close

कोरोना संक्रमितलाई योगाभ्यास

कोरोना संक्रमितलाई योगाभ्यास

Trulli
ADVERTISEMENT

आयुर्वेद शाखा जुम्लाले यहाँका कोरोना संक्रमितलाई योगाभ्यास गराउन थालेको छ । जिल्लाका विभिन्न स्थानका आइसोलेसनमा रहेका संक्रमितको प्रतिरक्षा प्रणालीमा सहयोग पु-याउने उद्देश्यले योगाभ्यास सुरु गरिएको हो ।

 

जुम्लाको चन्दननाथ नगरपालिकास्थित निर्माण व्यवसायी संघको कक्षमा रहेको आइसोलेसनका कोरोना संक्रमितलाई अहिले हरेक बिहान योगाभ्यास गराउन थालिएको आयुर्वेद शाखा जुम्लाका प्रमुख तथा आयुर्वेेद चिकित्सक डा. प्रतिभा शर्माले जानकारी दिइन् । 

 

यसअघि जुम्ला हिमा गाउँपालिकाको कालिकाखेतुको आइसोलेसनका ४० संक्रमितहरूलाई योगाभ्यास गराएका थियौं’, डा. शर्माले भनिन्, ‘अहिले यहाँका २७ संक्रमितलाई अभ्यास गराइरहेका छौं । सबैले आनन्द लिएर अभ्यास गरिरहेका छन् ।’ 

 

योगाभ्यासले मानव जीवनलाई अनुशासित बनाउन, शुद्ध पार्न र मन शान्ति दिन सघाउने भएकाले हरेक व्यक्तिले गर्नुपर्नेमा उनको जोड छ । उनले भनिन्, ‘रोग प्रतिरक्षा प्रणाली कम भएपछि कोरोनाले असर पार्न सक्ने अवस्थालाई ध्यान दिएर तीनदेखि सात दिनसम्मको योगाभ्यास सुरु गर्दा संक्रमित रुचि राखेर सहभागी भइरहेका छन् । हामीले सबै कोरोना संक्रमितलाई अश्वगन्धा, स्टीमधु, अमलाजस्ता आयुर्वेदिक औषधी पनि वितरण गर्दै आएका छौं ।’ 

 

डा. शर्माका अनुसार यसअघि जुम्लाका विभिन्न क्वारेन्टाइनका ८ सय व्यक्तिलाई योगाभ्यास गराइसकिएको छ । आयुर्वेद शाखा जुम्लाका अध्यक्ष मनोज बुढाथोकी मगरले व्यक्तिले सही तरिकाले योगाभ्यास गरे उसको परिवार पनि लाभान्वित हुने बताउँछन् ।