close

निर्माण भएको ४ वर्षमा पनि प्रयोगमा आएन प्रसूति गृह (भिडियोसहित)

निर्माण भएको ४ वर्षमा पनि प्रयोगमा आएन प्रसूति गृह (भिडियोसहित)

ADVERTISEMENT

रौतहट । गुजरा नगरपालिका–२, कटाँनी टोलमा रहेको रंगपुर स्वास्थ्य चौकीमा दातृ संस्थाहरूको सहयोगमा ४ वर्षअघि  प्रसूति गृह निर्माण सम्पन्न भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । 

अनेकौँ बहाना देखाएर प्रसुति गृह सञ्चालन नभएपछि स्थानीय महिलाहरू सुत्केरीका लागि अन्यत्र जानुपर्ने बाध्यता छ । यो प्रसूति गृह निर्माणमा नेपाल सरकार र वेलायत सरकारको सहयोगमा नेपाल ग्रामिण पुननिर्माण संस्थाद्धारा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सिडिपी) को तर्फबाट ३३ लाख ७७ हजार ६१६ रुपैयाँ प्राप्त भएको थियो । जसमा गुजरा नगपालिकाले ५ लाख ४ हजार २०० र स्थानीयबाट सहयोग स्वरुप थप २ लाख १४ हजार ८६४ रुपैयाँ प्रास्त भएको थियो । 

कुल ४० लाख ९६ हजार ६८० रुपैयाँको लागतमा २०७४ सालमा नै निर्माण सम्पन्न भएको यो प्रसूति गृह अहिले पनि सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको ४ वर्ष हुँदा समेत प्रसूति गृह सञ्चालनमा आउन नसक्दा यहाँका महिलाहरू सुत्केरी हुन कष्टपूर्ण यात्रा गर्दै जोखिम मोलेर चन्द्रपुर, वीरगंज, भरतपुर जानुपर्ने वाध्यता रहेको रंगपुर स्वास्थ्य चौकीकी अनमी राधाकुमारी भट्टराई बताउँछिन् । 

व्यवस्थित प्रसूति गृह नहुँदा घरमै असुरक्षितरुपमा सुत्केरी गराउन बाध्य स्थानीय आफ्नै गाउँमा प्रसूति गृह बनेपछि निकै खुसी बनेका थिए । महंगो खर्च गरेर अन्य सहरका अस्पतालमा जानुपर्ने झण्झटबाट मुक्ति मिल्ने आशा उनीहरूलाई थियो । तर, अहिले उनीहरू निकै निराश बनेका छन् । यही कारण जतिसक्दो चाँडो प्रसूति गृह सञ्चालनमा ल्याउन उनीहरूको माग छ ।

रंगपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार प्रसूति गृह सञ्चालनको लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सूचीकृत हुनुपर्छ । तर निर्माण सम्पन्न भएको ४ वर्ष बित्दा समेत यो प्रसूति गृहमा कम्पाउण्ड वाल, स्वास्थ्यकर्मी बस्ने क्वाटर लगायतका पूर्वाधार निर्माण हुन सकेका छैनन् ।

यता गुजरा नगरपालिकाले केन्द्र सरकारसँग प्रसूति गृह सञ्चालनको लागि आवश्यक वजेटको पहल गरिसकेकाले अब चाँडै सञ्चालनमा आउने नगरपालिका उपप्रमुख रत्ना लामा दाबी गर्छिन् ।  प्रसूति गृह सञ्चालनमा नआउँदा सबैभन्दा बढी मार आर्थिक रुपमा कमजोर समुदायका महिलाहरूलाई परेको छ ।