close

बुटवल उपमहानगर ६४ औं बर्षमा : मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व, बटौली-खस्यौली अनि बुटवल

पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिएपनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालिएको थियो

बुटवल उपमहानगर ६४ औं बर्षमा : मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व, बटौली-खस्यौली अनि बुटवल

पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिएपनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालिएको थियो

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगर स्थापनाको ६४ बर्ष पुगेको छ । बटौली बजार बिस्तारै शहरीकरण उन्मुख हुँदै गरेको अवस्थामा तत्कालिन विपि कोइराला नेतृत्वको सरकारले बटौली बजारलाई बि.सं.२०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नामाकरण गरिएका थियो । तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले बि.सं.२०१६ देखि २०१७ सम्म गरे । 

बुटवलको दोश्रो मेयरका रुपमा ओमशंकर श्रेष्ठले २०१९ देखि २०२३ सम्म, परीक्षितप्रसाद लाकौलले २०२४ देखि २०२६ सालसम्म नेतृत्व गरे । पञ्चायती व्यवस्थाको मध्य र उत्तरार्धकालिन अवस्थामा सरस्वतीप्रसाद शेरचन बुटवलका मेयर थिए । उनी २०२६ देखि २०२८ सम्म र २०३३ देखि २०३६ गरी पाँच बर्ष नेतृत्वमा रहे ।  

हरिबहादुर सिंह २०२६ मा मेयर भए भने सूर्यलाल २०३० मा नेतृत्वमा आए । प्रजातन्त्रको आन्दोलन चरमउत्कर्षमा पुगेका बेला २०३६ देखि तीन बर्ष बुटवलको नेतृत्व बृजमान श्रेष्ठले गरे । 

प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान २०४९ देखि ०५३ सम्म र भोज प्रसाद श्रेष्ठ २०५४ देखि २०५९ सम्म नगरप्रमुख भए । सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरेका थिए । 

माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनाबबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बनेपनि लोकतन्त्र स्थापना पछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो । 

१५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुखमा निर्वाचित भएका थिए भने दोश्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय निर्वाचित भएका छन् । 

बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म
पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिएपनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालिएको थियो । २०७१ साल मंसिरमा उपमहानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख शहरका रुपमा परिचित छ । विगतमा अहिलेको मुख्य बजार भन्दा तिनाउ पारी थियो बटौली बजार । २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा स¥यो । 

खस्यौलीमा पूर्वाधारहरु थपिदैँ गएपछि बजारले बुटवल शहरको रुप लियो । बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो । पछिल्लो समय बुटवल मुलुकको महत्वपूर्ण अनि पूर्वाधारयुक्त शहरको रुपमा स्थापित भएको छ । ६ लेनका फराकिला सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलजस्ता राष्ट्रिय स्तरका संरचनाले बुटवलको प्रतिष्ठा बदल्दै छ । देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ । बुटवल भौतिक पूर्वाधारमा मात्रै नभई मानव संसाधनका दृष्टिले अगुवा शहरका रुपमा स्थापित हुने नगर प्रमुख खेलराज पाण्डेय बताउनुहुन्छ । ‘यो ५ वर्षमा बुटवलले आफुलाई देशकै अगुवा शहरका रुपमा स्थापित गर्नेछ, उहाँले भन्नुभयो–बुटवल बर्दघाटदेखि चन्द्रौटासम्मको नेतृत्व गर्ने केन्द्रका रुपमा स्थापित हुने क्रममा रहेको छ ।’ 

स्थापना दिवस मनाउँदै उपमहानगर

स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको बुटवलले बुधबार मूल समारोह तथा सम्मान कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । 

प्रमुख पाण्डेयका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तरगत अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल, पत्रकार र राजनीतिक दलबीच भलिबल, कर्मचारीहरुका बीचमा भलिबल, टेबुलटेनिस, घैटोफोरलगायतका कार्यक्रम सम्पन्न भएका छन् । 

नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङ स्थापना दिवसको कार्यक्रममा सहभागि हुँदैछन् । बुधबार मूल कार्यक्रममा बुटवलभित्रका उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट टोल विकास संस्था, उपभोक्ता समिति, उत्कृष्ट निर्माण व्यवसायीलगायतलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिनुभयो । 

यस्तै, मूल समारोहकै अवसरमा विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गर्ने र सहभागीमध्ये उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।