close

वालिङमा अक्सिजनसहितको आइसोलेसन बेड तयार

वालिङमा अक्सिजनसहितको आइसोलेसन बेड तयार

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गरेको छ । पहिलो चरणमा ६ वटा बेड तयार गरेको र आवश्यकताअनुसार थप गरिने नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।

 

उनले थप आइसोलेसन निर्माण गर्न ठाउँ व्यवस्थापन गरिसकिएकाले नागरिकलाई थप सचेत रहन उनको आग्रह छ । संक्रमणको दर बढ्न थालेपछि नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा अक्सिजनसहितको बेड तयार पारेको हो ।

 

‘अस्पतालमा पहिलो चरणमा हामीले ६ वटा बेड निर्माण गरी सञ्चालनमा ल्याएका छौँ’, नगरप्रमुख खाँणले भने, ‘केही दिनभित्रै २० बेड थप गरी २५ बेड क्षमताको पुर्‍याउने गरी काम भइरहेको छ ।’

 

वालिङका नागरिकको स्वास्थ्यप्रति नगरपालिका सचेत रहेको उनले दाबी गरे । ‘सबैभन्दा ठूलो नागरिकको स्वास्थ्य हो । यसप्रति नगरपालिका सजग र सचेत छ’, नगरप्रमुख खाँणले भने, ‘कोभिड संक्रमित बिरामीलाई अक्सिजनको कमी हुन दिने छैनौँ ।’

 

पहिलो चरणको कोभिड व्यवस्थापनबाट धेरै अनुभव प्राप्त भएकाले पनि दोस्रो चरणमा सक्रियताका साथ बिरामीको उपचार गरिरहेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए ।

 

अस्पतालमा निर्माण गरिएको सुविधासम्पन्न आइसोलेसनमा २४ सै घन्टा डाक्टर, चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार तथा परामर्श गर्ने प्रमुख पाण्डेको भनाइ छ । नगरपालिकाले अस्पतालमै कोरोनाको एन्टिजेनसमेत परीक्षण गर्दै आएको अस्पतालका प्रमुख डा. सरोज थापाले जाकारी दिए ।


परीक्षणको दर वृद्धिसँगै संक्रमितको दर पछिल्ला दिनमा बढ्दै गएकाले जटिल बिरामीलाई अस्पतालमै र सामान्यलाई होम आइसोलेसनमा राखिएको प्रमुख डा. थापाले बताए ।

 

वालिङ नगरभित्र मंगलबारसम्म कुल संक्रमित रहेका १७३ मध्ये ९ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । वालिङमा हाल १६३ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये १५९ जना होम आइसोलेसनमा र ४ जनाको पोखरामा उपचार भइरहेको छ ।