close

खानेपानीले फेरियो आठबिसकोटका दुर्गम गाउँको दैनिकी

खानेपानीले फेरियो आठबिसकोटका दुर्गम गाउँको दैनिकी

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– रातदिन खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्तामा रहने खदीवासीको चिन्ता अब सकिएको छ । आठबिसकोट नगरपालिका–३ मा रहेको खदी गाउँ जिल्लाकै विकट क्षेत्रमध्ये एक हो । 

पर्याप्त खानेपानी नहुँदा यहाँका स्थानीयले कुलो, कुवाँको पानी मुश्किलले पिउन पाउँथे । बिहानै उठेर खानेपानीको लागि लाईनमा बस्नुपर्ने हुन्थ्यो । पानी 'को पहिला भर्ने' भनेर दिनहुँजसो लामबद्ध बसेका स्थानीयको झगडा पर्ने गर्थ्यो । गाउँभन्दा करिब एक घण्टामाथि रहेको कुँवाको पानीको मुहान हिउँदमा सुक्दै जान्थ्यो भने बर्खामा धमिलिन्थ्यो ।  

लामो समयदेखि खानेपानीका समस्यामा गुज्रिरहेका यहाँका स्थानीयको दैनिकी अब सहज भएको छ । स्थानीय सरकारले गाउँमा ‘एक घर एक धारा’ कार्यक्रममार्फत घरघरमा पानी वितरण थालेसँगै साे समस्या हटेकाे हाे । डोकोमा गाग्री बोकेर पानीको खोजी गर्ने समय अन्य सिर्जनशील काममा लगाउन थालेका छन् ।

खदीका धज्जे दमाई आफ्नै घर आँगनमै खानेपानीको धारा आउँला भन्ने सपनामा पनि नसोचेको बताउँछन् ।  उनी भन्छन्, ‘अब बिहान सबेरै काँधमा गाग्री बोकेर खानेपानी खोज्दै हिँड्न परेन । हरेक दिन सुत्नेबेला खानेपानीकै चिन्ता हुन्थ्यो । अहिले त्यो समस्या हट्यो ।’ 

सदरमुकाम मुसिकोटबाट ४५ किलोमिटरको दूरीमा रहेको यो गाउँका स्थानीय दुषित पानी पिउँदा झाडापखाला, आउँ , ज्वरो, हैजा जस्ता सरुवा रोगहरुको शिकार बनेका थिए । 

हाल खदीको तलीगाउँ, माथिगाउँ, पाटागाउँ लगायतका गाउँमा 'एक घर एक धारा' सञ्चालनमा आएका छन् । गाउँगाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानीकै निम्ति भौंतारिनुपर्ने बाध्यताबाट मुक्ति पाइएको वडा अध्यक्ष केशरमान विक बताउँछन् । विक भन्छ्न, ‘म निर्वाचित भएर आउँदा वडा लथालिङ्ग थियो । गाउँमा बिजुली थिएन, कुवा र कुलोको दूषित पानी पिएरै धेरैजसो बिरामी हुन्थे ।’

दुर्गमबाट सुगम बन्दै वडा

दुर्गमलाई सुगम वडा बनाउन प्रत्येक घरमा फुस हटाएर जस्ताको छानो, व्यवस्थित शाैचालय र नियमित सरसफाइ अभियान चलाएको वडाध्यक्ष केशरमान विकले बताए । 

साविकको स्यालाखदी गाविसअन्तर्गत पर्ने आठबिसकोट नगरपालिकाको १, २ र ३ नम्वर वडा अहिले दुर्गमका सुगम  बन्दै छन् । नगरपालिकाले १४ वटै वडाहरुमा खानेपानी, सडक, विधुत, स्वास्थ्य र शिक्षाको पहुँच बढाए पछि यहाँको जीवनस्तर बदलिँदै गएको हो । घण्टौँ समय लगाएर पानी बोक्नुपर्ने, बिरामी हुँदा एक दिन लगाएर बोकेर अस्पताल लिनुपर्ने र टुकिको भरमा रात कटाउनुपर्ने बाध्यता स्थानीय सरकार आएसँगै अन्त्य भएको छ । 

हट्दै खानेपानीकाे समस्या

त्यस्तै आठबिसकोट नगरपालिकाको ४, ५ र ६ वडामा पनि खानेपानीकाे अभाव हटेको छ । वडा नम्वर ६ मन्काका बासिन्दाले यस अघि ठुलीभेरी नदीको पानी पिउँदै आएका थिए । अहिले गर्थला खानेपानी आयोजना निर्माण हुँदै छ । यो आयोजनाबाट वडाका मनका गाउँ र मनका बगरका स्थानीय लाभान्वित हुने वडा कार्यालयले जनाएको छ । 

गाउँभन्दा ४ किलोमिटर टाढा रहेको गर्थला मुहानबाट गाउँमा पानी ल्याइँदैछ । यो आयोजना संघीय खानेपानी आयोजना सुर्खेतले कार्यान्वयन गरिरहेको छ । डोल्पासँग सिमाना जोडिएको मन्का र त्रीवेणी गाउँमा भेरी नदीको पानी पिउँने बाध्यता टरेको स्थानीय राधा बोहोराले बताईन्। 

उनी भन्छिन्, ‘भेरीबाट गाग्रीमा पानी बोकेर ल्याउथ्यौँ ।’ खानेपानीको धारा सञ्चालनमा आएपछि सहज हुँदै गएको बोहोराले बताईन्। आठबिसकोट वडा नम्वर ३ मा पाँच सय एकासी, ४ नम्बर वडाका पाँच सय ६६ घरपरिवार, ५ नम्बरका ६ सय र ६ नम्बर वडाका पाँच सय ४६ घरपरिवार गरेर २५ सय १२ घरघरपरिवार खानेपानीबाट लाभान्वित भएका छन् । वडा नम्बर ४ मा घट्टेखोलाबाट पानी बोकेर खानुपर्ने बाध्यता हटेका वडाअध्यक्ष नरसिङ बिष्टले बताए ।

गाउँमा खानेपानीको धारा आएपछि आरुखोला, बिष्टगाउँ र चौतारामा घरमै स्वच्छ पिउने पानीको उपभोग गर्दै आएको बिष्टले बताए । पछिल्लो केही वर्षमा बस्तीबस्तीमा खानोपानी पुगेसँगै यहाँका स्थानीयवासीको घरको करेसाबारी हरियाली देखिन थालेको छ । 

आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुका साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको वडा नम्वर ४ का स्थानीय ललित बिष्टले बताए ।

‘पहिले पहिले खानेपानी अभाव हुँदा मानिसलाई पिउने पानी पाउन नै सकस थियो । पशुचौपायालाई त कुरै थिएन ।  तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ’, उनले भने ।

वडा नम्बर ५ मा मोह खोला खानेपानी आयोजना र साटाखोला खानेपानी आयोजनाको काम भैरहेको र ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालनमा आउने अन्तिम तयारी रहेको वडाअध्यक्ष घनश्याम भण्डारीले बताए । उनका अनुसार गाउँदेखि १० किलोमिटर टाढा रहेको झिम्रीखोलाबाट सिचाईका लागि गाउँमा पानी ल्याईएको हो । 

यी गाउँजस्तै पालिकाका १४ वटै वडाहरुमा ‘एक घर एक धारा’ कार्यक्रम लागू गरिएको र यस आर्थिक वर्षभित्रै सबै वडाहरुमा खानेपानी पुग्ने नगरप्रमुख रवि केसीले बताए ।

उनले पालिकाखबरसँग भने, ‘एकदमै विकट गाउँ उभोखोला, पहाडा र खदीगाउँको सबै बस्तीमा सडक, शिक्षा, स्वास्थ्य, शौचालय, खानेपानी र बिजुलीको पहुँच विस्तार भएको छ।’ संघीयतापछि देशमा तीन तहको सरकार बनेसँगै विकट गाउँमा विकासले गति पाएको उनको भनाइ छ । 

केसीका अनुसार आठबिसकोट नगरपालिकाको केन्द्र राडीबजार, बगर लगायतका ठाउँमा 'एक घर एक धारा' पुर्ण रुपमा सञ्चालनमा ल्याईएको छ भने अन्य वडाहरुमा पनि निर्माण कार्य भैरहेको बताए ।