमा दुई एम्बुलेन्स छन् । त्यसमध्ये एउटा गर्भवती महिलाका लागि निःशुल्क रहेको नगर प्रमुखका स्वकीय सचिव नुनीराम राई बताउँछन् । बेलकामा सर्पदंशको ठूलो समस्या थियो । नगरपालिका बनेपछि सर्पदंश उपचार केन्द्र स्थापना गर्दागर्दै स्थानीय अस्मिता राईको सर्पको टोकाइबाट मृत्यु भयो । त्यसपछि उनैको नाममा नगरपालिकाभित्रै ‘अस्मिता सर्पदंश उपचार केन्द्र’ खोलिएको छ । बेलका–२ मा अर्को पनि सर्पदंश उपचार केन्द्र सञ्चालनमा छ । नगरपालिकाले मेची आँखा अस्पतालसँग सहकार्य गरेर आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । 


शिक्षामा सुधारको पहल


नगर क्षेत्रका सरकारी विद्यालयको गुणस्तर सुधार्न नगरपालिकाले आफ्नै मोडलको विकास गरेको छ । नगरका ५३ विद्यालयमा ९÷९ जनाको व्यवस्थापन समिति गठन गरिएको छ । समितिका सदस्य ३÷३ दिन पालैपालो विद्यालयमा अनिवार्य उपस्थित हुन्छन् र रेखदेख गर्छन् । 


सानोतिनो मर्मतसम्भार विद्यार्थी, विद्यालय व्यवस्थापन र अभिभावकले गरे पनि शिक्षक अभाव र ठूलो खर्च हुने काम नगरपालिकाले गरिदिन्छ । नसके प्रदेश र संघमा पहल गर्छ । शिक्षक अभाव भएका विद्यालयका लागि नगरपालिकाले करिब सय स्वयंसेवक शिक्षक नियुक्त गरिदिएको छ । त्यसबाहेक विपन्न समुदायका बच्चालाई ट्युसन पढाउन मुसहर बस्ती र पुरन्दहमा दुई जना शिक्षक राखिएको छ । खेल क्षेत्रमा लागेका विद्यार्थीलाई नगरपालिकाले नै ट्युसन पढाइदिन्छ । सबै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, नगरपालिका र जनप्रतिनिधिले आफ्ना छोराछोरी सरकारी विद्यालयमै पढाउने प्रतिबद्धतापत्र नै सार्वजनिक गरेका छन् । 


उत्पादनमा जोड


बेलका नगरपालिका परिसरमै ‘कृषि सिकाइ केन्द्र तथा प्रदर्शनी स्थलमा स्वागत छ’ लेखिएको ब्यानर राखिएको छ । त्यहाँभित्र साग, गोलभेँडा, काउलीलगायत रोपिएका छन् ।  नगरले ६० हेक्टरमा फलफूल  खेति गरेको छ ।


नगरले निर्धारण गरेका १० वटा प्राथमिकताका क्षेत्रमा कृषि र पशुपक्षीको विकास पहिलो स्थानमा राखिएको छ । नगरले बारी बाँझो राख्न नपाइने, चकलाबन्दी खेती गर्ने नीति बनाएको छ । बेलकामा उत्पादि कृषिजन्य वस्तु बिक्री तथा निर्यात गर्न विभिन्न कम्पनी नगरमा ल्याइएका छन् । 


९ वटै वडामा रिङरोड निर्माण गरिएको छ । ती सडकको रेखदेख गर्न हेरालु राखिएका छन् । बेलकामा उत्पादित गुन्दु्रक, तितौरा–मस्यौरा किन्न ‘राशनपानी डटकम’ ले नगरपालिकासँग सम्झौता गरेको छ । 

 

जनतासँग जनप्रतिनिधि


सानातिना विकासका काम झन्झटरहित ढंगले गर्न नगरपालिकाले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गर्ने निर्देशिका बनाएको छ । कुनै टोलबासीले आग्रह गरेमा नगरप्रमुख र विभिन्न शाखाका प्रतिनिधिको टोली कार्यालय समयबाहेक बिहान–बेलुकाको समय मिलाएर टोलमा पुग्छ । 


नगरको निर्देशिकाले नै जहाँ जनप्रतिनिधि पुग्छन्, त्यहाँ कुनै काम अत्यावश्यक देखेमा निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । ‘पहिला निवेदन दिने, वार्डको सिफारिस लिने, अनुगमन लगायतमा धेरै समय र खर्च लाग्थ्यो,’ नगरप्रमुख थापा भन्छन्, ‘यो झन्झटबाट मुक्त गर्न स्पटमै निवेदन लिएर आफैँले हेरेर निर्णय गरिन्छ । त्यही टिप्पणी उठ्छ, त्यहीँ सदर हुन्छ । तोक लागेपछि सामान लगेर काम सुरु हुन्छ ।’


सेवामा घुम्ती शिविर हुने गरे पनि विकासमा घुम्ती शिविर बेलकाको मौलिक मोडल हो । कार्यालयमा आएर गर्नुभन्दा सम्बन्धित ठाउँमा पुगेर गर्दा प्रभावकारी भएको नगरप्रमुखको अनुभव छ । नगरपालिकाले सुशासन वृद्धि गर्न चार/चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने गरेको छ । नगरका सेवा र काम सार्वजनिक गर्न नागरिक बडापत्रसँगै फेसबुक पेज, वेबसाइड, मोबाइल एप्स बनाइएको छ । 


विकासको नमुना बन्दै


बेलकाले एक वर्षमा एक लाखभन्दा बढी वृक्षारोपण गरेको छ । पर्यटन विकासका लागि प्याराग्लाइडिङ तालिम केन्द्र सञ्चालनमा छ । सप्तकोसी नदीमा जेटबोट सञ्चालन गरिएका छन् । नगर क्षेत्रको डाँडैडाँडा पदमार्ग बनाउन र २२ पर्यटन स्थलका डीपीआर निर्माण भइसकेका छन् । जसमध्ये भूँतिया दहमा स्थानीयको सहभागीतामा पार्क निर्माण सुरु भइसकेको छ ।


नगरले स्थानीयकै सहमतिमा तीन दर्जन चिहान भत्काएर त्यहाँ खेल मैदान बनाएको छ । प्रदेश र संघीय सरकारसँग मिलेर आठ बिघामा औद्योगिक ग्राम बन्दै छ । कृषि क्याम्पस र अस्पताल बनाउने योजना नगरले अघि बढाइसकेको छ । 


मिहिनेती नगरप्रमुख 


बिहानदेखि बेलुकासम्म नगरकै काममा खट्छन्, नगरप्रमुख थापा । छलफल गर्छन्, योजना बनाउँछन् र सबैको सल्लाहमा नीति बनाउँछन् । देशमा कोरोना संक्रमण फैलिएपछि उनले आफू चढ्ने गाडी कोरोना नियन्त्रणका लागि दिए ।  आफू भने हिँडेरै कार्यालय आउजाउ गर्न थाले । नगरपालिकामा अहिले २ वटा भेन्टिलेटर सहितको स्वास्थ्य सेवा उपलब्ध छ । दाताको सहयोगमा नगरमा आफ्नै अक्सिजन प्लान्ट निर्माण गरेका छन् । ०५५ मा सरकारबाट उत्कृष्ट जनप्रतिनिधिको पुरस्कार पाएका थापाले ०७० मा राष्ट्रपतिबाट उत्कृष्ट बालअधिकारकर्मीको पुरस्कार पाए । उनले बाल भरियालगायत विषयमा अध्ययन गरेका र किताब लेखेका छन् ।