close

कोरोनाको दोस्रो लहरः नियन्त्रणका लागि के गर्दै छन् काठमाडौंका स्थानीय सरकार ?

कोरोनाको दोस्रो लहरः नियन्त्रणका लागि के गर्दै छन् काठमाडौंका स्थानीय सरकार ?

Trulli
ADVERTISEMENT

काठमाडौं- केही समयअघि नियन्त्रणमा आएजस्तो देखिएको कोरोना महामारी संक्रमणको दर यतिबेला उकालो लागेको छ । बेलायतमा देखिएको कोभिड–१९ को नयाँ प्रजाति भारत हुँदै नेपालमा पनि देखा परेसँगै चिन्ता बढेको छ ।

 

आइतबार मात्र देशभर ३ सय ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल प्रवेश गरेको नयाँ प्रजातिको कोरोना भाइरसले बालबालिका जोखिममा रहेका छन् । गत वर्ष कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं जिल्लाका स्थानीय सरकारहरूले आइसोलेसन निर्माण, स्वास्थ्य सामग्रीलगायत क्षेत्रमा काम गरेका थिए । 

 

गत वर्ष स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाएका आइसोलेसन तथा क्वारेन्टाइन करिब ४ महिनादेखि खाली थिए । कोरोनाको दोस्रो लहर सुरु भएसँगै काठमाडांैका स्थानीय तहले क्वारेन्टाइन, आइसोलेसनलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् । 


काठमाडाैं महानगर 

 

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै काठमाडाैं महानगरपालिकाले जनचेतना फैलाउन थालेको छ । व्यापार व्यवसाय, शैक्षिक संस्था, फुटपाथलगायत स्थानमा स्वास्थ्य मापदण्ड पूरा गर्न निर्देशनसमेत दिएको छ

 

सरकारले बन्द गर्ने निर्देशन नदिएकाले शैक्षिक संस्थामा स्वास्थ्य मापदण्ड पूरा गरी पठनपाठन गराउन निर्देशन दिएको काठमाडौं महानगरपालिका जनस्वास्थ विभागका प्रमुख हरि कुँवरले बताए ।

 

कन्ट्याक ट्रेसिङमा परेकाको नियमित पिसिआर परीक्षण गरिरहेको कुँवरको भनाइ छ । आइसोलेसन भने महानगरपालिकाले गत वर्ष पनि निर्माण नगरेको र यो वर्ष पनि सम्भब नहुने उनले सुनाए छ । महानगर संघीय सरकारको भरमा छ । 



कागेश्वरी मनोहरा नगरपालिका 


कागेश्वरी मनोहरा नगरपालिकाले गत वर्ष कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाएको आइसोलेसनलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ । आलापोट स्वास्थ्य चौकी र नगर अस्पताल मूलपानीमा रहेको आइसोलेसन तयारी अवस्थामा राखिएको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए । 

 

६० शय्याको आइसोलेसन तयारी अवस्थामा छ । साथै, २५ शय्याको क्वारेन्टाइन तयारी अवस्थामा रहेको छ । आवश्यक परे थप गर्ने सकिने नगरप्रमुख थापाले बताए । 

 

टोखा नगरपालिका


गत वर्ष संक्रमितलाई होम आइसोलेसनमा बस्न प्रेरित गर्न पोषण भत्ता व्यवस्था गरेको थियो । होम आइसोलेसन बस्न समस्या हुनेका लागि आइसोलेसनमा पहिलो प्राथमिकता दिइयो । होम आइसोलेसन बस्नेका लागि टोखा नगरपालिकाले प्रतिव्यक्ति ३ सय ५० रुपैयाँका दरले पोषण भत्ता दिएको थियो ।

 

पुनः संक्रमितको संख्या बढ्दै गए नगरपालिकाले थप योजना ल्याउने नगरप्रमुख प्रकाश अधिकारीले बताए । 

 

टोखा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १७ शय्याको आइसोलेसन तयार पारेको थियो । संक्रमितको संख्या बढ्दै गएको अवस्थामा तिनलाई सञ्चालनमा ल्याउने तयारीमा छ ।

 

नगरपालिकाले विद्यालयको अनुगमनलाई निरन्तरता दिइरहेको छ । विद्यालयमा नियमित अनुगमन गरिरहेको नगरपालिकाले बताएको छ । 

 

चन्द्रागिरि नगरपालिका 


चन्द्रागिरि नगरपालिकाले सशस्त्र प्रहरी अस्पताल र नगर अस्पतालमा संक्रमितको उपचार गर्दै आएको थियो । सो अस्पतालमा रहेका आइसोलेसन क्वारेन्टाइनलाई निरन्तरता दिने भएको छ । 

 

संक्रमणको दर बढ्दै गए थप व्यवस्था गरिने नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । 

 

कीर्तिपुर नगरपालिका 


कीर्तिपुर नगरपालिकाले पहिलो चरणमा जनचेतना फैलाउने काम गरिरहेको छ । स्वास्थ्यसम्बन्धी चेतना दिँदै आएको नगरपालिकाले बताएको छ । 

 

गत वर्ष नगरपालिकाले जनस्वास्थ्य कार्यालयमा रहेको २ सय शय्याको क्वारेन्टाइनलाई आइसोलेसन बनाएको थियो । संक्रमण दर बढ्दै गए पिसिआर ल्याब सञ्चालन गरिने नगरप्रमुख रमेश महर्जनले बताए । 

 

दक्षिणकाली नगरपालिका 


हाल नगरपालिकाले स्वास्थ्यसम्बन्धी चेतना दिने काम गरिरहेको छ । सुरक्षा, हेल्थ डेस्क राख्ने काम गरिरहेको नगरपलिकाले जनाएको छ ।

 

नगरपालिकाले ३ शय्याको आइसोलेसन निर्माण गरेको थियो । आवश्यक परे थप गरिने नगरपालिकाले जनाएको छ । 

 

गोकर्णेश्वर नगरपालिका


गोकर्णेश्वर नगरपालिकाले जनचेतना फैलाउने र गत वर्ष सञ्चालन गरिएको आइसोलेसन सरसफाइलगायत काम गरिरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष गोकर्णेश्वर नगरपालिकाले ७१ शय्याको आइसोलेसन तयार पारेको थियो । 

 

तार्केश्वर, बूढानीलकण्ठ, शंखरापुर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनतेतना फैलाउने, सरसफाइलगायतका काम गरिहेका छन् । गत वर्ष सञ्चालमा ल्यइएको आइसोलेसन यथावत् राखिएकाले आवश्यक परे सञ्चालनमा ल्याउने तयारीमा छन् ।