close

‘लग्जम्बर्गजस्तै बेथानचोक’

‘लग्जम्बर्गजस्तै बेथानचोक’

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। लग्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फोइड शुक्रबार बेथानचोक गाउँपालिका पुगे। जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोकको परिवेश र स्थानीय बालीनाली देखेर उनलाई लग्जम्बर्गको कुनै भूगोलमै छु झैँ लाग्यो । 

गाउँपालिकाको प्राङ्गणमा ग्रामीण विकास महिला तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडका पदाधिकारी एवं स्थानीयसँगको एक भेटमा सोधे, ‘नमस्कार, बेथानचोक आराम हुनुहुन्छ ?’ उपस्थित सबैले आराम छौँ, अनि तपाई? भन्नेबित्तिकै फोइडले भने, ‘मेरो नाम फ्रन्ज फोइड हो, मलाई बेथानचोक र लग्जम्बर्ग उस्तै लाग्यो ।’

कार्यक्रममा बोल्ने क्रममा बेथानचोक जाँदाको छोटो अनुभव सुनाउँदै मन्त्री फोइडले भने, ‘यता आइरहँदा बाटोमा देखेको आलुखेती, यहाँको रूखबिरुवा देख्दा म लग्जम्बर्गमै छु झैँ लाग्यो, लग्जम्बर्गको मुख्य उत्पादन पनि आलु नै हो, बेथानचोकमा पनि आलु धेरै उत्पादन हुँदोरहेछ ।’ उनले यत्ति भनिरहँदा स्थानीय खुसीले गदगद् देखिन्थे । दोभासेमार्फत यी कुरा सुन्दा स्थानीय खुसी हुँदै मन्त्री फोइडलाई तालीले अभिनन्दन गरिरहन्थे ।
 
स्थानीय ग्रामीण विकास संस्था (एआरडी)सँगको सहकार्यमा गाउँपालिकासँग मिलेर लग्जम्बर्गको एइआइएन लक्जम्बर्ग नामक संस्थाले बेथानचोकमा सञ्चालन गर्दै आइरहेका विभिन्न परियोजनामध्ये तरकारी उत्पादन तथा बजारीकरणको जानकारी लिन फोइड यहाँ पुगेका हुन्। लग्जम्बर्गले बेथानचोकमा जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारीका माध्यमबाट कृषि तथा फलफूल उत्पादन एवं बजारीकरणमा सहयोग पु¥याउँदै आइरहेको छ । 

संस्थाका अध्यक्ष विमला अधिकारीले तरकारी ढुवानीका लागि एइआइएन लक्जम्बर्गबाट रु २५ लाख ८० हजार सहयोग प्राप्त भएको र उक्त रकमबाट सवारी साधन खरिद गरिएसँगै बजारीकणका लागि सहज भएको जानकारी गराए। स्थानीयले बेथानचोकमै एउटा शीतभण्डार (कोल्डस्टोर) भए सहज हुने अपेक्षात्मक भनाइलाई मन्त्री फोइडले बेथानचोकका गाउँबस्तीमा बाटो निर्माणको चरणमा रहेकाले अबका केही महिनामा यहाँको कृषि उपज सहजै केन्द्रीय राजधानी काठमाडौँसम्मै लैजान सकिने भएकाले अन्य आवश्यकता बताउन आग्रह गरे।
 
मन्त्री फोइडले भने, ‘आवश्यकताका बारेमा गाउँपालिका (स्थानीय सरकार)सँग सहकार्य गर्न सकिन्छ, भर्खरै सहकारीको प्रतिवेदन सुनेँ, चार सय १४ जनाबाट सुरु भएको सदस्य सङ्ख्या एक हजार सात पुगेछ, यो नै समृद्धिको बाटो ठान्नुस्, यसरी नै एक दिन बेथानचोक पनि मिनी लग्जम्बर्ग बन्ने छ ।’ करेसाबारी, व्यावसायकि खेती प्रणाली, कृषि तथा पशुपालन नै बेथानचोकको ‘समृद्धि’ हुने मन्त्री फोइडको भनाइ थियो । ‘तपाईँ हामी मिलेर बेथानचोकलाई मिनी लग्जम्बर्ग बनाउनुपर्छ, हुन्छ नि ?’ उहाँको प्रश्नमा सबैको एउटै उत्तर आउँछ ‘हुन्छ नि १’ 

गाउँपालिकाको प्राङ्गणमा केहीबेर स्थानीयसँगको साक्षात्कारपछि मन्त्री फोइडसहितको एक समूहले कामीडाँडास्थित ग्रामीण विकास संस्थासँगको सहकार्यमा एइआइएन लक्जम्बर्गको रु एक करोड १५ लाखको सहयोगमा निर्माण भएको कपेर महाँकाल आधारभूत विद्यालयको भवन निरीक्षण गरेको थियो । विद्यालय जाने क्रममा मन्त्री फोइडले किसानको भकारो सुधार, करेसाबारी, व्यावसायिक खेती, कृषि तथा पशुपालनको निरीक्षणसमेत गरे। 

मन्त्रीसहित लग्जम्बर्गकोको टोली कामीडाँडा पुग्दा स्थानीयले झाँकीसहित विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधिलगायतले स्वागत गरेका थिए । उक्त अवसरमा नवनिर्मित भवनको अवलोकन गर्दै उनले गुणस्तरीय संरचना बन्न सके बालबालिकाको सिकाइ उपलब्धिमा सुधार आउने र समाज दीर्घकालीन विकासको बाटोमा लम्किने बताए। फोइडले त्यहाँ पनि भने, ‘बेथानचोक मिनी लग्जम्बर्ग बन्न सक्छ ।’

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बेथानचोकको जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारी व्यवस्थापनका माध्यमबाट कृषि तथा फलफूल उत्पादन तथा बजारीकरण, भकारो सुधारलगायतका गतिविधिमा लग्जम्बर्गले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले पर्यटन, सडक सञ्जालीकरण, शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा बेथानचोक गाउँपालिका क्रियाशील रहेको भन्दै अध्यक्ष अधिकारीले दातृ निकायसँग पनि थप सहकार्य हुँदै जाने अपेक्षा रहेको बताए।