close

कोरोना कहरमा बेखबर छन् अछामका ११ सांसद

अछाम अहिलेसम्म आइसियु र भेन्टिलेटरविहीन 

कोरोना कहरमा बेखबर छन् अछामका ११ सांसद

अछाम अहिलेसम्म आइसियु र भेन्टिलेटरविहीन 

Trulli
ADVERTISEMENT

अछाम- कोरोना महामारीको सन्त्रासले अछामलाई पनि गाँजिसकेको छ । अछाममा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि भइसकेको छ । अछामको बान्नगढी गाँउपालिकाको एउटा विद्यालयमा १५ जना संक्रमित भएका छन् । मेल्लेखमा एकै दिन २५ जना संक्रमित थपिएका छन् । 

 

पहिलो लहरमा गत वर्ष ६ जनाले ज्यान गुमाएका थिए भने दोस्रो लहरमा २ साताको अवधिमा अछाममा ४ जनाले ज्यान गुमाइसकेका छन् । २ सय ६५ नयाँ संक्रमित थपिएका छन् ।  अछामा केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने ११ जना सांसद छन् । तर, उनीहरू महामारीका बेला के गर्दै छन्, अहिलेसम्म सुइँको पाउन सकिएको छैन । 

 

अछाममा आइसियु र भेन्टिलेटर भए केहीको ज्यान जोगाउन सकिने चिकित्सक बताउँछन् । तर, जनशक्ति अभावमा उपकरण सञ्चालनमा आउन नसक्दा संक्रमितले ज्यान गुमाउनु परिरहेको छ भने कतिपयलाई रेफर गर्नुपर्ने बाध्यता छ । भेन्टिलेटर र आइसियु अभावमा अछाममा बिरामीले मृत्यु कुर्नुपर्ने अवस्था छ । 


जिल्ला अस्पताल अछामलाई सरकारले कोभिड विशेष अस्पताल बनाए पनि त्यहाँ १ जना पनि स्थायी दरबन्दीका चिकित्सक छैनन् । अस्पताल करारका चिकित्सकको भरमा चल्दै आएको छ । 

 

अछाममा २ वटा अस्पतालले सकेजतिको सेवा दिइरहेका छन् । जिल्ला अस्पतालसँगै बयालपाटा अस्पतालले कोभिड अस्पताल नहुँदा पनि सेवा दिइरहेको छ । न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको अस्पतालले सबै सेवा निःशुल्क दिइरहेको छ भने हाल कोरोनाका बिरामीलाई समेत उपचार गरिरहेको छ । 

 

‘आइसियु र भेन्टिलेटर भए रेफर गर्नुपर्ने बिरामीको उपचार यही गर्न सकिन्थ्यो होला’, बयालपाटा अस्पतालका मेडिकल तथा शल्य चिकित्सा निर्देशक डा. मन्दीप पाठकले भने, ‘तर उपकरण र जनशक्ति नहुँदा रेफर गर्नुको विकल्प छैन ।’

 

गैरसरकारी संस्थाको व्यवस्थापन र प्रदेश सरकारको स्वामित्वमा रहेको अस्पतालमा नियमित बजेट नहुँदा आर्थिक अभाव कायमै छ ।  पूर्व-उपप्रधानमन्त्री भएको जिल्लामै आइसियु र भेन्टिलेटर छैन । अछाम राष्ट्रिय राजनीतिमा दक्खल राख्ने नेता भएको जिल्ला हो । 


यस क्षेत्रबाट एमालेको प्रतिनिधित्व गर्दै डा. भीम रावल केन्द्रीय उपाध्यक्ष निर्वाचित भएका थिए ।  डा. रावल अछामको प्रतिनिधत्व गर्दै मन्त्री, गृहमन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म बने । तर, रावलले जिल्लाको विकास, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा खासै काम नगरेको जिल्लाबासीको गुनासो छ । जिल्लाबाट उच्च ओहोदामा डा. रावल स्थापित भए पनि जिल्लाबासीले विकास र परिवर्तनको अनुभव गर्न पाएका छैनन् । 

 

कोरोना संक्रमणका बेला उच्च ओहोदामा पुगेका नेताहरूले जिल्लाका लागि विशेष प्राथमिकता दिएर कोरोना रोकथाम एवं नियन्त्रणका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्नुपर्ने स्थानीय बताउँछन् ।

 

रावलसँगै अछामबाट एमालेको प्रतिनिधित्व गर्दै यज्ञबहादुर बोगटी र कांग्रेसको प्रतिनिधत्व गर्दै रामबहादुर विष्ट प्रतिनिधिसभा सांसद छन् । एमालेको प्रतिनिधित्व गर्दै शेरबहादुर कुँवर र तत्कालीन नेकपाको प्रतिनिधित्व गर्दै तारामान स्वाँर राष्ट्रिय सभा सदस्य छन् । तर, उनीहरू कोरोना कहरमा बेखबरजस्तै छन् । 

 

संघीय र प्रदेश गरी अछाम जिल्लाबाट ११ जना सासंदले प्रतिनिधित्व गर्छन् । तर, कोरोना कहर जिल्लामा दैनिक बढिरहेका बेला स्वास्थ्योपचारका लागि पहल गर्नुपर्नेमा नेताहरू गुपचुप रहेको स्थानीयको गुनासो छ । 


आइसियु र भेन्टिलेरको अभावमा जिल्लामा मृत्युदर बढिरहेको छ । यही क्रम चलिरहने हो भने उपचार अभावमा अछामीले मृत्यु कुर्नुबाहेक अर्को विकल्प छैन ।