close

रासायनिक मल र कीटनाशक औषधि नचिन्ने गाउँपालिका

रासायनिक मल र कीटनाशक औषधि नचिन्ने गाउँपालिका

Trulli
ADVERTISEMENT

सोलुखुम्बु– नेपालको कृषि बाली रासायनिक मलको प्रयोगमा टिकेको छ । सामान्यतयाः हाम्रो खेतबारीमा फल्ने हरेक प्रकारका तरकारी तथा अन्नबालीमा नाइट्रोजन, फस्फोरस र पोटासयुक्त मलको प्रयोग गरिरहेका हुन्छौँ । साथै डिएपी र युरियाजस्ता रासायनिक मलमा निर्भर छ । 

तर, रासायनिक मलको प्रयोगले केही समयको लागि उत्पादन बढाए पनि दिगो रुपमा नकारात्मक असर पु¥याउने विभिन्न अध्ययनले पुष्टि गरिसकेका छन् । रासायनिक मलले माटोमा अम्लियपन बढाउँनुका साथै माटोको उर्वराशक्तिमा ह्रास ल्याइरहेको हुन्छ ।

माटोको उर्वराशक्ति संरक्षण गर्ने विकल्प भनेको प्राङ्गारिक मलको प्रयोग हो । हाम्रो गाउँघरमा पालिने पशुको मलमुत्र र कुहिने फोहोरबाट तयार हुने प्राङ्गारिक मलले माटोमा पोषक तत्व बढाउनुका साथै स्वस्थकर कृषि उपज उत्पादन हुन्छ । यतिमात्र नभई दीर्घकालीन रुपमा माटोको शक्ति जोगाउँछ ।

रासायनिक मलको प्रयोगको अन्त्य गरी अर्गानिक कृषिउपज उत्पादन गर्ने उद्देश्यले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले रासायनिक मल र किटनाशक विषादीको प्रयोगलाई निषेध गरेको छ । गाउँपालिकामा रासायनिक मल तथा किटनाशक औषधिको न प्रयोग हुन्छ न भित्र्याउनै पाइन्छ ।

गाउँपालिकाका कृषि बालीमा गाउँघरमा नै बनाइएका जैविक मलको प्रयोग हुने गाउँपालिकाकी कृषि प्राविधिक विपना केसी बताउँछिन् । उनका अनुसार गाउँपालिकाको अघिल्लो सरकारले नै पालिकाभित्र किटनाशक औषधि र रासायनिक मलको प्रयोगलाई निषेध गरेको हो । 

जी फाउण्डेसन नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा पहाडी विकास तथा संरक्षण समाजले गाउँपालिकामा अर्गानिक कृषि उपज उत्पादनको लागि सहयोग गर्दै आएको उनले बताइन् । फाउण्डेसनको सहयोगमा गाउँपालिकालाई विषादीमुक्त क्षेत्र घोषणासमेत गरिसकिएको उनले पालिकाखबरलाई जानकारी दिइन् । फाउण्डेसन र गाउँपालिका मिलेर स्थानीयलाई जैविक विषादीको प्रयोगको बारेमा तालिम दिँदै आएको छ । 

महाकुलुङ गाउँपालिकामा आलु, प्याज, खोर्सानी, काउली, बन्दा लगायतका सबै मौसमी तरकारी उत्पादन हुने कृषि प्राविधिक केसी बताउँछिन् । गाउँपालिकाभित्र रासायनिकको सट्टा प्राङ्गारिक मल र किटनाशक विषादीको सट्टामा जैविक विषादीको प्रयोगपछि कृषि उपज स्वास्थकर भएको उनको भनाइ छ । 

साथै गाउँपालिकामा दर्ता गरेर व्यावसायिक कृषि र पशुपालन गर्ने कृषकहरु १०० भन्दा धेरै रहेको उनी बताउँछिन् । गाउँपालिका विषादीमुक्त घोषणा भए पनि बाहिरबाट आयात हुने तरकारीलाई नियन्त्रण गर्न नसकिएको उनले बताइन् । पालिकामा विषादीरहित तरकारी शतप्रतिशत नभए पनि  विषादीरहित जग्गा भने १०० प्रतिशतनै रहेको उनको दाबी छ । 

कृषि प्राविधिक केसी भन्छिन्, ‘गाडीमा हरेक हप्ता तरकारी बेच्न ल्याउँछन् । पालिकाभित्रको उत्पादनले नपुग्ने भएकाले पनि बाहिरबाट तरकारी बेच्न ल्याउनेलाई नियन्त्रणमा गर्न सकिएको छैन ।’

कृषि बालीमा लाग्ने महामारीको क्षतिपूर्तिको लागि कृषि बिमासम्बन्धी तालिम पनि प्रदान गरेको उनले जानकारी दिइन् । ‘गत वर्ष दुईपटक कृषकहरुलाई बीमासम्बन्धी तालिम दिएको थिए । तर कसैले पनि बीमा गर्नुभएको छैन,’  

महाकुलुङ गाउँपालिकालाई सोलुखुम्बुको कर्णाली भनेर पनि चिनिन्छ । जिल्ला सदरमुकाम सल्लेरी पुग्न नै गाउँपालिकाबाट ६ देखि ७ घण्टा लाग्ने उनले बताइन् । गाउँपालिकाकामा उत्पादन भएका कृषि उपज पनि सदरमुकामसम्म पुग्ने गरेको उनले बताइन् ।  पालिकाबासीले उत्पादन गरेको कृषि उपजलाई जी फाउण्डेसनले खरिद गर्ने भने पनि सदरमुकाम सल्लेरी जोड्ने पुल खोलाले बगाएकाले बेच्न नसकेको उनले बताइन् ।