close

सिरिजंघाले पढाउँदै शिक्षकदेखि इन्जिनियर

सिरिजंघाले पढाउँदै शिक्षकदेखि इन्जिनियर

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सिरिजंघा गाउँपालिकाले हरेक वर्ष छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाउँदै आएको छ । गाउँपालिकामा आवश्यक जनशक्ति परिपूर्तिका लागि छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाउँदै आएको हो । 

गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ बाट एक जनालाई एमबीबीएस पढाउँदै आएको छ । गाउँपालिकाले एसइईमा टप गरेका विद्यार्थीलाई छनौट गरी एमबीबीएस अध्यापन गराउँदै आएको हो । गाउँपालिकाले कार्यविधि बनाएर एमबीबीएस अध्यापन गराउँदै आएको जनाइएको छ । एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको वार्षिक ट्युसन र होस्टेल फि गाउँपालिकाले नै व्यहोर्दै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक संजिव सिंहका अनुसार दुर्गम क्षेत्रमा चिकित्सक बस्न नमान्ने भएकाले पालिका आफैँ डाक्टर पढाउन थालेको हो । उनका अनुसार गाउँपालिकाले नेपाल सरकारको आठौँ तहको कर्मचारीको पारिश्रमिक तलबमा ५० हजार रुपैयाँ थप गरे पनि डाक्टर बस्न नमान्ने उनले सुनाए । 

उनले भने, ‘दुर्गम क्षेत्रमा कम संख्यामा डाक्टर आउनुहुन्छ । तर मुस्किलैले मात्रै बस्नु हुन्छ ।’ स्थानीय बासिन्दालाई स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्नको लागि गाउँपालिकाले एमबीबीएस अध्यापन गराउँदै आएको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकामा आफ्नै डाक्टर उत्पादन गर्नको लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ । ‘पालिकाभित्र एक जना डाक्टर हुनुहुन्छ । संघले पठाएको डाक्टर बस्नै मान्नुहुन्न,’ उनले भने, ‘यहीको स्थानीय भएमा आफ्नोपन पनि हुने भएकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।’

गाउँपालिकाले पढाएको विद्यार्थीले आफ्नो अध्ययन पूरा गरिसकेपछि पालिकाभित्र बसेर  कम्तीमा एक वर्ष सेवा दिनु पर्ने उनको भनाइ छ । ‘अध्ययन पुरा भएपछि एक वर्षसम्म गाउँपालिकामा बसेर सेवा दिनुपर्छ । सेवा गरेवापत उहाँलाई जीवनयापनको लागि पारिश्रमिक दिने छौँ,’ उनले भने, ‘उहाँलाई मन लागेमा गाउँपालिकासँग सम्झौता गरी काम गर्न सक्नु हुनेछ ।’

उनका अनुसार एमबीबीएस अध्यापनको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । रकम अपुग भएमा आगामी गाउँसभाबाट व्यवस्थापन गर्ने उनले सुनाए । गाउँपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गरेपछि एमबीबीएस पढ्ने विद्यार्थी एक जना मात्रै भएको उनले बताए । 

पालिकाभित्रका टपरलाई एमबीबीएस पढाउने  योजना बनाए पनि केही वर्षयता कलेजले विद्यार्थीलाई छनौट नगरेको उनले सुनाए । ‘केही वर्षयता एमबीबीएसको लागि विद्यार्थी छनौट हुन सकेको छैन,’ उनले भने । 

गाउँपालिकाले एमबीबीएसका साथै विद्यार्थीको रुचीअनुसार प्राविधिक शिक्षा पढाउँदै आएको उनले बताए । विद्यार्थीको रुची अनुसार गाउँपालिकाले कृषि प्राविधिक, भेटेनरी, सिभिल इन्जिनियरिङ पढाउँदै आएको उनले सुनाए । गाउँपालिकाले सुरुवातमा ८ जनालाई कृषि तथा भेटेनरी पढाउँदै आए पनि हाल ४ जनालाई मात्रै छात्रवृत्ति वितरण गरेको उनले सुनाए । 

साथै फार्मेसी तथा ल्याबका लागिसमेत गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गर्दै आएको उनको भनाइ छ । उनका अनुसार पालिकाभित्र विज्ञान र गणितको विषयगत शिक्षकको अभाव भएकाले सोका लागि जनशक्ति उत्पादन गर्ने योजना बनाएको छ । 

गाउँपालिकाको आर्थिक सहयोगमा अध्ययन गर्ने विद्यार्थीको नियमित अनुगमन गर्दै आएको उनले सुनाए । पालिकाले पढाउँदै आएको विद्यार्थीले हालसम्म राम्रोसँग पढेको उनको दावी छ । तर बीचमा पढाइ छोड्ने तथा नियमित रुपमा उत्तीर्ण नगर्ने विद्यार्थीको कारबाहीको लागि पालिकासँग हालसम्म कारबाही गर्ने व्यवस्था नभएकाले उनको भनाइ छ ।