close

उजेली दिदीहरूको आशाः पर्यटक बढ्लान र गाउँले फर्केलान

उजेली दिदीहरूको आशाः पर्यटक बढ्लान र गाउँले फर्केलान

Trulli
ADVERTISEMENT

गण्डकी  । माछापुच्छ्रे हिमालको काखैमा ढुङ्गैढुङ्गाले छापिएको सुन्दर बस्ती छ । उक्त बस्तीमा तलबाट दैनिक धुलो उडाउँदै हुइँकिन्छन् बस र जीप । उक्त घलेल गाउँ भने सुनसान जस्तै छ । माछापुच्छ्रे गाउँपालिका ८ र ९ मा पर्ने घलेल गाउँ पोखरा-बागलुङ राजमार्गको हेम्जाबाट करिब १७ किलोमिटर दूरीमा रहेको छ । पोखराको टुँडिखेलस्थित हरिचोकबाट हेम्जाहुँदै मर्दिपुल, खानेपानी, भेडाबारी, खोरामुख, लुम्ब्रे हुँदै करिब डेढ घन्टामा घलेल गाउँ पुग्न सकिन्छ । लुम्ब्रेसम्म बाटो कालोपत्र भइसकेको छ ।

गाउँमा चार सय घर भएकाले पहिला यो गाउँलाई ‘चार सय घलेल’ भन्ने गरिन्थ्योे । पछिल्लो समय शिक्षा, रोजगारी तथा सुविधाको खोजीमा सहर पस्नेको सङ्ख्या बढ्न थालेपछि अहिले गाउँमा २० देखि २५ प्रतिशत मानिस मात्रै बस्ने गरेका छन् ।

मर्दी हिमाल जाने पदमार्ग यही गाउँ भएर जाने भएकाले पर्यटकीय सम्भावना देखेर यहाँका बासिन्दाले विसं २०६७ देखि घलेल सामुदायिक होमस्टे (घरवास) सञ्चालन गर्दै आएका हुन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घरवास सञ्चालनमा ल्याए पनि पर्यटकको अभावले गर्दा गाउँ पछि परेको होमस्टे (२ नं घर) की सञ्चालिका उजेली गुरुङले बताए ।

उजेली दिदीका नामले परिचित उहाँको घर गाउँको सिरानमा छ । उनले दुई कोठासहित चार खाट पर्यटककै लागि छुट्याउनुभएको छ । खाटमा ओछ्याइएका सिरक, डसना तथा सोफा छन् । घरको मझेरीदेखि पिँढी, आगन सफा र चिटिक्क पारिएकोे छ । होमस्टेमा फाट्टफुट आउने पाहुनालाई सञ्चालक समितिको व्यवस्थाअनुसार घरघरमा बाँडेर राख्ने गरिएको उजेलीले बताए । गाउँका नौ घरमा घरवास सञ्चालन गरिएको छ । 

उनले छिमेकी ल्वाङ गाउँ र घलेलमा सँगै घरवास सञ्चालनमा आएको बताए । 'सँगै घरवास सुरु भएको ल्वाङमा पर्यटकको आवागमन बढी छ । त्यहाँ त्यस्तो चहलपहल हुँदा यहाँ भने सुनसान छ', उजेलीले गुनासो गरे । गाउँमा अधिकांश दसवर्ष मुनिका र ४५ वर्ष माथिका नागरिक बढी छन् ।  युवा जनशक्तिको अभावका कारण पनि पर्यटकको आगमन बढाउन नसकिएको उनको भनाइ थियो ।

गाउँमा आउने पर्यटकले यामअनुसार लेकतिर हुने टुसादेखि निउरो, कोदो, मकै, फापरको ढिँडो रोटी आदिको स्वाद चाख्न पाउँछन् । एकै दिनमा ५० देखि ६० जनासम्म पर्यटकलाई राख्न सकिने यहाँका घरवासमा  प्याकेजमा एक रातका लागि रू एक हजारमा खाजा, खाना र बासको व्यवस्था मिलाइएको छ । 

घरवासमा भित्रिएका पाहुनालाई बाजागाजाका साथ टीका र माला लगाएर स्वागत गर्दै बास बस्न घरघर पठाइन्छ । बेलुकाको बास र खाना छुट्याइएका घरमा व्यवस्था भए पनि स्थानीयवासीले पर्यटकको मागअनुसार बेलुका समाज घरमा सामूहिक विभिन्न साँस्कृतिक कार्यक्रम पनि देखाउने गर्दछन् । बिहान उठेपछि पाहुनालाई मकै, अण्डा, चियासहितको खाजा खुवाउने गरिन्छ । बिहान पर्यटक गाउँबाट झण्डै एक घण्टा ठाडो उकालो सिँढी उक्लेर महागुरु गुफा र बीचको तारे बराहसम्म हाइकिङमा जाने गर्दछन् । 

महागुरु गुफा र तारे बराह यहाँको धार्मिक तीर्थस्थल रहेको स्थानीय हितकाजी गुरुङले बताए । घलेल गाउँलाई धार्मिक पर्यटनसँग पनि जोड्ने उद्देश्यका साथ गुफा तथा बराह मन्दिरलाई थप व्यवस्थित गर्न गाउँपालिका र प्रदेश सरकारले चासो दिएको उनको भनाइ थियो । 'गुफालाई व्यवस्थित गर्न पालिकाले रू नौ लाख विनियोजन गरेको छ भने तारे बराह मन्दिरका लागि गण्डकी प्रदेश सरकारले रू १० लाख विनियोजन गरेको छ', गुरुङले भने । गुफा र मन्दिर निर्माण भइरहेको छ । 

मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा उक्त मन्दिरलाई लिइने उहाँले बताउनुभयो । प्रत्येक वर्ष वैशाख पूर्णिमा र दशैँमा बलिपूजासहित यहाँ पूजा गरिन्छ । बराहले गाउँ र स्थानीयवासीलाई संरक्षण गरेको जनविश्वास छ । विगतमा पानी, बत्ती, सडकलगायत आधारभूत पूर्वाधारको समस्या रहे पनि अहिले भने सबै सुविधा गाउँघरमा पुगेका छन् । 

सूचना प्रविधिको बढ्दो विकाससँगै गाउँका घरमा इन्टरनेटको पहुँच पुगेको सामुदायिक होमस्टेका सचिव सुनकुमारी गुरुङले बताए । बसाइँसराइका कारण पनि गाउँमा युवावर्ग नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती देखिएको उनको भनाइ थियोे । 'सँगै स्थापना भइ सञ्चालनमा आए पनि ल्वाङवासीलाई पर्यटक भित्राउन भ्याइनभ्याइ छ । यहाँको बाटोमा बस तथा जीप हेरेर टोलाउनु परेको छ', उनले बताए  । गाउँ छोडेर बसाइँ सर्ने क्रम कम भएमा गाउँमा प्रचारप्रसार गर्न सकिने तथा पर्यटक पनि बढदै जाने उनले बताए ।

माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङले शिक्षा, रोजगारी तथा सुविधाको खोजीमा सहरतिर बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएकाले गाउँमा बालबालिका, वृद्धवृद्धा र आर्थिक अवस्था कमजोर भएका वर्ग मात्रै बसोबास गर्दै आएको बताए । 'घलेल चलचित्र छायाङ्कनका लागि पनि उपयुक्त गन्तव्य हुने भन्दै उनले प्रचारप्रसारको अभावमा यस गाउँले विकासमा अपेक्षित फड्को मार्न सकेको छैन,' उनले भने ।

गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले घलेल हुँदै दैनिक करिब चार सयदेखि पाँच सय पर्यटक मर्दी हिमाल तथा खुमै पदयात्राका लागि जाने गरेपनि उनीलाई यहाँ बसाउन नसकिएको बताए । 'मर्दी पदयात्रामा जाने पर्यटकलाई एक रात घलेलमा बस्ने वातावरण बनाउन सके यहाँको पर्यटन प्रवर्द्धन  हुने थियो', उनले भने , 'यसको प्रचारप्रसारसँगै गाउँलाई चलचित्र छायाङ्कनको आकर्षक गन्तव्यका रूपमा पनि विकास गर्न सकिने सम्भावना छन् ।”