close

जस्तापाताको चिसोमा मनाङका तालबासी

जस्तापाताको चिसोमा मनाङका तालबासी

Trulli
ADVERTISEMENT

मनाङ– चिसो बढेसँगै माथिल्लो मनाङका वासिन्दा जिल्ला बाहिर झरिसकेका छन् । मनाङका नार्पाभूमि गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अधिकांश मानिस घर कुरुवा राखेर काठमाडौं, पोखरालगायत सहरमा पुगिसकेका छन् । 


बाढीले क्षति पुर्‍याएका चामे र नासो गाउँपालिकाका मानिस भने जाडोयाममा जिल्लामैै बसोबास गर्छन् । झनै यसपटक बाढीका कारण घरबारविहीन भएका यहाँका मानिस राहतमा आएका जस्तापाता तथा प्रदेश सरकार र गाउँपालिकाले उपलब्ध गराएको राहत रकमले बगर पन्छ्याएर बसेका छन् । उनीहरू जस्तापाताको टहरामा दिन काटिरहेका छन् । उनीहरू अहिलेको यो चिसोमा पनि मस्र्याङ्दीको किनारमा बगर पन्छ्याउँदै कष्टकर जीवन बिताइरहेका छन् । 

 

मनाङको तल्लो क्षेत्र नासो गाउँपालिका वडा नम्बर १ सिरानतालमा सात घर थिए । गत ३१ जेठ रातीदेखि परेको अवरिल वर्षाले मस्र्याङ्दीमा बाढी आउँदा सबै बगायो । स्थानीय राजन गुरुङका अनुसार अहिले कुन ठाउँमा कुन घर थियो भनेर अड्कल गर्न पनि सकिँदैन । जसोतसो मान्छे जोगिए पनि घरबारी सबै बगायो । घर भएको ठाउँ पूरै बगर बनेको छ । पहिलेको ठाउँमा अब अर्को घर बनाउन पनि मिल्दैन ।


भीरपाखाको ओडार र छेलमा बसेर रात कटाएका स्थानीय अहिले कोही तालबजारको छिमेकीकहाँ छन् । कोही बेंसीसहर आफन्तकोमा  । सिरानतालकै दूधजंग गुरुङको परिवार तालबजारस्थित कवीन्द्र गुरुङको घरमा एउटा कोठा भाडामा लिएर बसेको छ ।  बाढीले डुबाएको कवीन्द्रको घरका कोठाबाट बालुवा झिकेर पत्नी र छोरीसहित ३ जनाको परिवार एउटा कोठामा बसेको छ । तालडाँडामा पालमुनि बस्दै आएको परिवार चिसोले सताउन थालेपछि ३ साताअघि मात्रै कवीन्द्रको घर आएका हुन् । ‘दाताले दिएको पालमुनि बसियो । चिसोले सकिएन । तपतप चिसो चुहिएपछि डेरा खोजेर बस्यौँ’, उनले भने ।

 

उनका अनुसार हिउँद अगाडि जस्तापाताको अस्थायी टहरा बनाउने योजना छ । यसका लागि गण्डकी प्रदेश सरकारले २ लाख रुपैयाँ दिएको छ । ‘हामी घरबारविहीन भएको ७ महिना भयो । प्रदेश सरकारले चेक दिएको छ । अब घर टहरा बनाउनुपर्ला’, उनले भने, ‘चिसो छल्न आफन्तको घरमा कोठा लियौँ । २ लाखले घर बन्दैन । टिन जस्तापाताले बार्ने र टिनैको छानो हाल्ने हो । टिनले पनि के जाडो छेकिएला र ?’

 

तालबजारकै खिमबहादुर गुरुङको घरमा कोठा लिएर बसेका भीमबहादुर गुरुङले पनि २ लाख रुपैयाँको चेक बुझेका छन् । पत्नी, दुई छोरी र एक छोरा अहिले कोठामा बसेका छन् । मस्र्याङ्दीले घर सबै पुरिएपछि उनी तालडाँडामा विस्थापित भएका थिए ।

 

‘तालडाँडामै टेन्ट लगाएर बसियो । घर र खाद्यान्न सबै बाढीले डुबायो । दाताले दिएको राहत पनि सकियो’, उनले भने, ‘राहतको पैसाले सानोतिनो टहरा बनाउनुपर्ला । घर बनाउन पछि केन्द्र सरकारले दिने भनेको छ ।’

 

नासों वडा नम्बर १ का वडाध्यक्ष झलकबहादुर गुरुङले पूर्ण क्षतिको सूचीमा परेको तालगाउँका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री राम्जी बरालले धारापानीमा आएर २/२ लाखको चेक हस्तान्तरण गरेका थिए । ‘घर बनाउन पैसापछि आउँछ भन्नुभएको छ’, उनले भने, ‘केन्द्र सरकारले दिने हो कि प्रदेशले दिने हो, त्यो उहाँले भन्नुभएन ।’ 

 

अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ रहेकामा ३९ जनाले २ लाखका दरले राहत पाएको बताए । ५ जनाको भने केही कागजात अपुग भएको भन्दै नपाएको उनको भनाइ छ । उनका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन भन्दै उक्त रकम दिइएको हो । ‘घरबारविहीन भएको ७ महिना भयो । जनता भोकै छना कि, नांगै छन् कि भनेर वास्ता नगर्ने भनेर गुनासो गरेँ । नियम, प्रक्रियाले गर्दा ढिलो भयो भन्ने कुरा मन्त्रीबाट आयो’, उनले भने ।

 

उनका अनुसार केन्द्र सरकारले ५ लाख दिने भन्ने कुरा छ तर कसरी दिने भनेर प्रस्ट छैन । ‘केन्द्रले ६० प्रतिशत, प्रदेशले ३० र स्थानीय तहले १० प्रतिशत रकम पुनःनिर्माणका लागि दिने भन्ने थियो’, उनले भने, ‘२ लाख के भनेर दिएको हो, प्रस्ट छैन । प्रदेशले फेरि दिन्छ वा दिँदैन, त्यो पनि प्रस्ट छैन ।’


प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख रुपैयाँ बजेट आएको थियो । प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार १ लाख र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख आएको उनले बताए ।
उनका अनुसार यो रकम निजी आवास पुनःनिर्माणका लागि प्रदेश सरकारको विशेष राहत हो । संघीय र स्थानीय सरकारको रकम आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । ‘बाढीपहिरोपीडितको पुनःस्थापना तथा घर पुनःनिर्माणका लागि हो । प्रदेश सरकारबाट अर्को रकम आउँछ वा आउँदैन, यसै भन्न सकिँदैन’, उनले भने ।

 

मन्त्री बरालले भने विशेष प्याकेजका रूपमा बाढीपीडितलाई उक्त रकम प्रदान गरिएको बताए । नासो गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष झलकबहादुर गुरुङका अनुसार तालगाउँका सबै घर डुबानमा परेका छन् । सिरानतालको ७ घरसहित करिब ६० घर डुबानमा परेको उनले जानकारी दिए ।

 

नासो गाउँपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत गोविन्दबहादुर रानाभाटका अनुसार पालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिराले क्षति पुर्‍याएको छ । यसमा पूर्ण क्षति भएका ४४ घर छन्  । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् । आंशिक क्षति न्यून जोखिमका २३ घर छन्  । यी घर मर्मत गरेर बस्न सकिन्छ ।  उनका अनुसार वडा नम्बर १ को तालमा मात्रै ५८ घरमा क्षति पुगेकामा २३ घरमा पूर्ण क्षति छ । १५ घर आंशिक क्षति तर उच्च जोखिममा छन् । १३ घर आंशिक क्षति छन्  । ८ घरमा सामान्य क्षति छ  । 

 

तालका १५ घर परिवार अरूकोमा आश्रय लिएर बसेका छन्  । परिवार अन्यत्रै सरेका छन्  । नासों वडा नम्बर ३ धारापानीका १४ परिवार आफन्तकोमा आश्रय लिएका छन् । पूर्ण क्षति नभए पनि आफ्नो घरमै बस्न नसकेका, लामो समयसम्म अन्यत्रै बस्न बाध्य भएका र आफ्नो घरमा बस्दा पनि मर्मत गरी बस्नुपर्नेलाई राहतमा नसमेटेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।