close

 व्यासमा सुविधासहितको सामूहिक आइसोलेसन (भिडियो खबर)

 व्यासमा सुविधासहितको सामूहिक आइसोलेसन (भिडियो खबर)

ADVERTISEMENT

तनहुँ– तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैंकको भवनमा सञ्चालन गरेको आइसोलेसनका लागि एमबिबिएस चिकित्सक नियुक्त गरेको छ । आइसोलेसनमा बस्ने कोरोना संक्रमितको उपचारका लागि नगरपालिकाले चिकित्सक नियुक्त गरेको हो ।

 

नगरपालिकाले कृषि विकास बैंकको भवनमा ५० जना बस्न मिल्ने गरी आइसोलेसन तयार गरेको छ । घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका संक्रमितलाई राख्न नगरपालिकाले सामूहिक आइसोलेशन बनाइएको हो । 

 

स्थानीय सरकार धमाधम आइसोलेसन बनाइरहेका छन् । सकोरोना भाइरसका संक्रमितलाई उपचार दिन भन्दै अक्सिजनको समेत व्यवस्था गरिएको छ । अक्सिजनको देशभर अभाव भइरहँदा स्थानीय सरकार अक्सिजनसहितको आइसोलेसन बनाइरहेका छन् ।तर, कतिपय आइसोलेसनमा बिरामी बसेका छैनन् ।

 

उपचार गर्ने चिकित्सक नहुँदा आइसोलेसनमा बस्न नमानेपछि चिकित्सक नै नियुक्त गरिएको तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । यसैबीच नगरपालिकाले कोभिड–१९ विरुद्ध नगर क्षेत्रमा सञ्चालन गरेको अभियानको प्रभावकारिता सम्बन्धमा समीक्षा गर्ने क्रम सुरु गरेको छ ।

 

नगरपालिकाले हरेक दिन बिहान साढे ८ बजे अभियानको समीक्षा गर्न सुरु गरेको हो । नगरप्रमुख न्यौपानेको संयोजकत्वमा, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य प्रमुखको उपस्थितिमा समीक्षा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले कोभिड–१९ का लागि आवश्यक औषधिजन्य एवं अन्य स्वास्थ्य उपकरण उपलब्ध गराइदिन एसओएस बालग्राम र गोरखा वेलफेयर ट्रस्टमा सहयोगका लागि अनुरोध गरेको छ । हरेक दिन हुने समीक्षाका क्रममा वडा एवं नगरस्तरमा कोभिड–१९ विरुद्ध सञ्चालन गरिएका कार्यक्रम, त्यसको प्रभावकारिता, नगरबासीबाट आएको गुनासोलाई कार्यान्वयन गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल गर्ने गरिए नगरप्रमुख न्यौपानेले जानकारी दिए ।


तनहुँ उद्योग वाणिज्य संघले कोभिड–१९ को न्यूनीकरण र व्यवस्थापनका लागि ३ लाख ५ हजार रुपैयाँको कोष स्थापना गरेको छ । संघको पदाधिकारी बैठकले विभिन्न बजार इकाइ समिति, महिला उद्यमी विकास समितिको संयुक्त प्रयासमा उक्त कोष स्थापना गरेको हो ।


पछिल्लो केही दिनयता तनहुँमा दैनिक रूपमा कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय तह र अस्पतालले ११६ शय्याको आइसोलेसन तयार पारेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाभर ११६ आइसोलेसन कक्ष तयार गरिएको छ । यस्तै, तनहुँमा १७० थान अक्सिजन सिलिन्डर मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

कोभिड संक्रमित दिनदिनै बढेको र कुनै पनि बेला अक्सिजन चाहिन सक्ने भएकाले स्थानीय तहले अक्सिजनको व्यवस्थापन गरेका छन् । तर, संख्या भने अझै पर्याप्त छैन ।