close

बाग्मती गाउँपालिकाले बनायो अस्पताल 

बाग्मती गाउँपालिकाले बनायो अस्पताल 

Trulli
ADVERTISEMENT

दक्षिण ललितपुरको बाग्मती गाउँपालिका–४ प्युटारस्थित थाङसिनटारमा गाउँपालिकास्तरीय अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ ।

बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःसर्त अनुदानमा ‘एक पालिका एक अस्पताल’ को अवधारणाअनुरूप उक्त अस्पताल निर्माण अघि बढेको हो । 

गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु-याउने उद्देश्यले गत वर्ष ०७६ भदौ २० मा १५ शैयाको अस्पताल बनाउने योजनानुसार गत जेठ २० मा सम्पन्न हुनुपर्ने गरी काम अघि बढाएको ललितपुर क्षेत्र नं १ ख का प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले बताए । उनले भने, ‘प्रदेशले कुल ३ करोड ६० लाख बजेट विनियोजन गरेको थियो ।

यसमा २ करोड ३ लाख २२ हजार ९ सय २२ रुपैयाँमा सम्झौता भएर काम अघि बढेको थियो ।’ ज्ञानज्योति बिल्डर्स प्रालि नामक ठेकेदार कम्पनीले सो अस्पताल निर्माण गरिरहेको सञ्जेलले जानकारी दिए ।

प्रदेश सरकारले बाग्मतीमा १५ शैयाको अस्पताल बनाउने उद्देश्यका साथ बजेट विनियोजन गरे पनि पाँच शैयाको मात्र भवन निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनले भने, ‘भौगोलिक विकटता र कम जनसंख्याको आधारमा हामीले यति शैयाको अस्पताल तयार गरेका छौं। बाँकी १० शैयाका लागि बिस्तारै काम अघि बढाइनेछ ।’

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड महामारीका कारण समयमै गर्नुपर्ने अस्पताल निर्माणमा ढिलाइ भएकाले आउँदो असोज १० गतेभित्रमा ठेकेदार कम्पनीले सम्पन्न गरी बुझाउने प्रतिबद्धता जनाएको लोप्चनले बताए ।

करिब १२ रोपनी क्षेत्रफलमा दुई तलाको अस्पताल बन्नेछ । गाउँमा अस्पताल बन्ने भएपछि समाजसेवी प्रेम गोले र चतुरमान गोलेले ३ रोपनी ९ आना जग्गा दान गरेका छन् । बाँकी करिब ९ रोपनी सार्वजनिक जग्गा रहेको लोप्चन बताउँछन् ।